वीरगन्जको मुख्य सडक विस्तारको काम आइतबार बिहानदेखि सुरु हुने भएको छ। सडक डिभिजन कार्यालय हेटौँडाका अनुसार त्रिभुवन राजपथअन्तर्गत पर्ने गण्डक चोकदेखि मितेरी पुलसम्मको सडक २५–२५ मिटर दायाँ–बायाँ विस्तार गरिने पर्साका प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद दाहालले जानकारी दिए।
दाहालका अनुसार सडकको मध्य भागबाट २५ मिटर क्षेत्रभित्र पर्ने घर, टहरा तथा अन्य संरचना हटाउने काम भोलि बिहानदेखि थालिनेछ । त्यसका लागि हेटौँडाबाट डोजर, जेसिबी र एक्साभेटरसहित ९ वटा उपकरण वीरगन्ज ल्याउने कार्य भइरहेको उनले बताए ।
सर्वोच्च अदालतले २०८१ फागुन २८ गते उक्त सडक विस्तारसम्बन्धी मुद्दामा सरकारको पक्षमा फैसला गर्दै विपक्षीको रिट खारेज गरेपछि परियोजना अघि बढ्ने बाटो खुलेको हो ।