०८२ भदाैको जेन–जी आन्दोलनको जगमा सम्पन्न भएको नेपालको आमनिर्वाचन, आधुनिक लोकतान्त्रिक इतिहासकै सबैभन्दा अप्रत्याशित र नाटकीय राजनीतिक परिघटना हो। ०७९ को स्थानीय निर्वाचनबाट काठमाडौंको मेयरदेखि ०८२ मा सम्पन्न निर्वाचनबाट प्रधानमन्त्री पदसम्मको बालेन्द्र शाह (बालेन) को यात्रा परम्परागत दलीय र जातीय चिन्तनबाट बाहिर आएको एउटा निर्णायक क्षण हो। पहिलो दृष्टिमा यो लोकतान्त्रिक प्रक्रियाको एउटा सामान्य परिणामजस्तो देखिए पनि ऐतिहासिक दृष्टिले हेर्दा काठमाडाैंको सत्तामा यस्ता रूपान्तरणकारी क्षणहरू ऐतिहासिक रूपमा मिथिला र तिरहुतका शक्तिहरूको उदयसँग जोडिएका छन् । लिच्छवि राजादेखि १४औँ शताब्दीमा जयस्थिति मल्ल र बालेनको उदयसम्मको इतिहासले एउटा दोहोरिने घटनाक्रमलाई उजागर गर्दछ। बालेनको विजयलाई ऐतिहासिक, तर चक्रीय घटनाक्रमको समकालीन अभिव्यक्तिको रूपमा बुझ्न सकिन्छ जसलाई यो लेखको मूल विषयको रूपमा पस्किन प्रयास गरिएको छ।
इतिहासलेखनको सैद्धान्तिक दृष्टिकोणहरू
वर्तमानलाई बुझ्न, हामीले यसलाई ऐतिहासिक परिवर्तनको व्यापक सैद्धान्तिक घेराभित्र राख्न आवश्यक छ। अर्नोल्ड जे. ट्वाइन्बी र असवाल्ड स्पेङ्लरको इतिहासको चक्रीय सिद्धान्तका अनुसार समाज र सभ्यताहरू सरल रेखामा अगाडि बढ्दैनन्, बरु चुनौती, प्रतिक्रिया, विकास, पतन र पुनर्संरचनाको चक्रमा घुम्छन् । इम्यानुअल वालरस्टाइनको केन्द्र–परिधि सिद्धान्तअनुसार एक प्रभावशाली ‘केन्द्र’ ले ‘परिधि’बाट स्रोत र साधनको पूर्ति गर्दछ। सँगसँगै केन्द्रको पतन वा कमजोरीको अवधिले परिधिलाई आफ्नो प्रभाव विस्तार गर्न अवसर सिर्जना गर्छ। भारतीय इतिहासकार रणजित गुहाको सीमान्तकृत इतिहासलेखनको सिद्धान्तले सीमान्तकृत समूहहरूको एकता र संस्थागत संरचनाले अभिजात वर्गले नेतृत्व गरेको केन्द्रीय सत्तालाई बदल्न सक्छ भन्ने तर्क अघि सारेको छ । यो सैद्धान्तिक जगहरूमा टेकेर, अब यस लेखको मुख्य सन्दर्भमा फर्कौँ, जहाँ दक्षिणको मिथिला तिरहुत र मधेशको हस्तक्षेपको सिलसिलाको व्याख्या ऐतिहासिक दृष्टिकोणबाट गरिएको छ ।
ऐतिहासिक पूर्वघटनाहरू – नेपालको राजनीतिमा मिथिलाबाट भएका हस्तक्षेपहरू
यस आलेखमा केन्द्र भनेर काठमाडौं वा प्राचीन उपत्यकालाई र मिथिला तिरहुत भनेर प्राचीन मिथिलालाई जनाउँछ र यसलाई राजनीतिक सीमाभन्दा पनि सांस्कृतिक परिधिको रूपमा बुझ्न सकिन्छ। मिथिलाबाट भएका दक्षिणी प्रभावको कथा कुनै आधुनिक घटना होइन; यो नेपालको लिखित इतिहासकाे प्रारम्भिक तहहरूमै गाँसिएको छ।
जयवर्मा (दोस्रो शताब्दीको उत्तरार्ध) : पहिलो राजा ?
वि.सं. २०५४ मा मालीगाउँमा राजा जयवर्माको मूर्ति र शक संवत् १०७ को अभिलेख (सन् १८५) फेला परेपछि नेपालको प्रामाणिक इतिहास झन्डै ३०० वर्ष अगाडि धकेलियो (यसअघि राजा मानदेवको स्तम्भलेख सन् ४६४ लाई सबैभन्दा पुरानो मानिन्थ्यो) । यसको प्रतिमा लक्षण र अभिलेखीय विशेषताका आधारमा प्रख्यात इतिहासकार तथा पुरातत्त्वविद् तारानन्द मिश्रले वर्मा शासकहरू गंगाको मैदानी क्षेत्रका कुषाण राजाहरूका प्रान्तीय गभर्नर वा तिनीहरूसँग आबद्ध रहेको व्याख्या गरे। प्रमाणहरू अपर्याप्त भए पनि यी शासकहरू प्राचीन वैशालीको पतनपछि काठमाडौं उपत्यकामा प्रवेश गरेको तथ्य ऐतिहासिक रूपमा निर्विवाद छ। यो पहिलो हस्तक्षेपले दक्षिणी मैदानबाट राजनीतिक शक्ति आरोहण हुने एउटा परम्पराको सुरुवात गर्याे।
मानदेव : पहिलो लिच्छवि राजा
प्रथम लिच्छवि राजा वृषदेवबाट सुरु भएको यस वंशका मानदेव चौथो राजा थिए। मगधको आक्रमण र गुप्त साम्राज्यको विस्तारले वैशालीकेन्द्रित वृज्जि गणतन्त्रलाई विलय गरेपछि लिच्छवि र अन्य समूहहरू उपत्यकामा बसाइँ सरेका थिए। गुप्त साम्राज्यलाई कर बुझाउने सामन्तको रूपमा रहेका लिच्छविहरू समुद्रगुप्तको पतनपछि राजाको रूपमा शक्तिमा आएका थिए। दक्षिणी सांस्कृतिक र राजनीतिक क्षेत्रको सबैभन्दा शक्तिशाली हस्तक्षेप लिच्छविकालमा भयो, जसले प्राचीन वैशालीको सामाजिक–राजनीतिक संरचनालाई उपत्यकामा स्थानान्तरण गर्याे।
अंशुवर्माको उदय (सन् ६०५)
सातौँ शताब्दीको प्रारम्भतिर लिच्छवि राजाहरू कमजोर भएका थिए। राजा शिवदेवले ‘आभीर गुप्त’हरूको प्रभावलाई नियन्त्रण गर्न आफ्ना महासामन्त अंशुवर्माको सहायता मागे। शिवदेवको मृत्युपश्चात् अंशुवर्मा सिंहासनमा बसे जुन फरक वंशको व्यक्ति राजा बनेको पहिलो प्रमाणित घटना हो। उनको मूल वंशबारे विद्वानहरूमा मतभिन्नता भए पनि, उनी पनि दक्षिणको मिथिलाको सांस्कृतिक क्षेत्रसँग सम्बद्ध थिए भन्ने तथ्य निर्विवाद छ। उनी प्राचीन मिथिलासँग सांस्कृतिक सम्बन्ध रहेको लिचछविकालकै अर्को वंशसँग सम्बन्धित थिए भन्ने प्रस्ट छ।
सिम्रौनगढका कर्णाट राजाहरू (११औँ–१४औँ शताब्दी) र जयस्थिति मल्लको उदय
एघारौँ शताब्दीको मध्यतिर आइपुग्दा बंगालका पाल राजाहरू कमजोर हुन थालिसकेका थिए जसको मौका छोपी दक्षिण भारतका नान्यदेवले मिथिलामा सन् १०९७ मा कर्णाटवंशको जग बसाले। उनले हालको बारा जिल्लामा पर्ने सिम्रौनगढलाई आफ्नो राजधानी बनाए। सन् १३२४–२५ मा दिल्लीका सुल्तान गयासुद्दीन तुगलकको आक्रमणमा सिम्रौनगढ ध्वस्त भयो।हरिसिंहदेव सपरिवार भक्तपुरतर्फ भागे, तर बाटोमै मरे। उनकी रानी देवलदेवी, जो भक्तपुर दरबारकी राजकुमारी थिइन्, र उनका छोरा जगतसिंह रुद्रमल्लको शरणमा भक्तपुर आइपुगे। देवलदेवीको भक्तपुर प्रवेशले दरबारमा थप ४० वर्षसम्म षड्यन्त्र र सत्ता–संघर्षले निरन्तरता पायो। सिम्राैनगढकी कुलदेवी तुलजा भवानीलाई भक्तपुरको राजकुल देवीको रूपमा यही समयमा स्थापना गरिएको थियो। उनले विभिन्न राजनीतिक चालबाजी गर्दै स्थितिदेवलाई उपत्यकामा ल्याइन्। त्रिविका पूर्वसहप्राध्यापक तथा इतिहासकार डा. वासुदेवलाल दासको अनुसन्धानबाट स्थितिदेव सप्तरी (हाल सिराहा जिल्लाको बाखर बनौली) को द्रोणवार ब्राह्मण वंशका राजा पुरादित्य सिंहका कान्छा छोरा थिए भन्ने सिद्ध भइसकेको छ। डोलाजी प्रथाअनुसार उनको विवाह शिशु राजकुमारी राजल्लादेवीसँग गराइयो र देवलदेवीकै सहयोगमा उनले प्रतिद्वन्द्वीहरूलाई पाखा लगाउँदै सन् १३८२ मा जयस्थिति मल्लको नामले भक्तपुरको सिंहासनमा आसीन भए।
जयस्थिति मल्लको उदय बालेनको सन्दर्भमा सबैभन्दा नजिकको ऐतिहासिक घटना हो। उनले सामाजिक, प्रशासनिक र न्यायिक सुधार गर्दै मध्यकालीन नेपालको परिभाषा नै बदले। उनी स्थानीय राजकुमार थिएनन्, बरु कमजोर केन्द्रमा हस्तक्षेप गरी पुनर्संरचना गर्ने दक्षिणी परिधिको शक्तिशाली पात्र थिए।
एकीकरण, सीमान्तीकरण, पहिचानको राजनीति र गणतन्त्र
सन् १७६८ मा पृथ्वीनारायण शाहको नेतृत्वमा नेपालको एकीकरणले तत्कालीन भू–राजनीतिमा ठुलो परिवर्तन ल्यायो। तत्कालीन सेन राजाहरूको अधीनमा रहेको हालको तराई–मधेश पनि विशाल नेपालमा गाभियो। भाषिक र सांस्कृतिक विविधतायुक्त नेपालमा शाह वंशले भाषिक र सांस्कृतिक पुनर्भिमुखीकरणको नीति लागू गर्याे। नेपाली (खस) भाषाले मैथिली र नेपाल भाषालाई विस्थापित गर्याे। राणा शासनकालमा (सन् १८४६–१९५१) तराई (मधेश)लाई उपनिवेशजस्तै व्यवहार गरियो। उर्वर जमिन भए पनि विद्यालहरू खोल्न निषेध गरिएको थियो, र मधेशीहरूलाई दोस्राे दर्जाको नागरिकको रूपमा हेर्न थालियो। पहाडी मूलका ब्राह्मण–क्षेत्री अभिजात वर्गले मधेशीहरूको जमिन आफूमा वितरण गरे। वि.सं. २००७ मा प्रजातन्त्रको स्थापना भयो, तर शिशु अवस्थामा रहेको प्रजातन्त्रको घाँटी निमोठ्दै वि.सं. २०१७ मा राजा महेन्द्रले पञ्चायत व्यवस्था लागू गरे र ‘राष्ट्रिय एकरूपता’को नीति अघि बढाए। मधेशीहरू दरबारद्वारा प्रायोजित भारतविरोधी राष्ट्रवादको पहिलो सिकार भए। नागरिकता कानुनहरू मधेशीहरूका लागि कठिन बनाइए र पहाडबाट तराईमा राज्य–प्रायोजित बसाइँसराइलाई सांस्कृतिक बहिष्करणको हतियारको रूपमा प्रयोग गरियो।
सन् २०४६ को जनआन्दोलनले बहुदलीय व्यवस्था पुनर्स्थापना गरे पनि राज्यका महत्त्वपूर्ण निकायहरूमा मधेशी प्रतिनिधित्व सीमित रह्यो। यसैबिच मधेशमा बढ्दो बौद्धिक चेतनाको जगमा नेपाल सदभावना पार्टीजस्ता संगठनहरूको उदय भयो। १० वर्षे माओवादी द्वन्द्वले समावेशिताको विमर्शलाई थप बलियो बनायो। २०६३ को विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधान जारी गरिएपछि उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरमले मधेश आन्दोलन गर्याे, जसले संघीय पुनर्संरचना र समानुपातिक प्रतिनिधित्वको सिद्धान्तलाई राज्यलाई स्वीकार गर्न बाध्य बनायो। २०६४ को पहिलो संविधानसभा निर्वाचनको आठ वर्षपछि २०७२ मा संविधान जारी भयो, तर यस संविधानले मधेशी पहिचानको राजनीतिलाई पूर्ण रूपमा सम्बोधन गर्न सकेन।
वैकल्पिक राजनीतिको उदय– उज्ज्वल थापादेखि बालेन्द्र शाहसम्म
देशमा व्याप्त राजनीतिक अलमलकै बिच एउटा नयाँ आन्दोलनले आकार लिन थाल्यो। खासगरी सहरी क्षेत्रमा सूचना प्रविधि र यसमा आधारित सामाजिक सञ्जालले ल्याएको परिवर्तन र वैदेशिक रोजगारीले ल्याएको वैश्विक जागरणले वैकल्पिक शक्तिको महत्त्वपूर्ण आधार तयार गर्याे। वि.सं २०६८ मा उज्ज्वल थापाले सुरु गरेको विवेकशील नेपाली अभियान रञ्जु दर्शना, विराजभक्त श्रेष्ठ हुँदै २०७९ मा बालेनसम्म आइपुग्दा मूर्त आकार लिइसकेको थियो। यता वैकल्पिक शक्तिकै रूपमा बाबुराम भट्टराईको नेतृत्वको नयाँशक्ति पार्टीले पनि संसदमा आफ्नो उपस्थिति दर्ज गरे पनि त्यस अभियानले खासै उचाइ लिन सकेन। उज्ज्वल थापाको असामयिक निधनपछि विवेकशील विभाजित भयो, तैपनि उनले सैद्धान्तिक जग भने तयार गरिसकेका थिए।
बालेन्द्र शाह (बालेन) महोत्तरी जिल्लाका मधेशी मूलका युवा हुन्, जो काठमाडौंमा जन्मे र हुर्केका हुन्। उनले आफ्नो काव्यात्मक सिपलाई र्यापर र कलाकारको रूपमा विकसित गरे। २०७९ को स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारको रूपमा उनी आश्चर्यजनक रूपमा काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भए र परम्परागत दलहरूप्रतिको जनआक्रोशको प्रतिमूर्तिको रूपमा स्थापित भए। केही मानिसहरूको विचारमा उनले २०७९ को स्थानीय चुनावको वेला आफ्नो मधेशी जातीय पहिचान लुकाएका थिए वा त्यसबारे खासै चर्चा गरेनन्, तर २०८२ माघ ५ को जनवरीमा जनकपुरमा मैथिली भाषामा सम्बोधन गर्दै उनले आफ्नो मधेशी पहिचानलाई खुला रूपमा अँगाले।
बालेनको सफलता र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उदयले वैकल्पिक राजनीतिक शक्तिलाई बलियो बनायो। २०७९ को निर्वाचन परिणामले त्रिशंकु बनेको संसदमा सत्ता फेरबदलको क्रम फेरि सुरु भयो। रवि लामिछानेविरुद्धको कथित सहकारीको मुद्दाले जनताको आक्रोशलाई थप मलजल गर्याे। भदाै २३–२४ को नवयुवा (जेन–जी) आन्दोलनमा ७६ जनाको मृत्युले यो आक्रोशलाई चरम विन्दुमा पुर्यायो र दुईतिहाइको ओली सरकार अपदस्थ हुन पुग्यो। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भयो र २०८२ फागुन २१ गते हुने गरी आमनिर्वाचनको घोषणा भयो। यसैबिच सर्वोच्च अदालतले रविलाई रिहा गरेपछि उनको बालेनसँगको संक्षिप्त भेटले नेपालको राजनीतिले नयाँ मोड लियो। यस ऐतिहासिक चुनावमा प्रधानमन्त्री उम्मेदवार बालेनको नेतृत्वमा रास्वपाले तराईका ७५ मध्ये ७० सिट र कुल २६५ मध्ये १८२ सिट जित्यो, यो परिवर्तनको स्पष्ट जनादेश थियो जुन २०१५ सालको आमनिर्वाचनपछि पहिलोपटक कुनै दललाई प्राप्त भएको थियो।
निष्कर्ष : ६४४ वर्षपछि इतिहासको पुनरावृत्ति
फेरि एकपटक यस लेखको मूल विषयमा फर्कौँ। प्रधानमन्त्रीको रूपमा बालेन्द्र शाहको उदय केवल निर्वाचन परिणाम मात्र होइन, यो काठमाडौं र मधेशबिचको शक्तिको ऐतिहासिक पुनः सन्तुलन हो। शाह र राणा शासनको झन्डै २६० वर्षे व्यवस्थित सांस्कृतिक र राजनीतिक दमन र पछिल्ला तीन दशकदेखि परम्परागत दलहरूले दिएको अस्थिरता, भ्रष्टाचार र कुशासनले अस्तव्यस्त र कमजोर बनेको केन्द्रको सत्तालाई बदल्न यसपटक मधेशी युवाको नेतृत्वमा सशक्त, निर्णायक र सफल हस्तक्षेप भयो।
यस प्रसंगलाई नियालेर हेर्दा माथि उल्लेखित इतिहासका तीनवटै सिद्धान्तसँग मेल खाएको देखिन्छ। यसले सन् १३८२ मा जयस्थिति मल्लको उदयसँगै भएको एउटा सत्ता परिवर्तनको समान आभाष दिन्छ। त्यतिवेला पनि भक्तपुर दरबारभित्रको शक्तिसंघर्ष र राजनीतिक अराजकताको अवसरमा सप्तरी (हाल सिराहा)को एक राजकुमारले केन्द्रमा प्रवेश गरी सत्ता सुदृढ गरेका थिए। त्यो घटनाको ६४४ वर्षपछि महोत्तरीका बालेन्द्र शाहको रूपमा इतिहासको चक्र पुनरावृत्त भएको छ। जसरी देवलदेवीले जयस्थिति मल्ललाई सत्तामा ल्याउन महत्त्वपूर्ण भूमिका खेलेकी थिइन्, ठिक त्यही भूमिकामा देखापरेका छन कुमार बेन। जसले बालेनलाई काठमाडौँको मेयरदेखि देशको प्रधानमन्त्रीसम्मको राजनीतिक यात्रामा साथ दिँदै आइरहेका छन्।
बालेनको उदयलाई आफ्नो पहिचानको अन्तिम समाधानको रूपमा हेर्दै मधेशी जनताले विगत दुई दशकदेखि क्षेत्रीय मधेशी दलहरूमा राखेको भरोसा अब बालेनलाई सुम्पेका छन् जसको वास्तविक प्रश्नहरूको उत्तर उनको पाँच वर्षको कार्यकालपछि आउनेछन्। तर, ऐतिहासिक दृष्टिले एउटा कुरा स्पष्ट छ– नेपाल आफ्नो इतिहासको नयाँ चक्रमा प्रवेश गरेको छ र ६४४ वर्षपछि केन्द्रमा पुनः मिथिला मधेशका शक्तिहरूले आफ्नो उपस्थिति जनाएका छन्।