मकवानपुरमा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु

शुक्रबार, ४ बैशाख, २०८३
डिजिटल संस्करण

मकवानपुरमा शुक्रबार अपराह्न दुई छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडा उपमहानगरपालिका– १८, भक्तिचोकस्थित धरान–चतरा सडकखण्डमा ना.३९प ३७५ र बा.प्र.०३–००५ प ७२१९ नम्बरका मोटरसाइकल एक–आपसमा ठोक्किँदा दुवै मोटरसाइकलमा सवार पाँचजना घाइते भएका थिए।

दुर्घटनामा हेटौँडा– १८ का अन्दाजी ३५ वर्षीय राजु थिङ, बागमती गाउँपालिका– ६ का करिब ४० वर्षीय अन्तबहादुर बिसी, हेटौँडा– १८ का ३८ वर्षीय सूर्यमणि खतिवडा, १२ वर्षीय प्रशान्त वाइबा र पहिचान नखुलेका करिब ३५–३६ वर्षीय एक पुरुष घाइते भएका थिए। त्यसमध्ये पहिचान नखुलेका पुरुषको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइतेहरूको हेटौँडा अस्पतालमा उपचार जारी छ।

यस्तै, बागमती गाउँपालिका– ७, पाथीभरा–धरान–चतरा सडकखण्डमै भएको अर्को सवारी दुर्घटनामा एकजना महिलाको ज्यान गएको छ। प्रहरीका अनुसार हेटौँडाबाट सिन्धुलीतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३ च ३०८१ नम्बरको कारले सडक किनारामा रोकिराखेको ना.२ह ४५९२ नम्बरको अटोलाई ठक्कर दिँदा अटोमा सवार ४० वर्षीया चिनीमाया रुम्बाको मृत्यु भएको हो।

गम्भीर घाइते रुम्बालाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी पुष्कर बोगटीले जानकारी दिए।

दुर्घटनामा अटोचालक बागमती– ८ का २५ वर्षीय यमन राई र अटोमा सवार बागमती– ७ का अन्दाजी ११ वर्षीय सुविन पुलामी मगर घाइते भएका छन्। उनीहरूको हेटौँडामा उपचार भइरहेको छ। कारचालक पनि घाइते भएको र उनको उपचार प्रहरी निगरानीमा भइरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार