हाँडीगाउँमा जस्तै असन क्षेत्रमा पनि हरेक शनिबार कार फ्री डे र सांस्कृतिक कार्यक्रम गरिने

शुक्रबार, ४ बैशाख, २०८३
डिजिटल संस्करण

हाँडीगाउँमा जस्तै असन क्षेत्रमा पनि हरेक शनिबार कार फ्री डे र सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ । काठमाडौं महानगरपालिका– २५ र २७ को समन्वय र सहकार्यमा  जीवन्त र समृद्ध (असं) असन नारासहित असन क्षेत्रमा सामाजिक, सांस्कृतिक तथा परम्परागत गतिविधिहरू र कार फ्री डे मनाउन थालिएको हो । 
 भोलि शनिबारदेखि नै यो कार्यक्रम लागू हुने महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

उनका अनुसार आधुनिकताभित्र प्रवेश गर्दै गरेको असन बजार, यस क्षेत्रमा भएका भौतिक सम्पदा, यस क्षेत्रसँग सम्बन्धित अभौतिक सम्पदाको पुनरुत्थान गर्ने उद्देश्यसहित यो कार्यक्रम थालिएको हो । ‘मानवीय तथा सवारी आवागमन चापका कारण पछिल्लो समय काठमाडौंका भित्री सहरी क्षेत्रमा व्यवस्थापकीय चुनौती थपिएका छन्,’ उनले भने, ‘सांस्कृतिक तथा सामाजिक चलनलाई मौलिक स्वरूपमा निरन्तरता दिन कठिन हुन थालेको छ, परम्परागत चिनारी हराउन थालेका छन्, नुनदेखि सुनसम्म अर्थात् जन्मदेखि मृत्युपर्यन्तका संस्कार र संस्कृतिमा चाहिने सामान पाइने ठाउँ, बिउ–विजन र बिरुवा पाइने ठाउँ, परम्परागत उपचार पद्धति भएको र आयुर्वेदिक औषधि पाइने ठाउँ नासिँदै गएको छ, यसले वस्तु तथा सामान मात्र नासेको छैन, काठमाडौंको पहिचानमा समेत नकारात्मक प्रभाव पारेको छ।’

उनका अनुसार यो असर र नकारात्मक प्रभाव रोक्न तथा पुर्खाको ज्ञान, सिपमा आधारित धार्मिक, सांस्कृतिक र सामाजिक जीवनशैलीको पुनरुत्थान गर्ने प्रयास हो, जीवन्त र समृद्ध (असं) असन कार्यक्रम । सम्पदासँग सम्बन्धित काम गर्दा महानगरपालिकाले गुठियार, समुदाय तथा सरोकारवालासँग समन्वय गर्दै आइरहेको छ । नेवार सभ्यतामा आधारित काठमाडौंका सांस्कृतिक तथा सामाजिक चालचलन तथा क्रियाकलापहरू कुनै समयमा सरकारबाट कुनै पनि प्रकारको सहयोग नलिई समुदायले आफ्नै लगानी र सहभागितामा चलाउँदै आएका परम्परा हुन् ।

जनजीवनसँग जोडिएका संस्कार सञ्चालन गर्न आवश्यक पर्ने भौतिक संरचना पनि समुदायकै योगदानमा निर्माण हुने परम्परा हो । समुदायको यो सबलता नै नेवार संस्कृतिको जग हो । सोहीअनुसार असन क्षेत्रमा सामाजिक तथा सांस्कृतिक, रैथाने ज्ञान तथा सिपको प्रदर्शनी, गायन, वादन तथा नृत्यलगायत क्रियाकलाप सञ्चालन हुनेछन् । त्यस क्षेत्रमा भएका जीवन्त मूर्त–अमूर्त सम्पदा बचावट गर्ने, संरक्षण र प्रवर्द्धन गर्ने, परम्परागत धार्मिक, सांस्कृतिक, सामाजिक तथा परम्परागत व्यापारिक क्रियाकलापहरूको प्रदर्शन र प्रवर्द्धनात्मक क्रियाकलाप सञ्चालन हुनेछन् । वडा नं. २७ कार्यालयको नेतृत्व, अन्नपूर्ण आरसिटी क्लबसहित स्थानीय क्लब, टोल सुधार समिति, गुठियार, सरोकारवाला र साझेदारहरूको सहभागिता तथा स्थानीय अपनत्वमा सुरु हुने कार्यक्रम कःमिलाछी (कमलाक्षी) चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि अमनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा सञ्चालन हुनेछ । 

 यी क्षेत्रमा हुनेछ सवारी निषेध 
हरेक शनिबार सञ्चालन हुने यो कार्यक्रम अवधिमा कार्यक्रम सञ्चालन हुने क्षेत्रमा सवारीसाधन प्रवेश निषेध गरिनेछ। कार्यक्रम सञ्चालन अवधिमा जमलतर्फ कःमिलाछी (कमलाछी) सिंहढोकाबाट असनतर्फ सवारी प्रवेश गर्न पाइनेछैन। यस्तै, भोटाहिटी कलशढोकाबाट असनतर्फ प्रवेश पाइनेछैन । वीर अस्पतालबाट महाबाैद्ध स्तुपतर्फ सवारी प्रवेश निषेध हुनेछ । वटु गणेश र भँसीको स्थित गणेश मन्दिरबाट महाबाैद्ध स्तुपातर्फ प्रवेश पाइनेछैन ।

इन्द्रचोकबाट सवारी प्रवेश रोकिनेछ । मच्छिन्द्र वहाल, मास गल्लीबाट मोटरसाइकलसमेत प्रवेश रोकिनेछ । त्यौड गल्ली हुँदै अगाडि गोसिफबाट अगाडि प्रवेश पाइनेछैन । गोसिफबाट इनबहाल, इनबहाल गणेश मन्दिर जान सकिनेछ । गणेश मन्दिरबाट पिलांतु गल्लीतर्फ प्रवेश निषेध हुनेछ । न्हकेटलाबाट असनतर्फ जान पाइनेछैन । कान्तिपथतर्फ ज्याठा अन्नपूर्ण स्कुलबाट भमुलु गल्लीतर्फ प्रवेश रोकिनेछ । यो क्षेत्र भएर सवारीधनीहरूले वैकल्पिक मार्गको प्रयोग गर्नुपर्नेछ ।

यस्तै यस दिन असन आउने आगन्तुकहरूले धरहरा भूमिगत पार्किङ, जमल वहाल, दरबार हाइस्कुल तथा अन्य तोकिएका स्थानमा सवारीसाधन राखेर पैदल यात्राबाट असन प्रवेश गर्नुपर्नेछ । यसरी सञ्चालन गरिने कार्यक्रमले स्थानीयवासीहरूको उद्यमशीलता तथा व्यावसायिक विकास हुनेछ । बालबालिका तथा ज्येष्ठ नागरिकलाई निर्वाध सडकमा हिँड्ने अवसर प्राप्त हुनेछ । यसले असन बजारको मौलिकता बढाउन योगदान दिनेछ । यस्तै, वायु प्रदूषण नियन्त्रण र सहरी वातावरणीय सुधारमा योगदान गर्ने प्रवक्ता मानन्धरले बताए । 

असन क्षेत्र वडा २५ र २७ मा पर्छ । वडा २७ ले सञ्चालन गर्ने कार्यक्रमसँगै वडा २५ क्षेत्रमा पनि कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ । यसका लागि वडाले समुदायस्तरमा छलफल सञ्चालन गरिरहेको छ । छलफलका क्रममा परम्परागत कथन सुन्ने (स्टोरी टेलिङ), धातु कला, माटोबाट सामान बनाउने कला, महसुस यात्रा, न्यासे बने नु, डबली पुनरुत्थानका कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव प्राप्त भएका छन् ।

निःशुल्क वाटर एटिएम मेसिन 
शनिबारदेखि नै निःशुल्क वाटर एटिएम मेसिन पनि शुभारम्भ हुने प्रवक्ता मानन्धरले बताए । काठमाडौं महानगरपालिकाभित्र करिब दुई करोड ६० लाख रुपैयाँको लागतमा आठवटा वाटर एटिएम बुथ निर्माण भएका छन् । काठमाडौं महानगरपालिका र उपत्यका खानेपानी व्यवस्थापन बोर्डको समान लागत सहभागितामा निर्माण भएका यी वाटर एटिएमबाट राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ स्तरको पिउने पानी निःशुल्क उपलब्ध हुनेछ ।

नेपाली मौलिक शैलीमा निर्माण गरिएका यी बुथहरूमा तीन हजार लिटर पानी भण्डारण क्षमता छ । काठमाडौंको खुलामञ्च, राष्ट्रिय सभागृह, दरबार हाइस्कुलबाहिर, वडा नम्बर १७ लिंकरोड ढल्कोचोक, वडा नम्बर ५ नरःदे (हाँडीगाउँ), वडा नम्बर २६ परिसर र वडा नम्बर ३१ परिसरमा यो प्रणाली जडान भएको छ ।

सुझावित समाचार