नेपालको भुक्तानी गर्नुपर्ने कुल सार्वजनिक ऋण २९ खर्ब ३३ अर्ब ७९ करोड ४६ लाख रुपैयाँबराबर पुगेको छ। भुक्तानी गर्न बाँकी कुल ऋण कुल गार्हस्थ्य उत्पादन (जिडिपी)सँगको तुलनामा ४८.०४ प्रतिशतबराबर हो।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार कुल ऋणमध्ये आन्तरिक ऋण दायित्व १३ खर्ब ८८ अर्ब ११ करोड ५७ लाख र बाह्य ऋण दायित्वतर्फ १५ खर्ब ४५ अर्ब ६७ करोड ८९ लाख रुपैयाँ रहेको छ । जिडिपीको तुलनामा आन्तरिक ऋण २२.७३ प्रतिशत र बाह्य ऋण २५.३१ प्रतिशत हो।
गत असार मसान्तसम्ममा नेपालले भुक्तान गर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड ७७ लाख रुपैयाँ रहेको थियो। यस अवधिमा नेपालले तीन खर्ब ४८ अर्ब १५ करोड ५१ लाख रुपैयाँ प्राप्ति र दुई खर्ब चार अर्ब १६ करोड ५४ अर्ब रुपैयाँ भुक्तानी गरेको छ। विनिमयदरमा भएको परिवर्तनले नेपाललाई एक खर्ब १५ अर्ब ७५ करोड ७३ लाख रुपैयाँ नोक्सान भएको छ। प्राप्ती, भुक्तानी र विनिमयदरबाट भएको नाफा–नोक्सानसमेत हिसाब गर्दा साउनदेखि चैतसम्म नेपालको सार्वजनिक ऋण दुई खर्ब ५९ अर्ब ७० करोड ९६ लाख रुपैयाँले बढेको देखिन्छ।
सरकारले चालू आर्थिक वर्षमा कुल पाँच खर्ब ९५ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य लिएको छ। चैत मसान्तसम्मा लक्ष्यको ५८.४५ प्रतिशत अर्थात् तीन खर्ब ४८ अर्ब १५ करोड ऋण परिचालन गरिएको छ। यस अवधिमा सरकारले आन्तरिकतर्फ वार्षिक लक्ष्यको ७८.३६ प्रतिशत अर्थात् दुई खर्ब ८३ अर्ब ६६ करोड ६९ लाख रुपैयाँ परिचलन गरिएको छ । त्यस्तै, बाह्यतर्फ वार्षिक लक्ष्यको २७.६० प्रतिशत अर्थात् ६४ अर्ब ४८ करोड ८२ लाख रुपैयाँ ऋण परिचालन गरिएको हो।
सरकारले चैत मसान्तसम्ममा ऋण सेवामा साढे दुई खर्ब रुपैयाँभन्दा रकम खर्च गरेको छ । यस अवधिमा सरकारले सार्वजनिक ऋणको साँवातर्फ ३ खर्ब २ अर्ब ४७ करोड ७३ लाख र ब्याजतर्फ १ खर्ब ८ अर्ब ५३ करोड ३० लाख गरी कुल ४ खर्ब ११ अर्ब १ करोड रुपैयाँ खर्चिएको हो । ऋण सेवामा भएको यो कुल खर्च जिडिपीको तुलनामा ४.२३ प्रतिशत हो।