१० बजेसम्मका १० मुख्य खबर

बिहिबार, ३ बैशाख, २०८३
डिजिटल संस्करण

दीपक खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ। 
खड्काको पक्राउ र म्याद थप कानुनसम्मत नदेखिएको भन्दै कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले खड्कालाई थुनामुक्त गर्न भनेको हो।

अस्पतालमा पनि हप्तामा दुई दिन बिदा हुने 

स्वास्थ्य मन्त्रालयले अन्य सरकारी कार्यालयमा जस्तै अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा पनि साताको दुई दिन बिदा दिने योजना अघि बढाएको छ । बिहीबार स्वास्थ्यमन्त्रीस्तरीय बैठकमा सातामा दुई दिन बिदा दिनेमा सहमति जुटे पनि कुन–कुन बिदा दिने भन्ने सम्बन्धमा निर्णय नभएको मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले बताए ।

संघीयता कार्यान्वयन जटिलता फुकाउन मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्री शाहको तीन घण्टा छलफल 

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र प्रदेशका मुख्यमन्त्रीहरूबिच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन घण्टा लामो छलफल भएको छ। 

संघीयता कार्यान्वयनका जटिलता सुल्झाउने उद्देश्यले आयोजना गरिएको छलफलमा मुख्यमन्त्रीहरूले आफ्ना समस्या सुनाएका थिए । छलफलमा प्रधानमन्त्री शाहले कुनै पनि विषयमा जिज्ञासा जाग्नेबित्तिकै तत्कालै बिचमै सोधेर स्पष्ट पार्ने र समाधानका विकल्पमा बहस छेड्ने गरेको प्रधानमन्त्रीको सचिवालयले जारी गरेको प्रेसनोटमा उल्लेख छ । 

११ समिति सभापतिका लागि रास्वपाले टुंग्यायो आफ्ना उम्मेदवार, सार्वजनिक लेखा समिति प्रतिपक्षलाई 

 राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय समिति सभापतिको उम्मेदवार टुंगो लगाएको छ । 

दलका नेता बालेन्द्र शाह ९बालेन०को अध्यक्षतामा बसेको संसदीय दलको बैठकले प्रतिनिधिसभाको १० वटा र दुईवटा संयुक्त समितिको नाम टुंग्याएको हो । बैठकमा सभापति रवि लामिछानेले उम्मेदवारको नाम प्रस्तुत गरेका थिए । प्रस्तुत नामलाई बैठकले अनुमोदन गरेको महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए ।

उपत्यका विकास प्राधिकरणका पूर्वआयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर 

उपत्यका विकास प्राधिकरणका अवकाशप्राप्त विकास आयुक्त भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अवैध सम्पत्ति आर्जनको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

खुल्यो खुलामञ्चको ताला, सर्वसाधारणका लागि केही दिनमा खुल्ने (फोटोफिचर)

खुलामञ्च व्यवस्थापनका लागि बन्द गरिएको खुलामञ्चको ताला खोलिएको छ । काठमाडौं महानगरपालिकाले दुबो लगाएर व्यवस्थित गर्नका लागि केही वर्षदेखि ताला लगाएर बन्द गरेको थियो । 

व्यवस्थापनको काम सकिएपछि महानगरकी कार्यकारी प्रमुख सुनिता डंगोलले आज ताला खोलेकी छिन् । ताला खुलेसँगै सर्वसाधारणका लागि केही दिनमा सोही मञ्च खुला गर्ने महानगरले जनाएको छ । 

ट्राफिक नियम उल्लंघन गर्ने सभामुखका तीनजना चालकले जरिवाना तिरेर कक्षा लिए

ट्राफिक नियम उल्लंघन गरेर गाडी चलाएका सभामुख डिपी अर्यालका तीनजना चालकले जरिवाना तिरेर कक्षासमेत लिएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सभामुख चढ्ने गाडीको चालक र सुरक्षामा खटिने अगुवा–पछुवा गाडीका दुईवटा चालकले बिहीबार बिहान जरिवाना तिरेर कक्षा लिएका हुन् । 

युएई जानेको पासपोर्टमा सर्त तोक्ने अध्यागमन अधिकृत छानबिनमा 

पर्यटक भिसामा युएई जानेको पासपोर्टमा रोजगार निषेध भनेर सर्त तोक्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अधिकृतमाथि छानबिन सुरु भएको छ। सरकारको नीतिविपरीत पासपोर्टमा ‘इम्प्लोयमेन्ट इज इस्ट्रिक्ली प्रोहिबेटेड’ लेखिएको थियो। 

रास्वपाको मुख्य सचेतकमा कवीन्द्र बुर्लाकोटी

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको मुख्य सचेतकमा महामन्त्री कवीन्द्र बुर्लाकोटी चयन भएका छन् । 

संसदीय दलका नेता बालेन्द्र शाह ९बालेन०को अध्यक्षतामा सिंहदरबारमा बसेको दलको बैठकले प्रमुख सचेतकमा बुर्लाकोटीलाई चयन गरेको हो । 

सम्पत्ति छानबिनमा सरकारको हस्तक्षेप हुने कांग्रेसको आशंका 

सम्पत्ति छानबिनका लागि सरकारले गठन गरेको आयोगमा कार्यपालिकाको हस्तक्षेप हुन सक्ने भन्दै कांग्रेसले प्रश्न उठाएको छ। कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले आयोग गठन गर्नुलाई स्वागत गर्दै यसलाई मन्त्रिपरिषद् कार्यालयमार्फत नराख्न भनेको छ। 

सुझावित समाचार