सिराहाको लहान नगरपालिका– २४ स्थित गोविन्दपुर र झुट्की गाउँलाई जोड्ने सर्रे खोलाको पुल निर्माण कार्य ठेक्का अवधि बाँकी रहँदै अन्तिम चरणमा पुगेको छ। आगामी ३० असोजसम्मको ठेक्का अवधि रहेको पुल निर्माणको काममा मनसुनअगावै सञ्चालनमा ल्याउने गरी ठेकेदार कम्पनीले तीव्र रूपमा काम गरिरहेको छ।
कुल १७० मिटर लम्बाइ रहेको उक्त पुलको डिजाइनअनुसार तीनवटा स्पानमध्ये दुईवटाको स्ल्याब ढलानसम्मको काम सम्पन्न भएको र बाँकी एउटा स्पानको काम अन्तिम चरणमा पुगेको प्रोजेक्ट इन्जिनियर प्रज्वल बस्नेतले जानकारी दिए। उनका अनुसार ३१ जेठ २०८० मा सम्झौता भएको पुल निर्माण कार्य तोकिएको समयअगाडि नै सम्पन्न गरी हस्तान्तरण गर्ने लक्ष्यसहित तीव्र रूपमा काम भइरहेको छ।
‘मनसुन सुरु हुनुअघि नै पुल निर्माण सम्पन्न गरेर यातायात सञ्चालन गर्ने लक्ष्यसहित काम गरिरहेका छौँ,’ बस्नेतले भने। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्षसमेत रहेका रवि सिंहको स्वामित्वमा रहेको हिराचन कन्स्ट्रक्सनले भ्याट र पिएससहित ३१ करोड २९ लाख ५३ हजार २५० रुपैयाँको ठेक्का सम्झौताअनुसार निर्माण गरिरहेको छ।
पुल निर्माणले सास्तीबाट मुक्ति
पुल सञ्चालन भएपछि सर्रे खोला पश्चिम उत्तरतर्फ पर्ने छिमेकी धनगढीमाई नगरपालिकाअन्तर्गतको सिमलटोकी, गडम्मे, कुसमाहासहित लहानमा पर्ने झुट्की, खेस्राहा, डाँडाटोल, रनहालगायतका गाउँका मानिसहरूले भोग्दै आएको सास्तीबाट मुक्त हुने स्थानीय वीरेन्द्र यादवले बताए।
‘पुल नहुँदा बर्खाको वेला लहान आवतजावत गर्न सर्रे खोलाामा बाढी आउँदा अप्ठ्यारो हुन्थ्यो,’ उनले भने, ‘खोलामा बाढी नसुकुञ्जेल घण्टौं किनारमा बस्नुपर्थ्यो, बारुणयन्त्र, एम्बुलेन्स पनि गाउँसम्म ल्याउन अप्ठ्यारो थियो।’ स्थानीयले वर्षौंदेखि भोग्दै आएको अप्ठ्यारो पुल सञ्चालनपछि सधैँका लागि अन्त्य हुने भएकाले ठुलो राहत हुने उनले बताए।
लहान बजारबाट करिब आठ किलोमिटर उत्तरमा रहेको सर्रे खोला पुल निर्माण हुनुमा दिवंगत नेता तथा राजनीतिक चिन्तक प्रदीप गिरीको ठुलो योगदान रहेको स्थानीयसमेत रहेका मानव अधिकारकर्मी राजकुमार राउत कुर्मीले सुनाए। उनका अनुसार २०७४ सालको निर्वाचनमा यो क्षेत्रबाट उम्मेदवार हुँदा गिरीले गरेको प्रतिबद्धता र निर्वाचित भएपछिको निरन्तर पहलकै कारण पुल निर्माण थालनी भएको थियो।
सलहेश करिडोरको कनेक्टिभिटी बलियो
पुल निर्माणले तरकारी उत्पादनको मुख्य क्षेत्र मानिने सर्रे खोला पारीका गाउँका किसानहरूले उब्जाएका तरकारीलगायतका कृषिउपज लहान बजारसम्म ल्याउन सहज हुने स्थानीय शिवदत्त राईले बताए। ‘विगतमा सर्रे खोला पुल चुनावी नारा मात्र बन्थ्यो,’ उनले भने, ‘अब केही महिनामा पक्की पुलमा आवतजावत गर्ने स्थानीयको सपना पूरा हुने भएको छ।’
लहान– २४ का वडाध्यक्ष राशलाल राय राजपूतले पुल निर्माण लहान नगरको उत्तरी क्षेत्रको विकासका लागि कोसेढुंगा हुने बताए। ‘चारैतर्फ सर्रे खोलाले घेरिएको झुट्की, माणिकदह गाउँ बर्खामा टापुजस्तै बन्थ्यो,’ उनले भने, ‘बिरामीलाई अस्पतालसम्म पुर्याउन र किसानलाई बजार पुग्न निकै कठिन थियो।’
पुल सञ्चालन भएपछि धार्मिक पर्यटकीयस्थल माणिकदहसम्म बाह्रै महिना सहज पहुँच हुनुका साथै, स्थानीयको जीवनस्तर बदल्ने उनले बताए। पुल सञ्चालनसँगै सिराहाको प्रसिद्ध धार्मिकस्थल सलहेश फूलबारी, माणिकदह, पकडियागढ र महिसोथासम्म सहलेश करिडोरको कनेक्टिभिटी बलियो हुने उनले बताए।