विगत २४ घण्टामा देशभर ३३ वटा विपतजन्य घटना भएका छन्। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार ती घटनामा परी सातजना घाइते भएका छन्।
प्राधिकरणका अनुसार सबैभन्दा धेरै घटना आगलागीसँग सम्बन्धित रहेका छन्। १३ जिल्लाका २६ स्थानमा आगलागी हुँदा पाँचजना घाइते भएका छन् भने ४० जनाको उद्धार गरिएको छ। ती घटनाको नियन्त्रण तथा उद्धारका लागि १४८ जना प्रहरी परिचालन गरिएको थियो।
यसैबिच, चार जिल्लाका पाँच स्थानमा वन डढेलोका घटना पनि भएका छन्, जसले जोखिमको अवस्था अझै उच्च रहेको देखाएको छ।
पछिल्लो २४ घण्टामा कुनै पनि मानवीय मृत्यु वा बेपत्ता भएको घटना भने नभएको प्राधिकरणले जनाएको छ। घाइते हुनेमध्ये पाँचजना आगलागीबाट, एकजना सर्पदंशबाट र एकजना जनावरको आक्रमणबाट प्रभावित भएका छन्। साथै, चारवटा चौपायामा पनि क्षति पुगेको छ।