- इन्धन ढुवानीको भरपर्दो आधार हर्मुजको जलमार्ग अवरुद्ध गर्नुले अन्तर्राष्ट्रिय समुदायको साझा हितलाई पूरा गर्दैन
इरानी बन्दरगाहमा आवतजावत गर्ने समुद्री यातायातलाई लक्षित गर्दै अमेरिकाले नौसेना परिचालन गरेर नाकाबन्दीको घोषणा (इरानसँग जोडिएका सबै मार्ग बन्द गर्दै) गरेसँगै पहिले नै संकटग्रस्त यस क्षेत्रमा थप तनाव बढेको देखिन्छ । यद्यपि, अमेरिकी केन्द्रीय कमान्डले गैरइरानी बन्दरगाह मार्गको स्वतन्त्रता अक्षुण्ण रहन्छ भन्ने कुरामा जोड दिन्छ । तर, साँघुरो जलमार्गमा यस्ता भिन्नता चाँडै पतन हुन्छन् । अमेरिकी घोषणापछि सो जलमार्गको ढुवानी लगभग ठप्प भएको रिपोर्टले उल्लेख गरेका छन् । परिणाम एक विरोधाभास हो । विश्वका लागि पुनः खोल्ने वाचा गरेको हर्मुज जलमार्ग अब अमेरिका आफैँले अझ कडा रूपमा बन्द गरेको छ ।
यो तनाव एक नाजुक क्षणमा आइपुगेको छ । इस्लामाबादमा वासिंटन र तेहरानबिच भएको पहिलो चरणको प्रत्यक्ष वार्ताले थोरै मात्र ठोस प्रगति हासिल गरेको देखिन्छ, यद्यपि दुवै पक्ष अनिश्चितकालीन द्वन्द्व चाहँदैनन् वा दुवै यसका थप क्षति सहन सक्षम छैनन् । त्यो साझा अनिच्छा नै हालको प्रक्रियालाई एकसाथ जोडिराख्ने आशाको पातलो त्यान्द्रो हो । यही कारणले गर्दा पछिल्लो अमेरिकी कदम भावी सहमतिप्रतिकूल छ ।
वासिङटनको दृष्टिकोणले कूटनीतिको लेनदेन (व्यापारिक) शैलीलाई प्रतिबिम्बित गर्छ । जसले भूराजनीतिक संकटलाई दबाब, अप्रत्याशितता र आर्थिक लाभमार्फत तीव्र पार्न उच्च जोखिमयुक्त वार्ताका रूपमा ‘डिल’ गर्छ । यस ढाँचामा, तनाव बढ्दै जानुलाई कूटनीतिक असफलताका रूपमा हेरिएको छैन, बरु यसको एक उपकरणका रूपमा हेरिएको छ । विश्वास यो हो– पर्याप्त दबाब दिनुहोस्, चाहे त्यो सैन्य, आर्थिक वा मनोवैज्ञानिक होस्, ताकि अर्को पक्षले अन्ततः हार मान्नेछ । यद्यपि, मध्यपूर्वका सवालमा भने यस तर्कको अनुमान गलत छ । यस तर्कले मान्छ कि अर्को पक्षले पनि उस्तै लागत गणना साझा गर्छ । तर, तेहरानले त्यसो गर्दैन । यदि केही छ भने इरानले पीडाका लागि बढी सहनशीलता र लामो समयको धैर्य प्रदर्शन गरेको छ ।
हर्मुज नाकाबन्दीले अपेक्षितभन्दा विपरीत प्रभाव निम्त्याउने जोखिम छ । छिटो सम्झौता गर्न बाध्य पार्नुको सट्टा यसले स्थितिलाई थप कडा बनाउँछ र गलत हिसाबकिताबको सम्भावना बढाउँछ । सीमित पानीमा नौसेना युद्धाभ्यास, ‘घातक हमला’को चेतावनी र नियन्त्रणबाहिर जान सक्ने घटनाको विद्यमान जोखिमले खतरनाक प्रतिक्रिया चक्रलाई औँल्याउँछ ।
अनि यसको परिणाम लाभ होइन, पक्षाघात हुनेछ । विश्वव्यापी अर्थतन्त्र थप झट्काका लागि तयार हुनुपर्नेछ । चिनियाँ विदेशमन्त्री वाङ यीले बेइजिङमा चीनका लागि संयुक्त अरब इमिरेट्सका राष्ट्रपतिका विशेष दूतसँगको भेटमा भनेझैँ इन्धन ढुवानीको भरपर्दो आधार हर्मुजको जलमार्ग अवरुद्ध गर्नुले अन्तर्राष्ट्रिय समुदायको साझा हितलाई पूरा गर्दैन । राजनीतिक र कूटनीतिक माध्यम नै विद्यमान समस्या समाधान गर्ने र दिगो युद्धविराम प्राप्त गर्ने आधारभूत तरिका हुन् ।
तैपनि, अमेरिका–इरान गतिशीलतालाई अझ जटिल बनाउनुमा इजरायलको भूमिका छ । इजरायली सरकारले लेबनानमा तनाव कम गर्न र वार्ताका लागि थोरै उत्साह देखाएको छ । यसले पहिले नै जटिल वार्ता प्रक्रियामा थप जटिलता थपेको छ । वासिंटन र तेहरानले साझा आधार फेला पारे पनि लेबनान समस्या झन् जटिल बनेको छ । यसले गतिरोध सिर्जना गर्छ । अमेरिका र इरान दुवैले एक–अर्काको प्रतिबद्धतालाई पूर्ण रूपमा विश्वास गर्न सक्दैनन् । आफ्नै एजेन्डा भएको तेस्रो पक्ष थप्दा गलत निर्णयको सम्भावना बढ्छ । खतरा यो होइन कि कूटनीति पूर्ण रूपमा असफल हुनेछ, तर यो बारम्बार जोखिममा पर्नेछ ।
जब चरम सीमामा हस्तक्षेप हुन थाल्छ, तब ठ्याक्कै त्यस्तै प्रकारको स्थिर, नियममा आधारित दृष्टिकोण आवश्यक हुन्छ । वास्तविकता यो हो कि वासिंटन र तेहरान दुवैले बल प्रयोग गरेर मात्र आफ्नो उद्देश्य छिटो प्राप्त गर्न सक्षम हुनेछैनन् । बरु, त्यसले सम्झौताको अन्तिम लागत अझ बढाउनेछ ।
हर्मुजको जलमार्ग लक्षण र चेतावनी दुवै हो । जब विश्वव्यापी साझा सम्झौता मोलमोलाइको माध्यम बन्छ, अस्थायी अवरोध स्थायी अस्थिरतामा परिणत हुने जोखिम हुन्छ । युद्धरत पक्षले बुझ्नुपर्छ कि कूटनीति धेरै महत्वपूर्ण छ । बेइजिङले आग्रह गरेझैँ सम्बन्धित सबै पक्षले शान्ति र संयम अपनाउनुपर्छ । तनाव कम गर्न चीन निरन्तर सकारात्मक र रचनात्मक भूमिका खेल्न तयार छ ।
कूटनीतिले बिरलै तुरुन्तै परिणाम दिन्छ । यसका लागि धैर्य, विश्वसनीयता र अपूर्ण परिणाम पनि स्वीकार गर्ने तत्परता चाहिन्छ । इस्लामाबादमा भएको वार्ता विफल भए पनि सकारात्मक नतिजाको ढोका बन्द भइसक्यो भनेर निराश भइरहाल्नुपर्दैन ।
चाइना डेलीको सम्पादकीयबाट