- जेनजी आन्दोलन, असोजको बाढी, बजेट कटौती र चुनावले प्रभावित निर्माणकार्य अब भने द्रुत गतिमा अघि बढ्ने अपेक्षा थियो, तर इन्धन, बिटुमिन र निर्माण सामग्रीमा भएको मूल्यवृद्धि र त्यसको अभावले परियोजनाको निर्माण प्रभावित
इन्धन र बिटुमिनजस्ता निर्माण सामग्रीको मूल्यमा भएको उच्च वृद्धि र त्यसको अभावले सडक, पुल, सिँचाइ तथा जलविद्युत् परियोजनाको निर्माण सुस्त भएको छ । पछिल्लो केही सातादेखि निर्माणकार्य प्रभावित भएको र कहिले साम्य हुन्छ भन्नेमा पनि अनिश्चितता रहेको विभिन्न परियोजनाका प्रमुखहरू बताउँछन् । त्यसले गर्दा निकट भविष्यमा ठेक्काको म्याद थप गर्नुपर्ने अवस्था आउन सक्ने सूर्यविनायक धुलिखेल सडक परियोजनाका प्रमुख विजयकुमार महतोले बताए । ‘यो काबुबाहिरको परिस्थिति हो । तसर्थ, निर्माण व्यवसायीलाई आवश्यक सहयोग गर्न हामी तयार छौँ,’ प्रमुख महतोले भने, ‘आवश्यक परेको अवस्थामा म्याद थप गर्न पनि तयार हुन्छौँ ।’
सुक्खा यामका कारण मंसिरदेखि जेठसम्मलाई निर्माणका लागि उपयुक्त समय मानिन्छ । तर, यही समयमा जेन–जी आन्दोलन, असोजको बाढी, बजेट कटौती र चुनावले प्रभावित निर्माणकार्य अब द्रुत गतिमा अघि बढ्ने अपेक्षा थियो । इन्धन, बिटुमिन र निर्माण सामग्रीमा भएको मूल्यवृद्धि र त्यसको अभावले परियोजनाको निर्माण पुनः प्रभावित भएको छ ।
फागुन १६ अर्थात् २८ फेब्रुअरीदेखि सुरु भएको अमेरिका–इरान युद्ध र त्यसपछिका तनावले विश्व बजारमा इन्धनको मूल्य उच्च दरमा बढेको छ । त्यसपछि नेपालमा पनि यसको मूल्य उच्च दरमा बढाइएको छ । त्यसको असरले स्वदेशमै उत्पादन हुने सिमेन्ट, डन्डीजस्ता निर्माण सामग्रीको पनि मूल्य बढेको छ । त्यसले स्वतः परियोजना निर्माणको लागत बढाउँदै गएको छ । अहिले निर्माण लागत औसतमा ३० प्रतिशतले बढेको निर्माण व्यवसायीहरू बताउँछन् ।
इरान युद्धअघि डिजेलको मूल्य प्रतिलिटर १४० रुपैयाँ हाराहारी थियो । अहिले डिजेलको मूल्य प्रतिलिटर २०४.५ रुपैयाँ पुगेको छ । यसैगरी प्रतिकिलो बिटुमिनको मूल्य ९० रुपैयाँबाट बढेर एक सय ४२ रुपैयाँ पुगेको छ । डन्डीको मूल्य प्रतिकिलो ७३ बाट बढेर ९० रुपैयाँ पुगेको छ । पछिल्लो एक महिनामा सिमेन्टको मूल्य पनि बोरामा १०० रुपैयाँ हाराहारीले बढेको छ । कच्चा पदार्थको आयात प्रभावित हुँदा निर्माण सामग्रीको उत्पादन पनि घटेको छ । यसैगरी सडक कालोपत्रेमा प्रयोग गरिने बिटुमिनको आयात हुन सकेको छैन । पछिल्लो समय निर्माण व्यवसायीले डिजेलसमेत मागअनुसार पाउन नसकेका कारण सिजनमै निर्माणकार्य सुस्त भएको छ । जति काम भएको छ, त्यसको लागत पनि उच्च छ ।
नागढुंगा–मुग्लिन सडकमा कालोपत्रे ठप्प
बिटुमिन अभाव भएसँगै संघीय राजधानीलाई जोड्ने सबैभन्दा ठुलो सडक नागढुंगा–मुग्लिन सडकको स्तरोन्नतिमा कालोपत्रे ठप्पजस्तै भएको छ । अहिले परियोजनामा अत्यावश्यक काम मात्रै भएका छन् । पर्खाल निर्माण, पुल निर्माणका काम अघि बढे पनि एकदमै धिमा गतिमा भएको छ ।
परियोजनाको पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले दुई सातादेखि निर्माणका गतिविधि सुस्त भएको बताए । ‘निर्माण व्यवसायीले इन्धन, बिटुमिनलगायतका सामग्रीको अभाव भएको जानकारी दिएको छ । झन्डै दुई सातादेखि निर्माण गतिविधि ठप्पजस्तै भएको छ । अत्यावश्यक मात्रै काम भएको छ,’ उनले भने, ‘यो परियोजनामा दैनिक २० हजार लिटर डिजेल चाहिन्छ । तर, निर्माण व्यवसायीले तीन हजार लिटर मात्रै डिजेल पाएको देखिन्छ । बिटुमिन अभाव हुँदा कालोपत्रेको काम ठप्प छ ।
सूर्यविनायक–धुलिखेलमा रोकियो कालोपत्रे
पूर्वी नेपाललाई काठमाडौंसँग जोड्ने सूर्यविनायक–धुलिखेल सडकमा पनि कालोपत्रे ठप्प भएको छ । हाल उक्त सडक स्तरोन्नतिकै क्रममा छ । तर, बिटुमिन अभावको कारण देखाउँदै निर्माण व्यवसायीले कालोपत्रेको काम ठप्प पारेको छ । परियोजना प्रमुख विजयकुमार महतोले दुई सातादेखि कालोपत्रेको काम ठप्प भएको बताए । ठेकेदारले इन्धन र निर्माण सामग्रीको अभाव देखाएर काम अगाडि बढाउन समस्या भएको लिखित जानकारी गराएको पनि उनको भनाइ छ ।
कमला–ढल्केबर–पथलैया पनि प्रभावित
यसैगरी, मधेश प्रदेशस्थित कमला–ढल्केबर–पथलैया सडकको निर्माण पनि प्रभावित भएको छ । परियोजना प्रमुख राजेशकुमार दासले पनि पछिल्लो परिस्थितिका कारण निर्माणकार्य प्रभावित भएको बताए ।
‘एकातिर मूल्यवृद्धि भएको छ । अर्कोतिर आपूर्ति पनि प्रभावित भएको छ । हामीलाई दैनिक ६ हजार लिटरभन्दा धेरै डिजेल चाहिन्छ । तर, अहिले दैनिक तनि हजार लिटर मात्रै पाइन्छ । अन्य निर्माण सामग्रीको पनि मूल्यवृद्धिसँगै अभाव पनि देखिन्छ । डन्डीहरू भनेजति पाइएको छैन,’ उनले भने, ‘यसले समग्र निर्माण प्रभावित बनाएको छ ।’
सिँचाइ परियोजनाको निर्माण पनि प्रभावित
सिँचाइ विभागका महानिर्देशक मित्र बरालले अधिकांश सिँचाइ आयोजनाको निर्माण प्रभावित भएको बताए । ‘इन्धन र निर्माण सामग्रीको अभावले सिँचाइ आयोजनाको निर्माण पनि प्रभावित भएको छ,’ उनले भने, ‘अधिकांश आयोजनाको निर्माणमा शिथिलता आइसकेको छ ।’
जलविद्युत्को आरसिओडी गुज्रिने चिन्ता
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्षले जलविद्युत् परियोजनाको निर्माण पनि प्रभावित भएको बताए । ‘जलविद्युत् परियोजनाको निर्माणमा पनि इन्धनको खपत उच्च हुन्छ । तर, त्यसको अभावले करिब सबै निर्माणाधीन आयोजना प्रभावित भएका छन्,’ उनले भने, ‘यसले परियोजनाको लागत बढाउने भयो । साथै, व्यावसायिक विद्युत् उत्पादन मिति (आरसिओडी)मै परियोजना सञ्चालनमा आउनेमा चुनौती भएको छ । किनकि, यो युद्ध तत्काल साम्य भए पनि परिस्थिति तत्काल साम्य हुने देखिँदैन ।’ परियोजनाको निर्माण लम्बिँदा ब्याज दायित्वसमेत बढ्ने उनको भनाइ छ ।
मूल्य समायोजन हुनेमा चिन्ता
इन्धन र निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले परियोजना निर्माणको लागत स्वतः बढ्दै छ, जसको सुरुमा प्रत्यक्ष भार निर्माण व्यवसायीलाई पर्छ । तर, ठेक्का सम्झौतामै मूल्यवृद्धि समायोजन गर्ने व्यवस्था हुन्छ । त्यसले गर्दा मूल्यवृद्धिको असर अन्ततः सरकारी ढुकुटीमै पर्छ ।
एक वर्षीय ठेक्कामा मूल्यवृद्धि समायोजन गर्ने सुविधा हुँदैन । बहुबर्षीय ठेक्कामा वार्षिक १५ प्रतिशतसम्मको मूल्यवृद्धि निर्माण व्यवसायीले नै व्यहोर्नुपर्छ । त्यसभन्दा बढीको मूल्यवृद्धि भएमा सरकारले समायोजन गर्नुपर्छ । तर, त्यसमा २५ प्रतिशतसम्मको सीमा छ । पछिल्लो परिस्थितिका कारण भने निर्माणकार्यको लागत औसतमा ३० प्रतिशतले बढेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डे बताउँछन् । सरकारले राष्ट्र बैंकले तयार गर्ने मुद्रास्फीतिका सूचकका आधारमा मूल्यवृद्धि समायोजन गर्ने व्यवस्था छ ।