एक दिन एकजना मित्रले आफ्ना घनिष्ठ मित्रलाई फोन गरेर आत्तिँदै भने– मेरी आमा आज निकै बिरामी हुनुहुन्छ । मसँग उहाँको औषधि किन्ने पैसा छैन । औषधि नपाए उहाँ रातभरि सुत्न सक्नुहुन्न । त्यसैले, तिमीले मलाई केही मद्दत गर्न सक्छौ कि ? उताबाट साथीले भने– चिन्ता नगर मित्र, म छु नि ! तिमी औषधि किन्न जाने वेला मलाई खबर गर्नू, म आउँछु ।
साँझतिर पहिलो मित्र औषधि पसलमा पुगे । उनले आफ्ना साथीलाई पटकपटक फोन गरे, तर उताबाट फोन बन्द भएको सन्देश आइरह्यो । उनले आत्तिँदै अर्को, अनि अर्को साथीलाई पनि फोन गरे । तर, कसैबाट पनि सहयोग पाउने सम्भावना देखिएन । अन्ततः उनी ज्यादै निराश भए । उनले मनमनै भने– ओहो ! यो समाज पनि कति स्वार्थी हुँदो रहेछ । मेरा साथीहरूले पनि दुःखमा मलाई साथ दिएनन् । म छु नि भनेर भरोसा दिलाउने साथी त झन् फोन नै बन्द गरेर बसिदियो ।
उनी निराश भएर घर फर्किए । घर पुग्दा आमा औषधि खाएर आरामले निदाइसकेकी थिइन् । आमाको खाटनजिकैको सानो टेबलमा औषधिको पोको थियो । यो सब देखेपछि उनले भाइलाई त्यो औषधि कसले ल्याइदियो भनेर सोधे । भाइले उनका तिनै मित्रले सो औषधि ल्याइदिएको बताए ।
यो थाहा पाउनासाथ उनी हतारिँदै साथीको घरतिर दौडिए । उनी हस्याङफस्याङ गर्दै साथीको घर पुगे र हात जोड्दै भने– तिमीलाई लाखलाख धन्यवाद छ मित्र । तिमीले आज मलाई ज्यादै ठुलो गुन लगाएका छौ । तर, तिम्रो फोन किन बन्द छ ? मैले त तिमीले बिर्सियौ या धोका दियौ भनेर के–के मात्र भनिनँ होला ।
साथीले भने– हेर न, तिमीसितको कुराकानीपछि पैसाको जोहो गर्न समय लाग्यो । अनि, तिमी जुन फोन बन्द भएको गुनासो गर्दै छौ, त्यही फोन बेच्दाबेच्दै त ढिलो भएको हो नि ! साथीको कुरा सुन्दा पहिलो साथी स्तब्ध बने । आँखाभरि आँसु बनाएर उनले साथीलाई गम्लङ्ङ अँगालो हाले र भने– मलाई माफ गरिदेऊ मित्र !