प्रेरक प्रसंग : गधा, बाघ र सिंह

मंगलबार, १७ कार्तिक, २०८३
प्रिन्ट संस्करण

एकपटक जंगलमा बस्ने एउटा गधा र बाघबिच घाँसको रङका विषयमा बहस चल्यो । गधाले भन्यो घाँस निलो हुन्छ । बाघले भन्यो– होइन, होइन घाँस त हरियो पो हुन्छ । यसै विषयमा दुवैबिच लामो विवाद चल्यो । अन्ततः विवाद जंगलका राजा सिंहसम्म पुग्यो ।

जब सिंहले दुवैका कुरा सुन्यो, त्यसपछि उसले भन्यो– हो, गधाले ठिक भनिरहेको छ । घाँस निलो नै हुन्छ । सिंहको फैसला सुन्नासाथ गधा खुसीले ‘हिपहिप हुर्रे’ भन्दै बुर्कुसी मारेर जंगलतिर लाग्यो । तर, अलि पर पुगेपछि गधा टक्क रोकियो र पुनः सिंहकहाँ फर्कियो ।

गधाले सिंहलाई भन्यो– महाराज, हजुरले मलाई जिताइदिनुभयो, तर बाघलाई सजाय त दिनुभएन नि ! गलत तर्क गरेकामा बाघलाई सजाय दिनुपरेन ? गधाको कुरा सुनेर सिंहले भन्यो– हो, तिमीले ठिक भन्यौ, बाघलाई सजाय दिनैपर्छ । सिंहले बाघलाई बोलाएर भन्यो, तिमीले गधासँगको बहसमा हारेकाले अबका तीन दिन मौन रहनुपर्छ । यो नै तिम्रो सजाय हो । बाघलाई सजाय तोकिएपछि गधा खुसीले पागल हुँदै जंगलतिर दौडियो ।

गधा गइसकेपछि बाघले सिंहलाई भन्यो– महाराज हजुर कस्तो राजा हुनुहुन्छ ? मलाई थाहा छ, घाँस हरियो हुन्छ । हजुरलाई पनि थाहा छ घाँस हरियो हुन्छ । दुनियाँलाई थाहा छ, घाँस हरियो हुन्छ । तैपनि, हजुरले गधाको कुरा पत्याएर घाँस निलो हुन्छ भनेर फैसला सुनाउनुभयो । यो कहाँको न्याय हो महाराज ?

सिंहले बाघलाई भन्यो– हो, तिमीले ठिक भन्यौ । तिमीलाई थाहा छ, घाँस हरियो हुन्छ । मलाई पनि थाहा छ, घाँस हरियो हुन्छ । दुनियाँलाई थाहा छ, घाँस हरियो हुन्छ । त्यति हुँदाहुँदै पनि तिमीले बेकारमा गधासित किन यस विषयमा बहस गर्यौ ? गधासित गरेको बहसका लागि तिमीले यो सजाय पाएका हौ । जो गधासित बहस गर्छ, ऊ सबैभन्दा ठुलो गधा हो ।

सुझावित समाचार