प्रेरक प्रसंग : माइलाको भागमा आमा

बिहिबार, १९ कार्तिक, २०८३
प्रिन्ट संस्करण

एउटा गाउँमा बुबाआमाका साथमा तीन दाजुभाइ र एक बहिनी मिलेर बसेका थिए । चारैलाई बुबाआमाले निकै माया गर्थे । जेठो छोरो डाक्टर थियो भने कान्छो इन्जिनियर । तर, माइलो भने अनपढ थियो । जेठो र कान्छो छोराको बिहे भइसकेको थियो । केही समयपछि छोरीको पनि बिहे भयो । तर, अनपढ माइलालाई भने छोरी दिन कोही तयार थिएनन् । त्यसैले, उसका आमाबुबा दुःखी थिए ।

माइलो छोराको बिहे नहुँदै पिताको मृत्यु भएपछि आमाले गाउँकै एक सोझी केटीसित बिहे गराइदिइन् । बिहेपछि ऊ पहिलेभन्दा निकै मन लगाएर काम गर्न थाल्यो । उता डाक्टर र इन्जिनियर दाजुभाइले अंशबन्डा गर्ने सल्लाह गरे । आमाले रोक्न लाख कोसिस गरे पनि दुवै दाजुभाइले अंशबन्डाको मिति तय गरे । उनीहरूले बहिनीलाई पनि बोलाए ।

माइलाले भन्यो– तिमीहरू अंशबन्डा गर । जे–जे चाहिने हो लग । मलाई जे दिन मन लाग्छ, देऊ । म साँझमा आएर ल्याप्चे लगाइदिन्छु । त्यति नै वेला वकिल पनि आइपुग्यो । उसले भन्यो– तपाईंहरूको कुल १० बिघा जमिन र घर छ । अब कसलाई कति–कति दिनुपर्ने हो, बताउनुहोस् । म त्यसैअनुसार कागज बनाइदिन्छु ।

माइलाले भन्यो– वकिलसाब, मेरा दुवै दाजुभाइका नाममा पाँच–पाँच बिघा जमिन र बहिनीको नाममा यो घर लेखिदिनुहोस् । यो सुनेर बहिनी र दाजुभाइले एक स्वरमा प्रश्न गरे— अनि तिमीचाहिँ के लिन्छौ त ? माइलाले भन्यो– मेरो भागमा त मेरी प्यारी आमा हुनुहुन्छ नि ! अनि, उसले आफ्नी पत्नीतिर हेरेर प्रश्न गर्यो– मेरी प्यारी पत्नी, के मैले गलत भनेँ ? उसकी पत्नीले सासूलाई अँगालो मार्दै भनी– ठिक भन्नुभयो हजुरले । आमाभन्दा मूल्यवान् सम्पत्ति अर्को के नै हुन सक्छ र ?

यो सब हेरिरहेकी बहिनीले भनी– मलाई माफ गर दाइ, मैले तिमीलाई चिन्न सकिनछु । दुवै दाजुभाइले भने– हो बहिनी, तिमीले ठिक भन्यौ । हामीले यो अंशबन्डा गरेनौँ भन्दैमा हाम्रो जीवन रोकिने त होइन नि ! त्यसैले, अब यो अंशबन्डा हुँदैन । हामी जसरी बाल्यकालमा सँगै बस्थ्यौँ, अबदेखि पनि त्यसैगरी मिलेर आमासँगै बस्छौँ, कहिल्यै अलग हुँदैनौँ ।

सुझावित समाचार