एक अत्यन्त गरिब परिवारको बेरोजगार युवक कामको खोजीमा अर्को सहरको यात्रामा थियो । ऊ रेल चढेर जाँदै थियो । उसको घरमा खानामा कहिलेकाहीँ मात्र तरकारी बन्थ्यो । त्यसैले, उसले बाटामा खानका लागि पनि विनातरकारी सुक्खा रोटी मात्र बोकेको थियो ।
यात्रामा अघि बढ्दै जाँदा उसलाई भोक लाग्यो । उसले टिफिनबाट रोटी निकाल्यो र खान थाल्यो । तर, उसको रोटी खाने तरिका भने अनौठो थियो । ऊ जबजब रोटीको टुक्रा हातमा लिन्थ्यो, तब त्यसलाई टिफिनभित्र यसरी चोब्थ्यो, मानौँ त्यसमा तरकारी या अचार राखिएको छ र ऊ त्यसैसँग रोटी खाइरहेको छ । तर, उसको टिफिनमा रोटीबाहेक तरकारी या अचार केही पनि थिएन ।
उसको यस्तो व्यवहार देख्दा रेलमा यात्रा गरिरहेका अन्य यात्रु छक्क परिरहेका थिए । त्यो युवक हरेकपटक त्यसैगरी रोटीको टुक्रा हातमा लिन्थ्यो, टिफिनमा तरकारी या अचारमा चोबेजसरी चोब्थ्यो र स्वाद मानीमानी खान्थ्यो । उसको यस्तो हर्कतमा ध्यान दिइरहेका एक यात्रुले उनलाई सोधे– भाइ, तिमी यस्तो किन गरिरहेका छौ ? जब तिम्रो टिफिनमा तरकारी या अचार केही पनि छैन भने बारम्बार किन तिमी रोटीको टुक्रा तरकारी या अचारमा चोबेजस्तो गरेर खाइरहेका छौ ?
युवकले जवाफ दियो– हो, मेरो टिफिनमा तरकारी या अचार केही पनि छैन । तर, म मनमनै यसमा साँच्चैको अचार छ भन्ने सोचेर रोटी खाइरहेको छु । यसबाट मलाई अचारको स्वाद पनि आइरहेको छ । उसको जवाफ सुनेपछि ती प्रश्नकर्ता यात्रुले हैरान हुँदै प्रश्न गरे– भनेपछि तिमी रित्तो टिफिनमा अचार छ भन्ने सोचेर रोटी चोबेर खाइरहेका छौ र तिमीलाई अचारको स्वाद पनि महसुस भइरहेको छ ?
युवकले जवाफ दियो– हो, मलाई अचारको मिठो स्वाद महसुस भइरहेको छ । त्यसैले त म रोटी चोबेर खाइरहेको छु नि ! उसको जवाफ रेलका अन्य यात्रुले पनि सुने । तिनैमध्ये एक युवकले भन्यो– यसरी सोच्नु नै थियो भने तिमीले अचारको साटो मटर–पनिर या अन्य स्वादिष्ट तरकारी सोच्नुपथ्र्यो नि । कमसेकम तिमीलाई अचारको साटो तिनको स्वाद प्राप्त हुन्थ्यो नि । आखिर सोच्नु नै छ भने किन सानो सोच्ने ? केही ठुलै सोचियो भने पो ठुलै सफलता पाइन्छ, होइन र ? युवकले सहमतिमा टाउको हल्लायो ।