प्रेरक प्रसंग : सासू–बुहारीको सम्बन्ध

शुक्रबार, २३ असोज, २०८३
डिजिटल संस्करण

एकपटक बुहारी भान्सामा तरकारी पकाउँदै थिइन् । पाकिसकेपछि उनले सासूलाई तरकारी चाख्न दिइन् । तरकारी मुखमा राख्नासाथ झस्किँदै सासूले भनिन्– ओहो, नुन र खुर्सानी त अति हालिछ्यौ । यो त कसैले खान सक्दैन । बुहारीले आत्तिँदै भनिन्– के गर्ने त आमा, बाबा र हजुरका छोरालाई खाना खान ढिलो हुन लागिसक्यो । सासूले झटपट केही आलु उसिनिन् र त्यसैलाई तरकारीमा मिलाइदिइन् । त्यति नै वेला बुहारीकी आमाले सम्धिनीलाई फोन गरिन् । दुवै सम्धिनी कुराकानी गर्न थाले । बुहारी सासूले आफ्नो कुरा आमालाई सुनाइदिने भइन् भनेर डराइन् ।

बुहारीकी आमाले सम्धिनीसित छोरीका बारेमा प्रश्न गरिन् । सासूले भनिन्– हजुरकी छोरीले निकै राम्रो गरिरहेकी छिन् । हजुरले उनलाई निकै राम्रो तालिम दिनुभएको रहेछ । एकैछिनमा दुवैका कुरा सकियो । बुहारीले सासूलाई सोधिन्– म त कुनै पनि काम सही ढंगले गरिरहेकी छैन । तैपनि, हजुरले किन आमासित मेराबारेमा त्यस्तो भन्नुभयो ? सासूले भनिन्– हेर बुहारी, काम भनेको त सिक्दै जाने हो । मैले तिमीलाई काम सिकाउन बाँकी नै छ । जब मैले काम सिकाइसक्छु, त्यतिखेर गल्ती गर्यौ भने म तिमीलाई हप्काउँछु पनि होला ।

किनकि, त्यतिखेर म तिम्रो गुरु हुनेछु । तर, अहिले सिकाउँदै नसिकाई कसरी तिम्राबारेमा नराम्रा कुरा भन्न सक्छु त म ? फेरि तिम्रो र मेरो कुरा भनेको त हाम्रो घरभित्रको समस्या हो । म कसरी सम्धिनीज्यूसित आफ्नो घरको कुरा सुनाउन सक्छु ? यस्ता कुरा अरूलाई सुनाउन थालियो भने हाम्रो सम्बन्ध बिग्रन पनि सक्छ । त्यसैले, तिमीले पनि यो कुरा राम्ररी बुझिराख, घरको कुनै पनि कुरा कहिल्यै बाहिर कसैलाई नबताउनू । मलाई यो कुरा मेरी सासूआमाले बताउनुभएको थियो, आज म तिमीलाई बताइरहेकी छु । बुहारीले आँखाभरि आँसु पारेर सासूआमालाई गम्लंग अँगालो हालिन् र सुँकसुकाउँदै भनिन्– आमा, हजुरले दिएको गुरुमन्त्रलाई म जीवनभर भुल्नेछैन ।

सुझावित समाचार