प्रेरक प्रसंग : अहंकारको अन्त्य र स्वर्गयात्रा

शुक्रबार, १३ कार्तिक, २०८३
प्रिन्ट संस्करण

एक प्रसिद्ध गुरुका निकै ज्ञानी शिष्य थिए । उनको नाम महेन्द्रनाथ थियो । एक साँझ महेन्द्रनाथ आफ्ना अन्य मित्रका साथ आश्रमकै बगैँचामा टहलिँदै आपसी वार्तालापमा मग्न थिए । उनीहरूबिच स्वर्ग र नर्कको चर्चा चलिरहेको थियो ।

कुराकानीका क्रममा महेन्द्रनाथका एक मित्रले प्रश्न गरे– महेन्द्र के म स्वर्ग जान्छु होला ? महेन्द्रले शान्तभावले जवाफ दिए– मित्र, ‘म’ गएपछि तिमी अवश्यै स्वर्ग जानेछौ । महेन्द्रको जवाफ सुनेपछि उनका मित्रलाई लाग्यो, महेन्द्र गुरुको विशेष माया पाएर साह्रै अभिमानी भएछन् । उनमा घमन्ड भरिएछ । पछि आश्रममा भेट हुँदा उनीहरूले महेन्द्रको अभिमानबारे गुरुसित एकस्वरले गुनासो गरे ।

गुरुलाई आफ्ना प्रिय शिष्य महेन्द्रनाथ निरहंकारी मात्र होइन, आफ्ना अल्प शब्दमा गम्भीर ज्ञानगुनका कुरा घुसाएर बोल्न निपूण छन् भन्ने थाहा थियो । उनले अन्य शिष्यकै अगाडि महेन्द्रनाथलाई बोलाएर यसबारे सोधे । महेन्द्रले आफूले साथीहरूसित त्यस्तो कुरा गरेको स्विकारे । त्यसपछि गुरुले सोधे– भन त महेन्द्र, के तिमी स्वर्ग जान्छौ ? महेन्द्रनाथले जवाफ दिए– गुरुदेव जब ‘म’ जान्छ, तब मात्र म स्वर्ग जान्छु ।

गुरुले आफ्ना शिष्यलाई सम्झाउँदै भने– के तिमीहरूले महेन्द्रको भनाइको तात्पर्य बुझ्यौ ? यिनी भन्दै छन्– जब कुनै व्यक्तिमा ‘म’ अर्थात् अहंकार मेटिएर जान्छ, तब मात्र ऊ स्वर्ग जानयोग्य हुन्छ ।

जबजब कसैमा मैले यो गरेँ, मैले यति पुण्य कमाएँ, यो सब मैले नै गरेको हुँ भन्ने भाव रहिरहन्छ, उसले स्वर्गबारे सोच्नु पनि गलत हो । किनकि, अहंकारका लागि स्वर्गमा प्रवेश निषेध छ ।

सुझावित समाचार