कांग्रेसको क्रियाशील सदस्यता खारेज होइन, अद्यावधिक हुँदै छ : महामन्त्री पौडेल

सोमबार, ३० चैत, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको क्रियाशील सदस्यता खारेज गर्न लागिएको भन्ने भ्रमलाई अस्वीकार गर्दै अद्यावधिक प्रक्रिया सुरु गर्न लागिएको स्पष्ट पारेका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत उनले यसबारे प्रष्टीकरण दिँदै भने, ‘हामीले क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दै छौँ।’ उनले अद्यावधिक गरिएको सदस्यताले पार्टीलाई गाउँ–गाउँसम्म जोड्ने र समर्पित कार्यकर्ताको नवीकरणले संगठनलाई अझ जिम्मेवार र मजबुत बनाउने विश्वास व्यक्त गरे।

पौडेलले विगतमा देखिएका कमजोरी सुधार गर्न यसपटक प्राविधिक पक्षमा विशेष ध्यान दिइएको जानकारी पनि दिए। उनका अनुसार परिमार्जित प्रणालीमार्फत सदस्यता अद्यावधिक गर्दा अघिल्ला समस्या र अन्योल हट्ने अपेक्षा गरिएको छ।

उनले भोलिदेखि नै सबै क्रियाशील सदस्यलाई सदस्यता अद्यावधिक गर्न र पार्टीप्रति आस्था राख्ने शुभेच्छुकलाई नयाँ सदस्यता लिन आग्रह गरेका छन्।

यसअघि जनकपुरधाममा आयोजित मधेश प्रदेशस्तरीय निर्वाचन समीक्षा गोष्ठीमा सभापति गगन थापाले पुराना सबै क्रियाशील सदस्यता खारेज भएको बताएका थिए, जसपछि यस विषयमा विभिन्न प्रश्नहरू उठेका थिए।

नेपाली कांग्रेसले आगामी वैशाख १ गतेदेखि देशभर ‘जरा अभियान’ सुरु गर्ने तयारी समेत गरेको छ।

सुझावित समाचार