- म यहीँबाट कमरेड केपी ओली, मोहनविक्रम सिंह, मोहन वैद्यलगायत विगतमा सहकार्य गरेका सबै कमरेडहरूलाई आह्वान गर्न चाहन्छु– देश संकटमा छ, सबै खाले आग्रह र पूर्वाग्रहबाट मुक्त भएर एकताको यो महाअभियानमा जुटौँ ।
पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सबै कम्युनिस्ट घटकहरूलाई एकताका लागि आह्वान गरेका छन् । देश गम्भीर संकटमा परेको भन्दै उनले आग्रह–पूर्वाग्रह छाडेर बृहत् कम्युनिस्ट एकता गर्नुपर्नेमा जोड दिएका हुन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार आयोजित पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले कम्युनिस्ट एकताको विकल्प नभएको बताएका हुन् । ‘म यहीँबाट कमरेड केपी ओली, मोहनविक्रम सिंह, मोहन वैद्यलगायत विगतमा सहकार्य गरेका सबै कमरेडहरूलाई आह्वान गर्न चाहन्छु– देश संकटमा छ, सबै खाले आग्रह र पूर्वाग्रहबाट मुक्त भएर एकताको यो महाअभियानमा जुटौँ,’ उनले भने ।
देशमा सुशासन र समाजवादको आधार तयार पार्ने गोल्डेन अवसर प्राप्त भए पनि त्यसलाई जोगाउन नसकिएको प्रचण्डले बताए । विगतको एकता असफल भए पनि त्यसबाट पाठ सिकेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । देश र जनताको हितका लागि पुनः एकता र ध्रुवीकरणको पहल थालिएको उनको भनाइ छ । ‘विगतमा थुप्रै सानाठुला कम्युनिस्ट घटकहरूलाई एकताबद्ध गर्ने पहल गरेका थियौँ, त्यसैको नयाँ कडिको रूपमा आज यो एकता घोषणा भइराखेको छ । यो अन्तिम होइन, हामीले अरू थुप्रैलाई पनि एकताबद्ध गर्न बाँकी छ,’ प्रचण्डले भने । प्रदेशबाट पुनः सहकार्यको सुरुवात भएको पनि उनले बताए ।
प्रचण्डले शान्ति प्रक्रियामा आएदेखि नै कम्युनिस्ट एकताका लागि पहलकदमी लिँदै आएको स्मरण गरे । संविधान जारी भएपछि आफूले नै एकताको प्रस्ताव लिएर ओलीकहाँ गएको उनले बताए । ‘सजिलैसँग एकता नहुने देखेपछि मैले तपाईँ नै प्रधानमन्त्री बन्नोस् भनेको थिएँ । त्यसपछि तत्काल चुनावी कार्यगत एकता र निर्वाचनलगत्तै पार्टी एकता गर्ने सहमति भयो । निर्वाचनमा हामीले झन्डै दुई–तिहाइ मत पनि प्राप्त गर्यौँ,’ प्रचण्डले स्मरण गरे । सबै कम्युनिस्टहरूलाई एकताबद्ध गर्ने जिम्मेवारी आफूहरूकै भएको उनले बताए ।
कार्यक्रममा सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट घटकबिच एकताको आवश्यकता औल्याउँदै एमालेमा असन्तुष्ट नेता तथा कार्यकर्तालाई एकता प्रक्रियामा आउन आग्रह गरे । उनले भने, ‘उमा भुजेलले धेरै कुरा भनिसक्नुभएको छ । विप्लवदेखि अरू पूर्वमाओवादीका घटकका मान्छेलाई तान्ने हिसाबले त राम्रै भन्नुभयो । तर, एमालेले कब्जा गरेको मान्छेलाई तान्नेबारेमा लास्टमा एक शब्द जोड्नुभयो । सम्भवतः मैले पनि बोलिहाल्नुहुन्छ भन्ने ठानेर होला । एमालेमा विभिन्न हिसाबले उकुसमुकुसका साथ बसिरहेकालाई पनि के शब्द प्रयोग गर्ने ? विद्रोह गरेर आउन भन्ने कि सिंगै पार्टी लिएर आउन भन्ने ?’ नेपालले भने ।
नेपालले विप्लव, मोहनविक्रम सिंह, मोहन वैद्यलगायतका घटकलाई एकता प्रक्रियामा आउन आग्रह गरे । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई समाजवादी आन्दोलनमा सहकार्य गर्न प्रस्ताव गरे । उनले विगतमा समाजवादी मोर्चामार्फत देशव्यापी अभियान सञ्चालन गरेको पनि स्मरण गरे ।
भुजेलले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउँदै ठुलो र राम्रो कम्युनिस्ट पार्टी बनाउनुपर्नेमा जोड दिइन् । १५ वर्ष फरक रूपमा अघि बढेको स्मरण गर्दै उनले विभाजित भएर आन्दोलन हाँक्न नसकिने औँल्याइन् । ‘फरक–फरक हिँडेर अब आन्दोलन सम्भव छैन । सबैलाई सबैको आवश्यकता छ । मिलेर अगाडि बढ्नुको विकल्प छैन । त्यसैले कमरेड प्रचण्ड र माधव नेपालको नेतृत्वमा एकताबद्ध भएका छौँ ।’ उनले भनिन् ।
नेपाली कम्युनिस्ट पार्टीमा उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी समाहित भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार पार्टी एकता घोषणा सभा गर्दै १० बुँदे सहमतिसहित भुजेल नेतृत्वको पार्टी नेकपामा समाहित भएको हो ।
सहमतिमा पार्टीको तात्कालिक कार्यनीतिमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र रूपान्तरण गर्दै समाजवादको आधार तयार गर्ने उल्लेख छ ।