- ताइवानकी विपक्षी दलकी नेतृको भ्रमणमार्फत बेइजिङले ताइवानमा कायम स्थिरताबारे फरक भाष्य सिर्जना गर्न खोजेको छ
ताइवानको प्रमुख विपक्षी दल कुओमिन्ताङ (केएमटी) की अध्यक्ष चेङ ली वन भ्रमणका क्रममा अहिले चीनमा छिन् । भ्रमणका क्रममा चेङ र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच शुक्रबार भेटवार्ता भयो । चीनमा दशकौँ शासन गरेको केएमटीले सन् १९४९ मा माओ नेतृत्वको कम्युनिस्ट पार्टीसँगको गृहयुद्धमा हार भोगेपछि ताइवानमा अलग सरकार गठन गरेको थियो ।
विगतमा चिनियाँ कम्युनिस्ट पार्टी (सिसिपी) को कट्टर विरोधी रहेको केएमटी अहिले ताइपेई र बेइजिङबिच मित्रवत् सम्बन्धको पक्षपाती बनेको छ । विरोधी कित्तामा छ, ताइवानको सत्तारुढ दल ‘डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डिपिपी) । डिपिपीले अमेरिकासँग मिलेर ताइवानलाई स्वतन्त्र बनाउने लक्ष्य राखेको छ । यसअघि चेङको यात्रा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमणपछि हुने तालिका थियो । तर, इरान युद्धका कारण ट्रम्पको भ्रमण एक महिना पर धकेलिएपछि चेङको भ्रमण भएको हो ।
बेइजिङले चेङको भ्रमण र सी–चेङबिचको भेटवार्तालाई ताइवानसम्बन्धी ट्रम्पका धारणालाई प्रभाव पार्न प्रयोग गर्न सक्छ । खासमा बेइजिङ अहिले ताइवानवरपर ‘शान्ति र स्थिरता’को कारण परिभाषित गर्ने प्रतिस्पर्धामा छ । विश्वका कैयौँ भागमा युद्ध मच्चिँदा पनि ताइवानवरपरको भाग अहिलेसम्म स्थिर नै छ ।
वासिंटन र ताइवानको सत्तारुढ दल डिपिपीले अहिलेको स्थिरता बेइजिङविरुद्ध अमेरिकी सैन्य प्रतिरोध र ताइवानको बढ्दो सैन्य क्षमताको प्रतिफल भएको औँल्याएका छन् । यसै भाष्यअनुसार ट्रम्पले ताइवानका लागि हालसम्मकै ठुलो अमेरिकी हतियार बिक्री प्याकेजमा हस्ताक्षर गरेका छन् । अर्को अझ ठुलो प्याकेज विचाराधीन रहेको बताइन्छ । ताइवानको ४० अर्ब डलरको विशेष रक्षा बजेटको पनि त्यहाँको संसद्मा समीक्षा भइरहेको छ ।
बेइजिङले चेङलाई निमन्त्रणा गर्नुको उद्देश्य ताइवानवरपर कायम शान्ति र स्थिरताबारे अमेरिका–डिपिपीले दिएभन्दा फरक भाष्य दिनु हो । भ्रमणको निमन्त्रणामा चेङको भ्रमणको उद्देश्य ‘चिनियाँ कम्युनिस्ट पार्टी र कुओमिन्ताङबिच शान्तिपूर्ण सम्बन्ध विकास र दुई भेगको सम्बन्धलाई प्रवर्द्धन गर्ने’ भनिएको छ ।
बेइजिङले ताइवानवरपरको शान्ति र स्थिरताको कारण सैन्य बल नभई बेइजिङ–ताइपेईबिचको आन्तरिक राजनीतिक सम्बन्ध हुनेमा जोड दिँदै आएको छ । अर्थात्, बेइजिङको दाबीअनुसार यस भेगको शान्ति वासिंटन या ताइवानको सैन्य क्षमताले कायम गरेको होइन ।
सी–चेङबिचको भेटवार्ताले ताइवानमा कायम शान्ति र स्थिरतामा कसको दाबी हुने भन्नेबारे ताइवानभित्रको राजनीतिक प्रतिस्पर्धालाई आकार दिन सक्छ । वर्षौंदेखि डिपिपी र अमेरिकाले एक सरल सूत्रलाई प्रवर्द्धन गर्दै आएका छन्, थप हतियार खरिद, बलियो सैन्य तयारी र गहिरो अमेरिका–ताइवान सम्बन्धले मात्र त्यस भेगमा स्थिरताको ग्यारेन्टी गरेको हो । चेङको यात्राले यसभन्दा भिन्न सूत्र प्रदान गरेको छ– संवाद पुनः सुरु गरेर ताइवानको स्वतन्त्रतातर्फको कदम रोक्दा पनि शान्ति कायम हुन्छ । भलै यो भाष्य सबै ताइवानीलाई मान्य नहोला, तर यसले हतियारमार्फत सबलता कायम भएको भाष्यको एकाधिकार तोड्छ ।
चेङले पनि यही धारणालाई दोहोर्याएकी छिन् । चीन प्रस्थान गर्नुअघि उनले दुई पक्षबिच युद्ध अपरिहार्य नभएको विश्व र ताइवानलाई देखाउन चाहेको बताएकी थिइन् । अर्थात्, बाह्य शक्तिमार्फत प्राप्त सैन्य प्रतिरोधभन्दा बेइजिङ र ताइपेईबिच साझा राजनीतिक आधारमा शान्ति र स्थिरता खोज्नुपर्ने उनको संकेत थियो । हतियार बिक्रीले ताइवानको प्रतिरक्षा क्षमता त बलियो बनाउला, तर त्यो राजनीतिक संयन्त्रबिचको सञ्चार विकल्प नभएको कुरा बेइजिङले पहिल्यैदेखि भन्दै आएको छ । बेइजिङले बदल्न चाहेको भाष्य यही हो ।
चिनियाँ सरकारी मिडिया र ताइवान मामिला हेर्ने चीनको कार्यालयले भ्रमणलाई केएमटी–चिनियाँ कम्युनिस्ट पार्टीबिचको सम्बन्ध तथा ताइवानको एक मुख्य राजनीतिक दलसँगको सम्बन्ध विस्तारसँग जोड्न खोजेको छ, अमेरिका–चीनबिचको प्रतिद्वन्द्विताको एक हिस्साका रूपमा होइन । अर्थात्, ट्रम्पको भ्रमणको मुखमा चीनले चेङलाई बोलाएर ताइवान मामिला कुनै बाह्य शक्तिले चासो दिनुपर्ने विषय नभई चिनियाँबिचको ‘आपसी पारिवारिक मामिला’ भएको देखाउन खोजेको छ ।
बेइजिङले यस तर्कमार्फत ट्रम्पलको हतियार बिक्री घट्ने वा अमेरिकाको ताइवान नीति बदलिने अपेक्षा गरेको छैन । बरु, उसको व्यावहारिक उद्देश्य डिपिपी र ताइवानका स्वतन्त्रता पक्षधरले सम्पूर्ण ताइवानको प्रतिनिधित्व गर्दैनन् भन्ने देखाउनु हो । अर्थात्, यस भ्रमणमार्फत बेइजिङले सो टापुमा अझै औपचारिक रूपमा स्वतन्त्रता घोषणाको विरोध गर्ने, वार्तामा संलग्न हुन चाहने र शान्तिपूर्ण सहअस्तित्वलाई समर्थन गर्ने महत्वपूर्ण राजनीतिक शक्ति बाँकी रहेको देखाएको छ । बेइजिङले यस विषयलाई अब नारामा मात्र सीमित नगरी वास्तविक रूपमा उmच्चस्तरीय अन्तर्त्रियामार्फत अघि बढाउनुपर्छ । त्यसो भयो भने ताइवानको शान्ति र स्थिरता सैन्य प्रतिरोधबाट प्राप्त भएको भन्ने वासिंटनको भाष्यको प्रभुत्व तोडिनेछ ।
(देङ चिनियाँ प्राज्ञ तथा लेखक हुन्)
फरेन पोलिसीबाट