बिहीबार १० बजेसम्मका प्रमुख १० खबर

बिहिबार, २६ चैत, २०८२
डिजिटल संस्करण

१३ दिनपछि थुनामुक्त भए ओली र लेखक

जेन–जी आन्दोलनमा दमनको आरोपमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक १३ दिनपछि थुनामुक्त भएका छन्। सर्वाेच्च अदालतको आदेशअनुसार उनीहरुलाई बिहीबार हाजिरी जमानीमा छाडिएको हो । 

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन कुमार भट्टराईका अनुसार स्वास्थ्य जाँचपछि दुवैलाई हाजिरी जमानीमा उपस्थित हुने सर्तमा रिहा गरिएको हो। 

पूर्वसभामुख महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

विद्युतीय चुरोट भेपमा लुकाएर सुन तस्करी गरेको प्रकरणमा अख्तियारले बिहीबार महराविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। उनीविरुद्ध सात करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ बिगो मागदाबी गरिएको छ।

महरा र उनका छोरा राहुल भन्ने रेशम महराले भन्सारका कर्मचारीलाई प्रभावमा पारी सुन तस्करी गर्ने गिरोहलाई सघाएको अख्तियारको दाबी छ।

वैशाख १५ देखि भर्ना र २१ गतेदेखि नियमित पठनपाठन गराउन मन्त्रालयको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी शैक्षिक सत्रको पठनपाठन वैशाख २१ देखि सञ्चालन गर्न विद्यालयहरूलाई निर्देशन दिएको छ।

मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार मन्त्रालयले शैक्षिक सत्र २०८३ को भर्ना अभियान १५ वैशाखबाट सुरु गर्न र नियमित पठनपाठन २१ वैशाखबाट सुरु गर्न संस्थागत र सामुदायिक विद्यालयहरूलाई निर्देशन दिएको हो।

संसद्का दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य

संघीय संसद्का दुवै सदनको चालू अधिवेशन चैत २७ गते शुक्रबार राति १२ बजेदेखि अन्त्य हुने भएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को अधिवेशन अन्त्य गरेका हुन्।

त्यसअघि शुक्रबार दिउँसो ३ बजे राष्ट्रपतिले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्नेछन्। सोही दिन प्रतिनिधिसभाको उपसभामुख चयनका लागि निर्वाचन हुनेछ।

उपसभामुखमा श्रम संस्कृतिकी रुवि कुमारीलाई रास्वपाको समर्थन

प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीले श्रम संस्कृति पार्टीलाई समर्थन गर्ने भएको छ। रास्वपाले श्रम संस्कृति पार्टीकी सांसद रुविकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको हो। 

ठाकुरको समर्थकमा रास्वपा सांसद अशोककुमार चौधरी रहनेछन्। उपसभामुखका लागि राप्रपाबाट सरस्वती लामाले पनि उम्मेदवारी दिएकी छिन्।

कञ्चनपुर कारागारमा तीन महिनामा तीन झडप, ३० कैदीबन्दी अन्यत्र सरुवा

तीन महिनाको अवधिमा कञ्चनपुर कारागारमा तीनपटक झडप भयो। कारागार व्यवस्थापन कार्यालयले तीनैपटक विवाद तथा तोडफोडमा संलग्नलाई कारबाही गरेको छ। गत ४ पुस, ८ चैत्र र २५ चैत्रमा तीनपटक कारागारमा झडप भएको थियो।

लागुऔषध मुद्दामा सफाइ पाएकै भोलिपल्ट एक कैदीबन्दीलाई कारागारको सिसिटिभी तोडफोडमा पुनः कारबाही गरिएको छ भने पटक-पटक गरेर ३० कैदीबन्दी अन्यन्त्र सरुवा गरिएको हो। कञ्चनपुर कारागार प्रमुख हेमन्ती साउदले तोडफोडमा एक पूर्वकैदीबन्दी पनि संलग्न रहेको र उनलाई प्रहरीको हिरासतमा राखेर अनुसन्धान भइरहेकाले परिचय खुलाउन नसकिने बताइन्।

श्रममन्त्री साह पदमुक्त

प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहलाई पदमुक्त गरेका छन्। प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सिफारिसमा बिहीबार साहलाई मन्त्री पदबाट हटाउने निर्णय गरेका हुन्।

रास्वपा सभापति रवि लामिछानेले बिहीबार श्रममन्त्री साहले मन्त्री पदमा बहाल रहँदा पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा नियमित कार्यमा संलग्न गराएको भन्दै कारबाहीका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए।

केपी ओलीले भने– सरकारले १३ दिन गैरकानुनी नियन्त्रणमा राख्यो, प्रमाण नपुगेपछि म रिहा भएँ

नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूलाई सरकारले पूर्वाग्रह र प्रतिशोधका आधारमा पक्राउ गरेको आरोप लगाउँदै पर्याप्त प्रमाण अभावका कारण अन्ततः रिहा भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत उनले १३ दिनसम्म गैरकानुनी रूपमा नियन्त्रणमा राखिएको उल्लेख गर्दै सरकारले फौजदारी मुद्दा चलाउन आवश्यक आधार जुटाउन नसकेको बताएका हुन्। उनले आफ्नो रिहाइका लागि आवाज उठाउने नागरिक, कानुन व्यवसायी, विभिन्न राजनीतिक दलका नेता तथा सञ्चारकर्मीहरूप्रति आभार व्यक्त गरेका छन्। साथै, परमादेश जारी गर्ने सर्वोच्च अदालतप्रति पनि उनले सम्मान प्रकट गरेका छन्।

सुनको मूल्य चार हजार तीन सय रुपैयाँले घट्यो

स्थानीय बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा चार हजार तीन सय रुपैयाँले घटेर दुई लाख ९४ हजार सात सय रुपैयाँमा झरेको हो।

अघिल्लो दिन भने सुनको मूल्य सात हजार दुई सय रुपैयाँले बढ्दै दुई लाख ९९ हजार रुपैयाँ पुगेको थियो।

नेप्से ४८ अंकले बढ्यो, आठ कम्पनीमा सकारात्मक सर्किट

बिहीबार नेप्से परिसूचक ४८.७१ अंकले बढेर दुई हजार ८५१.२४ विन्दुमा कायम भएको छ। बुधबार १.६३ प्रतिशत (४५ अंक)ले उकालो लागेको नेप्से आज १.७३ प्रतिशतले वृद्धि भएको हो।

आज ३३८ कम्पनीका दुई करोड ७९ लाख ३१ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा नौ अर्ब ९१ करोड ९२ लाख १० हजार रुपैयाँबराबरको कारोबार भएको छ। अघिल्लो दिन आठ अर्ब १५ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको थियो।

सुझावित समाचार