राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कोशी प्रदेश कार्यसमिति प्रवक्ता विजयकुमार राउतले पार्टीको पछिल्लो निर्णय र कार्यदिशाप्रति असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएका छन्। प्रवक्ता राउतले पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन्।
बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै राउतले पार्टी आफ्ना मौलिक एजेन्डाहरू-संवैधानिक राजसंस्था, हिन्दु अधिराज्य र सुशासनबाट विमुख हुँदै गएको आरोप लगाएका छन्। राउतले विशेष गरी उपसभामुख पदमा उम्मेदवारी दिने पार्टीको निर्णयप्रति गम्भीर आपत्ति जनाएका छन्।
उनले विज्ञप्तिमा पार्टीको पछिल्लो निर्णयले वैचारिक धरातल कमजोर बनाएको, उपसभामुखको उम्मेदवारीले राष्ट्रिय राजनीतिमा स्थिरता ल्याउनुको साटो थप अन्योल सिर्जना गर्ने र पार्टीको कार्यदिशा आधारभूत एजेन्डाहरूको विपरीत उन्मुख भएको अनुभूति भएको बताएका छन्।
आफ्नो राजीनामा घोषणा गर्दै राउतले पार्टीप्रतिको समर्पण रहँदा–रहँदै राष्ट्रहितलाई प्राथमिकता दिनु आफ्नो सिद्धान्त रहेको स्पष्ट पारेका छन्।