नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराज महर्जन तथा गोलरक्षक विकेश कुथूद्वारा सञ्चालित ट्वेल्व फुटबल ट्रेनिङ सेन्टरले समर फुटबल क्याम्प आयोजना गर्ने भएको छ ।
विद्यालयहरूको अन्तिम परीक्षा सकिएलगत्तै विद्यार्थीहरूको लामो बिदालाई लक्षित गर्दै उक्त क्याम्प आयोजना गर्न लागिएको हो । छुट्टीको समयमा विद्यार्थीहरू लामो समय फोन, ल्यापटप, टिभी जस्तै इलेक्ट्रोनिक उपकरण हेर्दै आफ्नो समय बिताउने गर्दै गरेको र त्यसले दीर्घकालीन रूपमा शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पर्ने हुँदा यस क्याम्पको मुख्य योजना विद्यार्थीहरूलाई ग्याजेटबाट केही समय भए पनि टाढा राख्नु हो ।
विद्यार्थीको मानिसक र शारीरिक स्वास्थ्यका साथै नेपालको लोकप्रिय खेल फुटबलमा सानै उमेरदेखि आकर्षित पार्ने योजना पनि यस क्याम्पको रहेको छ । एसियाली फुटबल महासंघ (एएफसी) प्रमाणित प्रशिक्षकहरूबाट प्रशिक्षण दिइने हुँदा यस क्याम्पले विद्यार्थीको फुटबल कौशलता वृद्धिमा मद्दत पुर्याउने विश्वास छ ।
यस क्याम्पमा सहभागीमध्येबाट सम्भावना देखिएका दुई प्रशिक्षार्थीले एक वर्षका लागि ट्वेल्व फुटबल ट्रेनिङ सेन्टरमा छात्रवृत्ति पाउनेछन् । ६ महिनाअघि सञ्चालन भएको यस ट्रेनिङ सेन्टरले ग्रासरुट तहबाट नै एउटा खेलाडीलाई चाहिने प्रशिक्षण सुविधा उपलब्ध गराउँदै आएको छ । हरेक साता शनिबार नियमित प्रशिक्षण सञ्चालन हुँदै आएको छ ।
क्याम्प ०८२ साल चैत २८ गते शनिबारदेखि ०८३ साल वैशाख ५ गतेसम्म चल्नेछ । क्याम्प सातदोबाटोस्थित एन.एस.एफ स्पोर्टस् कम्प्लेक्समा बिहान ७ बजेदेखि ९ बजेसम्म हुनेछ । दर्ता शुल्क रु. पाँच हजार तोकिएको छ । यस क्याम्पमा विद्यार्थीको मनोरञ्जन, कौशलता विकास, खेलप्रति लगाव, प्रगतिशील प्रशिक्षणलाई मध्यनजर गरिनेछ ।