पोखरामा पहिलोपटक पोखरा फ्लेयर मास्टर च्याम्पियनसिप हुने भएको छ । नेपाली बारटेन्डरहरूको कलात्मकता र प्राविधिक दक्षतालाई उजागर गर्दै व्यावसायिक तालिमलाई विश्वव्यापी रोजगारीको बाटोका रूपमा स्थापित गर्न यो कार्यक्रम हुन लागेको हो । बुधबार पोखरामा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिइएको हो । कान्तिपुर होटेल ट्रेनिङ सेन्टरको आयोजना एवं कान्तिपुर टुरिजम एन्ड होटेल म्यानेजमेन्ट कलेजको सहकार्यमा २७ चैतमा प्रतिस्पर्धा हुन लागेको आयोजकले जनाएको छ ।
आयोजक सेन्टरका संस्थापक अध्यक्ष विजय पौडेलले संसारभरका होटेलमा चलिरहेको ट्रेन्डिङमा विभिन्न पेय पदार्थ र विशेष गरी कक्टेल मक्टेल मिलाई पाहुनालाई पस्कन सक्ने कलामा च्याम्पियनसिप हुन लागेको हो ।
बारटेन्डरहरूले दुईभन्दा बढी पेय पदार्थका बोत्तल घुमाएर, नचाएर ग्राहकलाई खुसी बनाउनेछन् । यो च्याम्पियनसिपमा प्रथम हुनेले ४० हजार नगदसँगै प्याराग्लाइडिङको टिकट, दोस्रोले २५ हजार, तेस्रोले १५ हजार तथा चौथोले पाँच हजार पाउनेछन् । उत्कृष्ट कक्टेलले पाँच हजार नगद र बन्जी जम्पको टिकट, उत्कृष्ट बोटल घुमाउने कलाले पाँच हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
विजेता सबै ६ जनाले ट्रफी, गिफ्टह्याम्पर, सम्मानपत्र र प्रमाणपत्रसमेत पाउने आयोजकले जनाएका छन् । अन्य सबै सहभागीहरूलाई मायाको चिनो र सहभागिताको प्रमाणपत्र दिइने पौडेलले जानकारी दिए । पौडेलका अनुसार बोतल घुमाएर नचाएर ग्राहकलाई खुसी बनाउने कलामा पोख्त बारटेन्डरहरूको विश्वबजारमा निकै माग छ । उनीहरूले मासिक कम्तीमा दुई लाख तलब पाउने उनको भनाइ छ ।
कार्यक्रम संयोजक निश्चल देवकोटाले सेतो बाघ भोड्काको प्रस्तुतिमा हुने च्याम्पियनसिपमा भाग लिन राष्ट्रियस्तरका ६७ जना बारमेनहरूले नाम दर्ता गरेकोको बताए । पहिलो र दोस्रो चरणको छनौट पछि अन्तिम प्रतिस्पर्धाका लागि ३७ जना छनोट गरिएको जानकारी दिए ।