पोखरामा पहिलाेपटक फ्लेयर मास्टर च्यम्पियनसिप हुँदै

बुधबार, २५ चैत, २०८२
डिजिटल संस्करण

नेपाली बारटेन्डरहरुको कलात्मकता र प्राविधिक दक्षतालाई उजागर गर्दै व्यावसायिक तालिमलाई विश्वव्यापी रोजगारीको बाटोको रुपमा स्थापित गर्ने उद्देश्यसहित पोखरामा पहिलोपटक पोखरा फ्लेयर मास्टर च्यम्पियनसिप हुने भएको छ।

कान्तिपुर होटल ट्रेनिङ सेन्टरको आयोजना एवं कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजको सहकार्यमा २७ चैतमा प्रतिस्पर्धा हुन लागेको आयोजकले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन्।

आयोजक सेन्टरका संस्थापक अध्यक्ष विजय पौडेलका अनुसार संसारभरका होटलहरुमा चलिरहेको टे«न्डिङमा विभिन्न पेय पदार्थ र विशेष गरी कक्टेल मक्टेललाई ठेट स्वाद अर्थात तितोपन, अमिलोपन र गुलियोपनको ठिक–ठिक मात्रा मिलाई पाहुनालाई पस्कन सक्ने कलामा च्याम्पियनसिप हुन लागेको हो।

बारटेन्डरहरुले दुईभन्दा बढी पेय पदार्थका बोत्तलहरु घुमाएर नचाएर ग्राहकलाई खुशी बनाउने कलामा हुन लागेको च्याम्पियनसिपमा प्रथम हुनेले ४० हजार नगदसँगै प्याराग्लाइडिङको टिकट, दोस्रोले २५ हजार, तेस्रोले १५ हजार तथा चौथोले पाँच हजार पाउने छन्। उत्कृष्ट कक्टेलले पाँच हजार नगद र वन्जी जम्पको टिकट, उत्कृष्ट बोटल घुमाउने कलाले पाँच हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

विजेता सवै ६ जनाले ट्रफी, गिफ्टह्याम्पर, सम्मानपत्र र प्रमाणपत्र समेत पाउने आयोजकले जनाएका छन्। अन्य सबै सहभागीहरुलाई मायाको चिनो र सहभागीताको प्रमाणपत्र दिइने पौडेलले जानकारी दिए। पौडेलका अनुसार बोत्तल घुमाएर नचाएर ग्राहकलाई खुशी बनाउने कलामा पोख्त बारटेन्डरहरुको विश्व बजारमा निकै माग छ। उनीहरुले मासिक कम्तिमा दुई लाख तलव पाउने उनको भनाइ छ।

कार्यक्रम संयोजक निश्चल देवकोटाले सेतो बाघ भोड्काको प्रस्तुतीमा हुने च्याम्पियनसिपमा भाग लिन राष्ट्रिय स्तरका ६७ जना बारमेनहरुले नाम दर्ता गरेकोमा पहिलो र दोस्रो चरणको छनौट पछि अन्तिम प्रतिस्पर्धाका लागि ३७ जना छनौट गरिएको जानकारी दिए। चार चरणमा हुने प्रतिस्पर्धा विहान ७ बजेदेखि बेलुका ९ बजेसम्म चल्नेछ।

सुझावित समाचार