बागमती प्रदेश सरकारले आगामी वर्ष ०८३ सालमा चार दिन थप सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारले ०८३ सालका लागि प्रदेशस्तरमा लागू हुने थप सार्वजनिक बिदा घोषणा गरेको हो ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को ०८२ चैत २२ गतेको निर्णयअनुसार ०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्मका लागि नेपाल सरकारले घोषणा गरेको बिदाबाहेक प्रदेशस्तरमा थप सार्वजनिक बिदा निर्धारण गरेको जनाएको छ ।
मंगलबार प्रदेश राजपत्रमा प्रकाशित सूचनाअनुसार बागमती प्रदेशभर लागू हुने गरी दुई दिन र धर्म, संस्कृति तथा समुदाय विशेषका लागि पनि दुई दिन सार्वजनिक बिदा तोकिएको छ ।
जसअनुसार प्रदेश सरकारको सरकारी कामकाजको भाषासम्बन्धी दिवस वैशाख २४ गते बिहीबार र गाईजात्रा भदौ १३ गते शनिबार सार्वजनिक बिदा हुने जनाइएको छ । यसैगरी प्रदेशभित्र बसोबास गर्ने चेपाङ समुदायले मनाउने न्वागी (छोनाम) पर्वमा भदौ २२ गते सोमबार बिदा हुनेछ । यो बिदा बागमती प्रदेशका चितवन, मकवानपुर र धादिङ जिल्लामा लागू हुने मन्त्रालयले जनाएको छ ।
यस्तै माझी समुदायको ‘लदी पर्व’ फागुन १८ गते मंगलबार सार्वजनिक बिदा हुनेछ । प्रत्येक वर्ष फागुन महिनाको तेस्रो मंगलबार पर्ने यो बिदा बागमती प्रदेशभरका माझी समुदायका लागि मात्र लागू हुने मन्त्रालयले जनाएको छ ।