करोडौँको लगानीमा निर्माणाधीन तेक्वान्दो रंगशाला अलपत्र

बुधबार, २५ चैत, २०८२
डिजिटल संस्करण

जिल्लाको खाँडादेवी गाउँपालिका– ७, गाल्पामा निर्माणाधीन राष्ट्रियस्तरको तेक्वान्दो रंगशालाको निर्माणकार्य अलपत्र अवस्थामा छाडिएको छ ।

खाँडादेवी गाउँपालिकाको गाल्पाबजारनजिक केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तहको संयुक्त लगानीमा एक करोड ११ लाख रुपैयाँ खर्चेर एकेडेमी भवन निर्माण गरिएको छ । भवनमा चेन्जिङ रुम, बाथरुम, कार्यालय कक्ष तथा इन्डोर खेलका लागि हलको व्यवस्था गरिएको छ । राष्ट्रिय तेक्वान्दो आइटिएफ एकेडेमीसहित निर्माण गर्न लागिएको उक्त परियोजना अधुरै रोकिँदा करोडौँ रुपैयाँको सरकारी लगानी जोखिममा परेको हो ।

हाल भवन निर्माण भएको स्थानमा जिल्लाको पश्चिमी भूभागका खाँडादेवी, दोरम्बा शैलुङ र सुनापाती गरी तीन गाउँपालिकाले संयुक्त रूपमा प्रदेश तथा केन्द्र सरकारसमक्ष गाल्पामा राष्ट्रिय एकेडेमी निर्माणका लागि प्रस्ताव पेस गरेका थिए । सरकारले तीन गाउँपालिकाले पेस गरेको प्रस्तावअनुसार भवन निर्माणका लागि आवश्यक बजेट प्रदान गरेपछि उक्त स्थानमा भवन निर्माण गरिएको थियो ।

खाँडादेवी गाउँपालिकाले रंगशाला निर्माणका लागि प्रदान गरेको जमिनमा हाल एउटा भवन निर्माण भएको छ । यसबाहेक अन्य भवन बनाउन बाँकी रहेको छ । भवन बनाउन लाखौँ मूल्य खर्चेर जमिन सम्याएर राखेको भए तापनि उक्त जमिन हाल त्यत्तिकै रहेको छ । रंगशाला निर्माणका लागि जग्गा सम्याउने काम मात्रै भयो । रंगशालाका लागि आवश्यक पर्ने सबै पूर्वाधार निर्माण नहुँदा अहिले निर्माण भएको भवन पनि बेवारिसे अवस्थामा पुगेको खाँडादेवी गाउँपालिका– ६, माकादुमका श्याम कार्कीले जानकारी दिए ।

हाल निर्माण भएको एकेडेमी भवनमा घेराबार नहुँदा उक्त भवन असुरक्षित बन्दै गएको छ । सामुदायिक जंगलको बिचमा निर्माण भएको उक्त भवन त्यत्तिकै बेवारिसे अवस्थामा छाडिएको छ । राज्यले करोडौँ रुपैयाँ लगानी लगाएर निर्माण गरेको उक्त भवनको संरक्षण नहुँदा राज्यको लगानी त्यत्तिकै स्वाहा हुने चिन्ता स्थानीयहरूको रहेको छ । अर्कोतर्फ भएको भवन प्रयोग नहुँदा भवन त्यत्तिकै थोत्रिँदै गएको छ । रंगशालाको काम सबै सकेर उक्त भवन प्रयोगमा ल्याउन सके जिल्लाका आमखेलप्रेमीहरूले खेल खेल्न सहजता हुने भएकाले भवनको काम चाँडै पूरा गर्न सक्न सरोकार निकायसँग स्थानीयहरूले माग गरेका छन् ।

सुझावित समाचार