विकासशीलमा स्तरोन्नतिपछि तयारी पोसाकको निर्यात १३% सम्म घट्न सक्ने

बुधबार, २५ चैत, २०८२
डिजिटल संस्करण

अतिकम विकसित मुलुकबाट विकासशीलमा स्तरोन्नति भएपछि नेपालले भन्सार छुटको सुविधा गुमाउँदा निर्यातमा ह्रास आउन सक्ने देखिएको छ । अतिकम विकसित मुलुकले पाउँदै आएको भन्सार छुट तथा कोटारहित बजार पहुँचको सुविधा कटौती हुने भएपछि निर्यातमा उल्लेखीय रूपमा गिरावट आउन सक्ने विज्ञहरूले औँल्याएका हुन् । उनीहरूले विकासशीलमा स्तरोन्नति हुँदै गर्दा सम्भावित चुनौतीको समाना गर्ने तयारी गर्नसमेत सरकारलाई सुझाएका छन् । 

नेपाल तयार पोसाक उद्योग संघ (गान)ले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमका वक्ताहरूले यस्तो बताएका हुन् । ‘विकासशीलमा स्तरोन्नतिपछि तयारी पोसाकको निर्यात प्रवर्द्धनमा चुनौती, अवसर तथा अवलम्बन गर्नुपर्ने कार्यहरू’ विषयक अन्तर्क्रियामा विज्ञ तथा उद्योगीहरूले नेपालले सम्भावित चुनौतीको सामना र अवसरको सदुपयोगका लागि तयारी गर्नुपर्ने बताए । 

कार्यक्रममा साउथ एसिया वाच अन ट्रेड एन्ड इकोनोमिक्स एन्ड इन्भारोन्मेन्ट (सावती)का कार्यकारी निर्देशक डा. पारस खरेलले विकासशीलमा स्तरोन्नतिपछि तयारी पोसाकको निर्यात १३ प्रतिशतसम्म घट्न सक्ने बताए । उनले चुनौती सामनाका लागि व्यापारको लागत घटाउने, प्रोत्साहन दिने, सहजीकरण गरिदिने तथा दुईपक्षीय व्यापार सम्झौता गर्नेलगयायत विषयमा सरकारले ध्यान दिनुपर्ने बताए । 

संघका अध्यक्ष पशुपतिदेव पाण्डेले नेपालको तयारी पोसाक उद्योगको संख्या एक हजार दुई सयबाट घटेर एक सय हाराहारीमा आइपुगेको सुनाए । उत्पादन तथा निर्यात वृद्धिका लागि सरकारको प्रोत्साहन तथा सहजीकरण आवश्यक रहेको उनले बताए । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले प्रधानमन्त्री र अर्थमन्त्रीको विकासशीलमा स्तरोन्नतिको विषयमा विशेष चासो रहेको बताए । यसका अवसर र चुनौतीका विषयमा छलफल गरेर सरकारले निर्णय लिने उनले बताए । ‘अहिले पौने तीन खर्ब हाराहारीको निर्यात भइरहेको छ, विकासशीलमा स्तरोन्नति हुँदा कति परिमाणका कुन–कुन वस्तुको निर्यात प्रभािवत हुन सक्छ, त्यसमा अध्ययन आवश्यक छ,’ उनले भने ।’

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रले विकासशीलमा स्तरोन्नतिलाई कम्तीमा तनि वर्ष पर सानुपर्ने माग राख्दै आएको बताए । ‘हामीले निकै पहिलादेखि स्तरोन्नतिको म्याद सार्न भन्दै आएका छौँ, वर्तमान सरकारले गृहकार्य गरिरहेको बताएको छ,’ उनले भने । सरकारले निर्यातमा दिँदै आएको नगद अनुदानलाई निरन्तरता दिनुपर्ने तथा यस्तो अनुदान आयात प्रतिस्थापन गर्ने उद्योगलाई समेत दिनुपर्ने उनले बताए । 

कार्यक्रममा सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका अध्यक्ष चण्डिराज ढकालले उत्पादन वृद्धि तथा निर्यात प्रवर्द्धनमा जोड दिनुपर्ने बताए । महासंघका उपाध्यक्ष हेमराज ढकालले निर्यातमा दिँदै आएको नगद प्रोत्साहन रोकिएको भन्दै त्यसलाई पुनः निरन्तरता दिनुपर्ने बताए ।

सुझावित समाचार