लुम्बिनी प्रदेशको आयोजनामा मुख्यमन्त्री कप प्रदेशस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता बुधबारदेखि दाङमा हुँदै छ । प्रदेश खेलकुद परिषद् लुम्बिनीले प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ ।
परिषद्का सदस्यसचिव तिरनदाज गौतमले खेल मैदान, व्यवस्थापन, आवास तथा अन्य प्राविधिक तयारी पूरा भएको बताए । प्रत्येक जिल्लाबाट महिला र पुरुष टोली सहभागी हुनेछन् ।
प्रत्येक टोलीमा १० जना खेलाडी र एकजना प्रशिक्षक रहने व्यवस्था गरिएको छ । विजेताले एक लाख र उपविजेताले ६५ हजार रुपैयाँ पाउनेछन् । तेस्रो हुने टोलीले ३५ हजार र चौथो स्थानमा रहने टोलीले १५ हजार रुपैयाँ पाउनेछन् । उत्कृष्ट खेलाडीलाई १० हजार तथा उत्कृष्ट पाँच विधाका खेलाडीलाई जनही पाँच हजार रुपैयाँ प्रदान गरिनेछ ।