‘वर्क फ्रम होम’का लागि सरकारको आह्वान
सरकारले घरबाटै काम गर्न सबैलाई आह्वान गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ‘वर्क फ्रम होम’का लागि आह्वान गर्ने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिइन्।
दीर्घकालीन रूपमा विद्युतीय गाडी (इभी) रूपान्तरणको कानुनी व्यवस्था अघि बढेको जानकारी दिँदै मन्त्री रावलले इभी पूर्वाधार विस्तारका लागि पनि सरकार प्रतिबद्ध रहेको बताइन्।
पेट्रोलियम पदार्थ आयातमा ५० प्रतिशत भन्सार कर छुट दिने सरकारको निर्णय
सरकारले पेट्रोलियम पदार्थको आयातमा लाग्दै आएको भन्सार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोल, डिजेल तथा मट्टीतेलको पैठारीमा लागू हुने भन्सार महसुल र पूर्वाधार विकास महसुल दुवैमा आधा कटौती गर्ने निर्णय गरेको हो।
योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट, डेपुटी गभर्नरमा पण्डित नियुक्त
सरकारले मुलुकको आर्थिक प्रशासन र योजना निर्माणका दुई महत्त्वपूर्ण निकायमा नयाँ नियुक्ति गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट र नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गर्ने निर्णय गरेको हो।
सदनमा भूमिको समस्यालाई १ नम्बरमा राखेर कानुन सुधार गरौँ : गणेश कार्की
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीले भूमिको समस्यालाई १ नम्बरमा राखेर कानुन सुधार गर्न सदनसमक्ष आग्रह गरेका छन्।
मंगलबारको प्रतिनिधिसभा बैठकमा मोरङ निर्वाचन क्षेत्र नं. ३ का समस्याहरू राख्दै सांसद कार्कीले पुस्तौँसम्म नागरिकले जग्गाधनी पुर्जा नपाएकाले यसलाई प्राथमिकतामा राख्नुपर्ने बताए। ‘देशमा धेरै समस्या छन्। करिब–करिब ती सबै समस्या मोरङ ३ मा छन्। मात्रा र अनुहार फरक होलान्,’ उनले भने, ‘तर, ती सबैभन्दा माथि, सबैभन्दा पुरानो र सबैभन्दा गेजु भएको समस्या छ, भूमिको समस्या।’
आयल निगमका कार्यकारी प्रमुखको पिएलाई मापदण्डविपरीत सरुवा
नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले दरबन्दी मिचेर आफ्नै स्वकीय सचिव (पिए) खेमराज काफ्लेको सरुवा गरेका छन्। तर, अन्य कर्मचारीको हकमा भने दरबन्दीअनुसार सरुवामा कडाई गरेर ६ महिनाअघि मात्रै सरुवा भएका कर्मचारीलाई पनि फिर्ता बोलाएका छन्।
रोपाइँअघि मल–बिउ सुनिश्चित गर्न सांसद खुश्बु ओलीको आग्रह
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्बु ओलीले किसानका लागि मल र बिउको सुनिश्चित आपूर्ति गर्न सरकारसँग माग गरेकी छिन्। संसद्को शून्य समयमा बोल्दै उनले रोपाइँको समय नजिकिँदै गर्दा सम्भावित अभावले कृषि उत्पादनमा गम्भीर असर पार्न सक्ने चेतावनी दिइन्।
सरकारी विज्ञापनसम्बन्धी रिटमा कारण देखाऊ आदेश जारी
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्रै प्रकाशन/प्रसारण गर्न सरकारको परिपत्रविरुद्ध सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। मंगलबार न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले १५ दिनको समय तोकेर सरकारको नाममा कारण देखाउ आदेश दिएको हो।
ललितपुरमा भएको दुर्घटनामा सशस्त्र प्रहरीका पूर्वएसपीसहित दुईजनाको मृत्यु
ललितपुरमा मंगलबार भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। दिउँसो १ बजेको समयमा थसिखेल चोकमा भएको दुर्घटनामा ६४ वर्षीय विदुर गुरुङ र उनकी ८४ वर्षीय आमा धनमान गुरुङको मृत्यु भएको हो।
सरकारी जग्गा मिचेर बनाएको घर हटाउन नगरपालिकालाई पत्राचार
सरकारी स्वामित्वको जग्गामा व्यक्तिको घर नक्सा पास गरिदिएर भएको गम्भीर लापरबाही सच्याउन कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सप्तरी ले सक्रियता देखाएको छ। राजविराजको मुख्य बजारमै रहेको झन्डै तीन कट्ठा सरकारी जग्गा अतिक्रमण गरी बनाइएको संरचना तत्काल हटाउन नगरपालिकालाई औपचारिक पत्राचार गरिएको छ।
गृहमन्त्री गुरुङले गरे क्षतिग्रस्त बिपी राजमार्गको निरीक्षण
गृहमन्त्री सुधन गुरुङले बाढीले क्षतिग्रस्त बिपी राजमार्गको स्थलगत निरीक्षण गरेका छन्। गृहमन्त्री गुरुङ बाढीका कारण स्थानीयले भोग्दै आएको समस्याबारे प्रत्यक्ष अवलोकनका लागि मंगलबार दिउँसो पुगेका हुन्।
तीन वर्षदेखि बर्सेनि आउने बाढीले बिपी राजमार्गको रोशी खोलाआसपासमा विभिन्न क्षेत्रमा समस्या बढ्दै गएको गुनासो आउने गरेको छ। नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको संगमस्थलमा पर्ने चौकीडाँडा पुगेर गृहमन्त्री गुरुङले अवलोकन गरेका हुन्।
निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले बाढीबाट प्रभावित क्षेत्रहरूको अवस्था बुझ्नुका साथै उच्च जोखिममा रहेका बस्ती तथा पूर्वाधारको वास्तविक स्थितिबारे जानकारी लिए। सो क्रममा गुरुङलाई नमोबुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामा, रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा र उपाध्यक्ष मिमबहादुर वाइवालगायतले स्वागत गरेका थिए।