योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट, डेपुटी गभर्नरमा पण्डित नियुक्त

मंगलबार, २४ चैत, २०८२
डिजिटल संस्करण

सरकारले मुलुकको आर्थिक प्रशासन र योजना निर्माणका दुई महत्त्वपूर्ण निकायमा नयाँ नियुक्ति गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट र नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले अर्थशास्त्री डा. गुणाकर भट्टलाई योजना आयोगको कमान सम्हाल्ने जिम्मेवारी दिएको छ। यसअघि नेपाल राष्ट्र बैंकको गभर्नर पदका लागि समेत चर्चामा रहेका भट्टलाई सरकारले विकास योजना तर्जुमाको महत्त्वपूर्ण निकायमा ल्याएको हो। गभर्नरको दौडमा रहँदा उनलाई प्राडा विश्वनाथ पौडेलसँगै बलियो उम्मेदवारका रूपमा हेरिएको थियो।

त्यसैगरी, नेपाल राष्ट्र बैंकको रिक्त दुई डेपुटी गभर्नर पदमध्ये एक पदमा किरण पण्डित नियुक्त भएका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रस्तावमा उनलाई सो पदमा नियुक्त गरिएको हो। पण्डित हाल राष्ट्र बैंकको विदेशी मुद्रा व्यवस्थापन विभागमा कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए।

अर्थमन्त्री वाग्लेले नियुक्तिमा ‘कार्यसम्पादन र उच्च योग्यता’लाई मुख्य आधार बनाइने दाबी गर्दै आएका थिए।

सुझावित समाचार