राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्बु ओलीले किसानका लागि मल र बिउको सुनिश्चित आपूर्ति गर्न सरकारसँग माग गरेकी छिन्। संसद्को शून्य समयमा बोल्दै उनले रोपाइँको समय नजिकिँदै गर्दा सम्भावित अभावले कृषि उत्पादनमा गम्भीर असर पार्न सक्ने चेतावनी दिइन्।
ओलीले खाडी क्षेत्रमा उत्पन्न तनावको प्रभाव नेपालसम्म देखिन सक्ने भन्दै समयमै तयारी गर्न सरकारलाई सचेत गराइन्। रोपाइँको मुखमा मल अभाव भएमा किसानहरू पीडित हुने, उत्पादन घट्ने, खाद्य सुरक्षामा जोखिम बढ्ने र समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्ने उनले बताइन्।
उनले सरकारसँग वैकल्पिक आपूर्ति स्रोत खोज्ने, आपूर्ति विविधिकरण गर्ने तथा मलको सप्लाइ चेनलाई प्रभावकारी बनाउने रणनीतिबारे स्पष्ट धारणा माग गरिन्। साथै, रणनीतिक भण्डारण बढाउने काम तुरुन्त सुरु गर्नुपर्नेमा जोड दिइन्।
सांसद ओलीले हाल देशमा उपलब्ध मलको मौज्दातको अवस्थाबारे जानकारी दिनसमेत माग गरेकी छिन्।