बंगलादेशले देशको सबैभन्दा घातक रोगको लहरमा १०० भन्दा बढी व्यक्तिको शंकास्पद मृत्युपछि आपत्कालीन खोप अभियान सुरु गरेको छ । मृत्यु हुनेमा अधिकांश बालबालिका छन् ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार आइतबार सुरु भएको यो अभियान सात हजार ५०० भन्दा बढी दादुराका शंकास्पद घटनापछि आएको छ । यीमध्ये ९०० भन्दा बढीमा दादुराका केस पुष्टि भएका छन् ।
स्थानीय सञ्चार माध्यमको रिपोर्टअनुसार दादुराका घटना सन् २०२५ भन्दा तीव्र रूपमा वृद्धि भएका छन् । बंगलादेशले लामो समयदेखि बालबालिकालाई अत्यधिक संक्रामक रोगविरुद्ध खोप लगाउँदै आएको छ, तर हालैको प्रकोपले कार्यक्रमको सफलतामा प्रश्नचिह्न खडा गरेको छ ।
‘खोप बालबालिकाका लागि आधारभूत पक्ष हो,’ बंगलादेशका लागि युनिसेफ प्रतिनिधि राणा फ्लावर्सले आइतबार एक विज्ञप्तिमा भनिन् । हालको दादुराको प्रकोपले हजारौँ बालबालिका, विशेषगरी सबैभन्दा साना बालबालिकालाई गम्भीर जोखिममा पारेको छ । १७ करोड जनसंख्या भएको बंगलादेशमा नौ महिनासम्मका बालबालिकालाई नियमित दादुरा खोप दिइन्छ । तर, स्वास्थ्य विभागका उपनिर्देशक सहरियार सज्जादका अनुसार हालैको प्रकोपमा संक्रमित भएकामध्ये लगभग एकतिहाइ नौ महिनामुनिका छन् ।
युनिसेफकी फ्लावर्सले भनिन्, ‘नियमित खोपका लागि अझै योग्य नभएका यी साना शिशुको संक्रमण चिन्ताजनक छ ।’ नियमित खोपका अतिरिक्त बंगलादेशले प्रत्येक चार वर्षमा विशेष दादुरा खोप अभियान सञ्चालन गर्छ । तर, यी अभियान योजनाअनुसार चलेका छैनन् । २०२० पछि कुनै विशेष दादुरा खोप अभियान सञ्चालनमा आएका छैनन् । पहिले कोभिडका कारण र त्यसपछि ‘राजनीतिक परिस्थिति’का कारण खोप सञ्चालनमा आउन सकेका छैनन् ।