१४औँ कान्तिपुर हाफ म्याराथन ५ वैशाखमा

मंगलबार, २४ चैत, २०८२
डिजिटल संस्करण

कान्तिपुर मिडिया ग्रुपको आयोजनामा १४औँ कान्तिपुर हाफ म्याराथन आगामी ५ वैशाखमा हुने भएको छ । हाफ म्याराथनको मुख्य नारा ‘रन फर नेपाल’ राखिएको छ । प्रतियोगितामा ग्लोबल आइएमई बैंक मुख्य प्रायोजक र एक्स्ट्रिम इनर्जी ड्रिंक सहयोगीका रूपमा रहेको सोमबार आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । यस वर्षदेखि हाफ म्याराथनमा प्रविधिको प्रयोग गरेर धावकले दौड पूरा गरेको सही समय (एक्युरेट टाइमिङ) मापन गर्न सक्नेछन् । 

दौडमा चार विधा समावेश गरिएको कान्तिपुर मिडिया ग्रुपका सिइओ महेश स्वाँरले बताए । मुख्य विधा २१.१ किलोमिटर हाफ म्याराथन हुनेछ । त्यस्तै, कर्पोरेट तथा प्रभावशाली व्यक्तिहरूको दौड पाँच किलोमिटर, एक्स्ट्रिम कलेज रन सात किलोमिटर र ह्विलचेयर दौड तीन किलोमिटर हुने उनले बताए । हाफ म्याराथनमा पुरुष तथा महिला तर्फका विजेताले जनही १ लाख ५० हजार रुपैयाँ पाउनेछन् ।

दोस्रो हुनेले ७५ हजार, तेस्रोले ३० हजार र चौथो स्थानमा रहने खेलाडीले १० हजार रुपैयाँ पाउनेछन् । ह्विलचेयर दौडका विजेताले ३५ हजार रुपैयाँ, दोस्रो हुनेले २५ हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । कर्पोरेट तथा कलेज दौडमा पुरुष र महिला दुवैतर्फ शीर्ष तीन स्थानमा रहनेलाई विभिन्न पुरस्कार तथा उपहार प्रदान गरिनेछ ।

एथलेटिक्स संघका सचिव आरके विष्टले कान्तिपुर हाफ स्थापित भइसकेको र यसको आयोजनाले नेपाली खेलाडीको प्रदर्शनमा सकारात्मक प्रभाव पार्ने बताए ।ग्लोबल आइएमईका सिइओ सुरेन्द्रराज रेग्मीले सामाजिक उत्तरदायित्व वहनका क्रममा खेलकुदमा जोडिएको बताए । 

सुझावित समाचार