प्युठानमा मध्यराति बस्तीमा आगो सल्किँदा आठ घर र १३ गोठ नष्ट

साढे ९३ लाखको क्षति, ८२ बाख्रा र ९ गोरु जलेर मरे

सोमबार, २३ चैत, २०८२
डिजिटल संस्करण

प्युठान ऐरावती गाउँपालिका–१, छेडाघाटमा शनिबार मध्यराति आगलागी हुँदा दर्जनभन्दा बढी घरगोठ जलेर नष्ट भएका छन् । स्थानीय लक्ष्मण रानाको फुसले छाएको कच्ची गोठबाट आगो बस्तीभर सल्किँदा आठ घर र १३ गोठसहित धनमाल जलेका हुन् । आगलागीबाट साढे ९३ लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक हरि भट्टराईले बताए । उनका अनुसार आगलागीमा ८२ बाख्रा तथा  नौ गोरु पनि जलेर मरेका छन् । ‘आगलागीको कारण अझै पनि खुल्न सकेको छैन,’ भट्टराईले भने, ‘पीडितहरू आफन्तका घरमा बसिरहेका छन् ।’ आगो आइतबार बिहान मात्र नियन्त्रणमा आएको थियो ।

लक्ष्मण रानाको फुसले छाएको कच्ची गोठबाट पौने १२ बजे आगो सल्किएको प्रहरीले जनाएको छ । आगो बस्ती पस्दा देवानसिंह रानाको फुसले छाएको गोठ, विकास रानाको गोठ, लक्ष्मण रानाको गोठ, ईश्वरी रानाको कच्ची घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् । त्यस्तै, ईश्वरीको घरपरिवारको भाँडा वर्तन, लत्ताकपडा, खाद्यान्न, तीनवटा गोरु, १५ बाख्रा जलेर मरेका छन् । 

रमेश घर्तीको एउटा घर र गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ । आगलागीमा परी घर्ती परिवारका ६ वटा बाख्रा मर्नुका साथै भाँडा, कपडा, आधा तोला सुन र ५० हजार जलेर नष्ट भएको छ । 

त्यस्तै, स्थानीय ओमबहादुर रेश्मी मगरको एक घर र दुइटा गोठ पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले बताएको छ । मगर परिवारका ३३ वटा बाख्रा पनि जलेर मरेका छन् ।  प्रहरीका अनुसार स्थानीय भूपाल रोकाको एउटा घर र एउटा गोठ जलेर पूर्ण नष्ट भएको छ, भने उनीहरूले पालेका १८ बाख्रा मरेका छन् । घरमा रहेको नगद दुई लाख र आधा तोला सुन पनि जलेको छ । 

गुमा रजालीको एउटा घर र एउटा गोठ जलेर नष्ट भएको छ । उनीहरूका घरमा कपडा, भाँडा र खाद्यान्न जलेर नष्ट भएको छ । 

आगलागीमा बलबहादुर रजालीको एउटा घर र एउटा गोठ पूर्ण रूपमा जलेर नष्ट हुँदा लत्ताकपडा खाद्यान्न, भाडा जलेर नष्ट भएका छन् । त्यस्तै, झवीन्द्र रजालीको एउटा घर र एक गोठ भाँडा, लत्ताकपडा र खाद्यान्न जलेर नष्ट भएको छ । 

घनबहादुर रानाको पनि एउटा घर र एउटा गोठ जलेर नष्ट हुनुका साथै १५ वटा बाख्रा, दुईवटा गोरु जलेर मरेका छन् । देवबहादुर रजालीको एउटा गोठ जलेर नष्ट हुनुका साथै १५ वटा बाख्रा जलेका छन् । डिला रजालीको एक गोठ नष्ट भएको छ । 
 

See More On

सुझावित समाचार