सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालद्वारा उत्कृष्ट निर्वाचन प्रहरी, विपत् स्वयंसेवक र विपत् सूचक सम्मानित

आइतबार, २२ चैत, २०८२
डिजिटल संस्करण

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गराउन उत्कृष्ट कार्य गर्ने निर्वाचन प्रहरी, विपतको समयमा सशस्त्र प्रहरी बल नेपालसँग समन्वय गरी विपत् उद्धारमा सहयोग पुर्याउने समुदाय विपद् स्वयंसेवक र विपद् सूचकलाई सम्मान गरेका छन्। सशस्त्र प्रहरी बल नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीको २५औँ वार्षिकोत्सवको अवसर पारेर महानिरीक्षक अर्यालले आइतबार गरेका हुन्। 

उत्कृष्ट कार्य गर्ने निर्वाचन प्रहरीले निर्वाचनको अवधिमा बैतडी जिल्लाको दशरथचन्द्र नगरपलिका–४ स्थित वीरेन्द्र माध्यमिक विद्यालय साइलेक मतदान केन्द्रमा खटिई अपांग तथा वृद्धवृद्धाहरूलाई मतदान केन्द्रसम्म बोकी ल्याउने र लैजाने कार्यमा सहयोग गरेका थिए। 

त्यसैगरी, विपत् स्वयंसेवकले विपतको समयमा डुबानमा परेकाहरूलाई आफ्नो ज्यानको प्रवाह नगरी जोखिम अवस्थामा रहेका नागरिकहरूलाई सुरक्षित स्थानमा पुर्याउन सहयोग गरेका थिए। त्यस्तै, विपत् सूचकले विपतका विभिन्न घटनाहरूमा समयमा नै सशस्त्र प्रहरीलाई जानकारी गराउनुका साथै स्वयं आफूसमेत खटिई उद्धार कार्यमा सहयोग गरेका थिए। 

विपतको समयमा समुदायस्तरबाटै उद्धार कार्यमा सहयोग पुर्याउने अभिप्रायले सशस्त्र प्रहरी बल नेपालले देशभर १ हजार ११४ जनालाई विपत् स्वयंसेवक तालिम प्रदान गरी समुदाय विपत् स्वयंसेवक तयार पारेको छ। त्यसैगरी, सशस्त्र प्रहरी बल नेपालले प्रत्येक वडाहरूमा २५ जनाका दरले विपत् सूचक समूह तयार गरेको छ। जसअनुसार देशभरिका ६ हजार ७४५ वडामा २५ जनाको दरले १ लाख ६८ हजार ५७५ जना विपत् सूचक तयार पारिएको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी विष्णुप्रसाद भट्टले जानकारी दिए। 

सुझावित समाचार