तन्त्र तथा ज्योतिषका ज्ञाता चुरामणि पाण्डे भारतमा सम्मानित भएका छन् ।
भारतको बिहारस्थित पटनामा भएको अन्तर्राष्ट्रिय ज्योतिष तथा तन्त्र सम्मेलनबाट गुल्मी रेसुंगाका कान्छा ज्योतिष पाण्डेलाई सम्मानित गरिएको थियो । पाण्डे कुलदेव ज्योतिष तथा वास्तु परामर्श सेवा प्रा.लि.का संस्थापकसमेत हुन् ।
बहुआयामिक धार्मिक व्यक्तित्व पाण्डेले आफ्नो ज्ञान र साधनामार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सेवा प्रदान गर्दै आएका छन् । आफ्नो बुबा, हजुरबुबा र विशेष गरी कुलगुरुको संगत र सिकाइमा हुर्कँदै उनले मात्र १३ वर्षको कलिलो उमेरदेखि नै ज्योतिष तथा तान्त्रिक परामर्शको थालनी गरेका थिए ।
ज्योतिष पाण्डेको विशेषज्ञता नेपालमा मात्र नभएर विश्वभर छरिएर रहेका नेपाली तथा विदेशीहरूमाझ समेत फैलिएको छ । उनले हजारौँलाई आफ्नो तान्त्रिक तथा ज्योतिषीय परामर्शबाट लाभान्वित गराएका छन् ।
झन्डै एक दशकदेखि ज्योतिष, वास्तु तथा तन्त्र क्षेत्रमा निरन्तर सेवा प्रदान गर्दै आएका ज्योतिष पाण्डे दर्जनौँ सामाजिक तथा धार्मिक संघसंस्थाहरूमा पनि आबद्ध रहँदै आएका छन् ।
पटनामा भएको अन्तर्राष्ट्रिय ज्योतिष तथा तन्त्र सम्मेलनमा नेपाल र भारतसहित विभिन्न देशका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।