नेपाल प्रहरी अस्पतालमा आइभिएफ ल्याबको स्थापना गरिएको छ। आइतबार प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ल्याबको उद्घाटन गरेका छन्। अस्पतालको ४२औँ स्थापना दिवसको अवसर पारेर ल्याबको उद्घाटन गरिएको हो।
अस्पतालको स्वास्थ्य सेवा विस्तारको क्रममा बाँझोपनसम्बन्धी स्वास्थ्य समस्याको उपचारका लागि यस्तो ल्याबको स्थापना गरिएको प्रहरी अस्पतालले जनाएको छ।
वार्षिकोत्सवको अवसरमा महानिरीक्षक कार्कीले नेपाल प्रहरी अस्पताल मनोचिकित्सा विभागका प्रमुख प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. आशिष दत्तलाई इसिटी मेसिन हस्तान्तरण गरे । साथै, अस्पतालको वर्षभरिका विविध गतिविधि, उपलब्धि, सेवा प्रवाह र स्वास्थ्यमूलक लेखहरू समेटेर प्रकाशन गरिएको वार्षिक स्मारिका ‘अस्पताल दर्पण– २०८२’ को लोकार्पण गरिएको छ । सो अवसरमा विशेषज्ञ चिकित्सकहरू तथा नेपाल प्रहरी अस्पतालमा कार्यरत प्रहरी कर्मचारीहरूलगायतलाई कदरपत्र प्रदान गरिएको थियो।
समारोहमा प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरी अस्पतालको क्रमिक विकास, विस्तार एवं अस्पताललाई हालको स्तरसम्म पुर्याउन सम्पूर्ण अग्रजहरूले निर्वाह गरेको भूमिका तथा योगदानको प्रशंसा गरे । प्रहरी कर्मचारीहरूमा सांगठनिक उद्देश्य प्राप्तिका लागि जोखिमको सामना गर्ने आँट र हिम्मत प्रहरी कर्मचारी तथा तिनका परिवारजनले संगठनबाट प्राप्त गर्ने सेवा र सुविधाको गुणस्तरसँग प्रत्यक्ष जोडिएको हुँदा यसतर्फ विशेष सजगता अपनाई चिकित्सक र सेवाग्राहीबिच भावनात्मक सम्बन्धको विकास गर्दै आत्मीय व्यवहारका साथ अस्पतालले सेवा प्रवाह गर्नुपर्ने उनको भनाइ छ।
प्रहरी महानिरीक्षक कार्कीले नयाँ जनादेश प्राप्त सरकारबाट सुशासन, पारदर्शिता र प्रभावकारी सेवा प्रवाहलाई विशेष प्राथमिकता दिइएको सन्दर्भमा नेपाल प्रहरी अस्पतालले पनि आफ्नो सेवा प्रणालीलाई अझ सुदृढ, व्यवस्थित र उत्तरदायी बनाई दायित्व वहन गर्ने विश्वास लिएको बताए । प्रहरीको दैनिक जीवनशैली र कामकारबाही आफैँमा संवेदनशील एवं शारीरिक तथा मानसिक रूपमा जोखिमपूर्ण रहेको र कार्यबोझसमेत धेरै हुने हुँदा स्वास्थ्यसम्बन्धी सबै गुनासोहरूलाई उचित सम्बोधन गरी अस्पतालले सम्पूर्ण दृष्टिकोणबाट सेवाग्राहीमैत्री, व्यावसायिक र उच्च गुणस्तरीय सेवा प्रवाह गर्न जरुरी रहेको उनको भनाइ छ । विगतमा देखिएका कमी–कमजोरीहरूलाई सुधार गर्दै आगामी दिनमा अस्पतालले विद्यमान सेवाहरूलाई अझ प्रभावकारी र व्यवस्थित गर्दै अस्पतालको स्तरोन्नति र दीर्घकालीन विकासका लागि सुधारका क्षेत्रहरू पहिचान गरी ठोस योजना बनाएर अगाडि बढ्नुपर्नेमा आइजिपी कार्कीले जोड दिएका छन्।
कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघको तर्फबाट संघकी अध्यक्ष श्रीमती नवीना कार्कीले टिभी र इसिजी मेसिन अस्पतालका प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक भीमकुमारी पाण्डेलाई हस्तान्तरण गरिन् । साथै संघकी अध्यक्ष तथा पदाधिकारीहरूले अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूलसमेत वितरण गरिएको थियो ।
समारोहमा अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सुन्दरप्रसाद ह्योजूले धन्यवाद ज्ञापन गर्दै अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवालाई विस्तार गरी सेवा प्रवाहलाई अझ गुणस्तरीय बनाउन अस्पताल प्रशासन सदैव प्रयासरत रहेको बताए।