जिप दुर्घटनामा दुईको मृत्य, १२ जना घाइते

शनिबार, २१ चैत, २०८२
डिजिटल संस्करण

जिप दुर्घटनामा परी शनिबार लमजुङमा दुईजनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन्। बेँसीसहरबाट उस्ताका लागि छुटेको ग १ ख ६४७० नम्बरको जिप दुर्घटनामा परी मर्स्याङ्दी- ७, उस्ताकी ४० वर्षीया त्रिवेणी घले र ३५ वर्षीया पुष्पा घलेको मृत्यु भएको लमजुङका प्रहरी प्रमुख डिएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। उस्ता जाँदै गरेको जिप उकालो बाटोको घुम्ती पार गर्ने क्रममा सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको थियो।

जिपमा १४ जना सवार रहेकोमा दुर्घटनापछि उनीहरूलाई उद्धार गरी बेँसीसहरस्थित प्रदेश अस्पतालमा उपचारका लागि लगिएकोमा उपचारका क्रममा चिकित्सकले दुईजनालाई मृत घोषणा गरेका थिए। अन्य १२ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भैरहेको छ। 

घाइतेमध्ये सात वर्षका बालक सफल गुरुङ, ४० वर्षकी विमलादेवी घले र ३३ वर्षकी रिता गुरुङको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि चितवन मेडिकल कलेज रिफर गरिएको छ।

अन्य घाइतेहरू चालक २९ वर्षका करण अधिकारी,१० वर्षकी प्रिशिका गुरुङ,६२ वर्षका सन्तबहादुर घर्ती, ३८ वर्षका सोमलाल तामाङ र ४८ वर्षका रुद्रमान घलेको अवस्था मध्यम रहेको छ भने११ वर्षका रितेश गुरुङ, ३१ वर्षका प्रकाश गुरुङ, १४ वर्षका विमान घले, ९ वर्षकी इन्द्र घलेको अवस्था सामान्य रहेको छ। दृर्घटना किन र के कारणले भयो अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

सुझावित समाचार