धनकुटामा लागुऔषध कारोबारी र सेवनकर्ताको संख्यामा वृद्धि

शनिबार, २१ चैत, २०८२
डिजिटल संस्करण

पाँच वर्षको तथ्यांकलाई हेर्दा धनकुटामा लागुऔषध कारोबारी र सेवनकर्ताहरूको संख्यामा वृद्धि हुँदै गएको देखिन्छ। जिल्ला प्रहरी कार्यालय धनकुटाले आर्थिक वर्ष ०७७/७८ देखि चालू आर्थिक वर्षसम्मको दिएको पछिल्लो तथ्यांकको आधारमा हेर्ने हो भने धनकुटामा लागुऔषध कारोबारी र सेवनकर्ताको संख्यामा वृद्धि हुँदै गएको पाइएको छ।

अहिलेसम्मको चालू आर्थिक वर्षमा मात्र लागुऔषधसँग सम्बन्धित १५ वटा मुद्दा दर्ता भएका छन् भने ३० जना पुरुष र एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। अहिलेसम्म लागुऔषध १५ ग्राम २ सय ६५ मिलिग्राम खैरो हेरोइन, ७ किलोग्राम गाँजा र २ हजार २० टयाब्लेट क्याप्सुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी शरदकुमार थापा क्षेत्रीले बताए।

आर्थिक वर्ष ०८१/८२ मा ५७ वटा मुद्दा दर्ता हुँदा ५८ जना पक्राउ परेका थिए भने लागुऔषध २० ग्राम २ सय २४ मिलिग्राम खैरो हेरोइन, ४ सय १४ किलो २ सय १० ग्राम गाँजा र ४ हजार ८५ ट्याब्लेट क्याप्सुल प्रहरीले बरामद गरेको थियो। त्यस्तै, आर्थिक वर्ष ०८०/८१ मा २० वटा मुद्दा दर्ता हुँदा ३० जना पक्राउ गरेका छन् भने खैरो हेरोइन ३ ग्राम ५ सय ५० मिलिग्राम, गाँजा २५ किलो ६५ ग्राम र ४ हजार २ सय ८७ ट्याब्लेट क्याप्सुल बरामद भएको तथ्यांकले देखाएको छ।

यता आर्थिक वर्ष ०७९/८० मा २१ वटा मुद्दा दर्ता भएको थियो भने सो घटना संलग्ग्न भएको आरोपमा ३६ जना पक्राउ पर्नुको साथै ४ सय ५० मिलिग्राम खैरो हेरोइन, गाँजा ४ किलो २९ ग्राम, १ हजार ७ सय २० ट्याब्लेट क्याप्सुल, ३ सय एम्पुल र ३ बोतल कोरेक्स बरामद भएको प्रहरीले बताएको छ।

त्यसैगरी, आर्थिक वर्ष ०७८/७९ मा १० वटा मुद्दा दर्ता हुँदा २० जनालाई पक्राउ गरिएको थियो भने उनीहरूको साथबाट २ ग्राम ५० मिलिग्राम खैरो हेरोइन, २९ किलो ५ सय ग्राम गाँजा, ३० ट्याब्लेट, ५ एम्पुल, २ सय २ वटा गाँजाको बोट, ५२ सिरिन्ज र १६ लिगोकेन बरामद भएको थियो। त्यस्तै, प्रहरीले दिएको तथ्यांकअनुसार आर्थिक वर्ष ०७७/७८ मा लागुऔषधसम्बन्धीको ५ वटा मुद्दा दर्ता हुँदा ७ जना पक्राउ परेका थिए। सो क्रममा प्रहरीले ६ सय ६० मिलिग्राम खैरो हेरोइन र एक सय ४५ एम्पुल डाइजेल्याब बरामद गरेको थियो ।

लागुऔषध कारोबारी तथा प्रयोगकर्ताहरू बढ्दै गए पनि प्रहरीले धनकुटामा सक्रियताका साथ संलग्नलाई पक्राउ गर्ने र कानुनी कारबाही अगाडि बढाइरहेको छ। लागुऔषधमा प्रायः बेरोजगार युवा, किशोर र विद्यार्थीहरू संलग्ग्न हुने गरेको पाइएको छ। लागुऔषध नियन्त्रण प्रहरीको मात्र सक्रियताले पूर्ण रूपमा नियन्त्रण हुन नसक्ने भएकोले आमनागरिकको सहयोग आवश्यक पर्ने पनि प्रहरीको भनाइ छ।

सुझावित समाचार