फेरि बढ्यो इन्धनको भाउ, पेट्रोल हालसम्मकै महँगो

शुक्रबार, २० चैत, २०८२
डिजिटल संस्करण

नेपाल आयल निगमले बिहीबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५–१५ रुपैयाँ बढाएको छ । मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल दुई सय दुई रुपैयाँ र डिजेल तथा मट्टीतेल एक सय ८२ रुपैयाँ प्रतिलिटर पुगेको छ । 

पेट्रोलको मूल्य इतिहासकै सबैभन्दा उच्च विन्दुमा पुगेको छ । यसअघि रुस–युक्रेन युद्धले अन्तर्राष्ट्रिय बजार उचालिँदा नेपालमा पेट्रोलको भाउ एक सय ९९ रुपैयाँ पुगेको थियो । त्यसयता भाउ पुनः ओरालो लागे पनि अहिले चार वर्षअघिको रेकर्ड ब्रेक गरेको हो । डिजेलको भाउ त्यतिवेला एक सय ९२ रुपैयाँ प्रतिलिटर पुगेको थियो ।

निगमले अन्तर्राष्ट्रिय बजारमा बढेको भाउअनुसार भारतबाट पनि खरिद दर बढेर आएका कारण मूल्य बढाउनुपरेको जनाएको छ । दुई दिनअघि मात्रै हवाई इन्धनको भाउ बढाएर निगमले प्रतिलिटर दुई सय ५१ रुपैयाँ पुर्याएको थियो । यसअघि ११ चैतमा पनि निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५–१५ रुपैयाँ बढाएको थियो ।

चैत लागेयता मात्र पेट्रोल ४५ र डिजेल ४० रुपैयाँ महँगियो
चैत लागेयता मात्रै निगमले चारपटक मूल्य समायोजन गरेर पेट्रोलमा ४५ र डिजेलमा ४० रुपैयाँ प्रतिलिटर वृद्धि गरेको छ । निगमले १ चैतमा मूल्य बढाउनुअघि काठमाडौंमा पेट्रोल एक सय ५७ र डिजेल एक सय ४२ रुपैयाँ प्रतिलिटर थियो । १ चैतमा पेट्रोल १५ र डिजेल १० रुपैयाँ प्रतिलिटर बढाइयो । त्यसपछि ११ चैतमा पुनः पेट्रोल १५ र डिजेल १५ रुपैयाँ बढाइयो । १७ चैतमा निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर दुई सय ५१ रुपैयाँ निर्धारण हुने गरी मूल्य समायोजन गरेको थियो । त्यसपछि, बिहीबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य थप १५–१५ रुपैयाँ बढाइएको हो । 

 मूल्यवृद्धिपछि पनि चर्को घाटा
आयल निगमका प्रवक्ता मनोज ठाकुरले मूल्य वृद्धिपछि पनि चर्को घाटा कायम रहेको बताए । उनका अनुसार पेट्रोलमा ३४.३६ रुपैयाँ र डिजेलमा १२०.५४ प्रतिलिटर तथा खाना पकाउने एलपी ग्यासमा चार सय १६ रुपैयाँ ३७ पैसा प्रतिसिलिन्डर घाटा रहेको छ । ‘मूल्यवृद्धिपछि पाक्षिक रूपमा ११ अर्ब ७१ करोड घाटा हुने अनुमान छ,’ उनले भने । ‘अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धि भइरहँदा र सोहीअनुसार मूल्य समायोजन हुन नसक्दा घाटा रकम उल्लेख्य रूपमा वृद्धि भई इन्डियन आयल कर्पोरेसनलाई भुक्तानी दिन पनि समस्या भइरहेको छ,’ उनले भने ।

See More On

सुझावित समाचार