त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री (पिएम) कप एकदिवसीय क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । प्रतियोगिताअन्तर्गत बिहीबार जनकपुरमा भएको खेलमा आर्मीले अपराजित मधेश प्रदेशलाई ६ विकेट हराउँदै शीर्ष स्थानमाथि १ अंकको अग्रता लिएको छ । पहिलो ब्याटिङ गरेको मधेशले प्रतियोगितामा पहिलोपटक कमजोर ब्याटिङ ग¥यो । आर्मीविरुद्धको प्रतिस्पर्धामा मधेश ४८.३ ओभरमा १८४ रनमा समेटियो । मधेशको प्रतिओभर रनरेट ३.७९ थियो ।
प्रत्युत्तरमा आर्मीले सहज लक्ष्य २९.४ ओभरमा चार विकेटको क्षतिमा प्राप्त गर्यो । लक्ष्य पछ्याउँदा आर्मीले ६.३० को रनरेटमा ब्याटिङ गरेको थियो । आर्मीको जितमा ओपनर तृतराज दासले सर्वाधिक ६९ रनको योगदान दिए । उनले कप्तान विनोद भण्डारीसँग पहिलो विकेटका लागि ९.५ ओभरमा ६७ रन जोडे ।
विनोदले २९ बलमा ६ चौकाको सहयोगमा ३२ रन बनाए । भीम सार्की ८ रनमा आउट भए । तृतराजले कुशल मल्लसँग तेस्रो विकेटका लागि ४० रनको साझेदारी गर्दै टोलीलाई ७५–२ बाट ११५–३ को स्थितिमा राखे । कुशलले २२ बलमा चार चौकाको सहयोगमा २४ रन जोडे । त्यसपछि तृृतराजले बसिर अहमदसँग चौथो विकेटका लागि ६५ रनको साझेदारी गर्दै आर्मीलाई जितनजिक पुर्याएका थिए ।
इनिङ्सको २७.४ ओभरमा तृतराजले आफ्नो विकेट गुमाउनुअघि सात चौका र तीन छक्का प्रहार गरेका थिए । बसिरले ३९ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै ४१ रनको नटआउट योगदान दिए । मधेशका लागि मोहमद आदिलले २५ रन खर्चेर दुई विकेट हात पारे । आर्मीले पाँच खेलमा चार जितका साथ ९ अंक जोडेको छ ।
दोस्रो स्थानमा रहेको सुदूरपश्चिमले पाँच खेलमा चार जित र एक हार सामना गरी ८ अंक जोडेको छ । नेपाल पुलिस र मधेशले समान ७ अंक बनाएका छन् । रनरेटमा पुलिस तेस्रो र मधेश चौथो स्थानमा रहे । यसअघि मधेशका विशाल सुस्लिङले सर्वाधिक ५१ रन बनाएका थिए । उनले ७३ बलमा तीन चौका र दुई छक्का प्रहार गरेका थिए । कप्तान अनिल साहले ६० बलमा ४२ तथा पवन सर्राफले २२ रनको योगदान गरे । आर्मीका बसिर अहमदले तीन विकेट लिएका थिए ।
सुदूरपश्चिमको रोमाञ्चक जित
प्रधानमन्त्री कपअन्तर्गत २५औँ खेलमा सुदूरपश्चिमले गण्डकीमाथि दुई विकेटको रोमाञ्चक जित निकालेको छ । वीरगन्जमा पहिलो ब्याटिङ गरेको गण्डकीले ४९ ओभरमा सबै विकेट गुमाएर १९० रन जोडेको थियो । प्रत्युत्तरमा सुदूरपश्चिमले ३९.२ ओभरमा आठ विकेटको क्षतिमा १९१ रन बनायो ।
कप्तान शेर मल्लले पाँच विकेट लिएपछि सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई दुई विकेटले पराजित गरेको हो । वीरगन्जमा टस जितेर ब्याटिङ गरेको गण्डकीले ४९ ओभरमा सबै विकेट गुमायो । प्रत्युत्तरमा सुदूरपश्चिमले ३९.२ ओभरमा आठ विकेट गुमाएर जित निकाल्दै दोस्रो स्थानमा उक्लियो । अभिषेक पालले ६६ रनको योगदान दिए । उनले ९३ बल खेलेर ६ चौका र दुई छक्का प्रहार गरेका थिए ।
मध्यक्रमका दीपक बोहराले ३८ बलमा ३५ रन बनाए । आठौँ क्रममा ब्याटिङ गरेका नारायण जोशीले धैर्यपूर्वक ब्याटिङ गरी टोलीलाई जित दिलाए । उनले ४८ बलमा ४५ रन बनाउँदा तीन छक्का र दुई चौका प्रहार गरेका थिए । सुदूरपश्चिमले जित निकाले पनि ब्याटिङमा संघर्ष गरेको देखिन्थ्यो । विपिन खत्रीले १० ओभरमा ३६ रन खर्चेर पाँच विकेट लिएपछि सुदूरपश्चिमको मध्यक्रमको ब्याटिङ कमजोर देखियो ।
इनिङ्सको एक समय सुदूरपश्चिम ३०.५ ओभरमा १४६–७ को स्थितिमा थियो । यसअघिको सुदूरपश्चिमका कप्तान मल्लले १० ओभरमा एक मेडन राखी ४२ रन दिएर पाँच विकेट लिए । हेमन्त धामी र अशोक धामीले समान दुई विकेट लिए । गण्डकीका लागि ओपनर अर्जुन कुमालले सर्वाधिक ४४ रन बनाउन ६८ बलमा सात चौका प्रहार गरेका थिए ।