सम्पत्ति शुद्धीकरण विभागले पाँच अर्बभन्दा बढीको बिगो दाबी गरेर मुद्दा चलाउने तयारी गरेका ‘बिचौलिया’ दीपक भट्टले हिमालयन रि–इन्स्योरेन्स र यसका सहायक कम्पनीबाट तीन अर्ब ८१ करोड दुरुपयोग गरी नेपाल रि–इन्स्योरेन्सलगायत कम्पनीको सेयर किनेको पुष्टि भएको छ । बिमा प्राधिकरणले छानबिन गरेर आर्थिक दुरुपयोग पुष्टि गर्दै भट्टमाथि कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभागलाई सिफारिस गरेको हो । प्राधिकरणले भट्टलाई सिआइबीबाट थप अनुसन्धान गर्नुपर्ने रायसमेत दिएको छ ।
भट्टले दोस्रो बजारबाट नेपाल रि–इन्स्योरेन्सलगायत कम्पनीको सेयर किन्न पब्लिक कम्पनी हिमालयन रि–इन्स्योरेन्स र यसका सहायक कम्पनीबाट तीन अर्ब ८१ करोड दुरुपयोग गरेको देखिएपछि सम्पत्ति शुद्धीकरण विभागले बिमा प्राधिकरणलाई छानबिन गरेर राय प्रतिक्रियासहितको प्रतिवेदन बुझाउन २८ फागुनमा पत्र पठाएको थियो ।
उनले विभिन्न मितिमा हिमालयन रिबाट दुई अर्ब ७३ करोड ३३ लाख १५ हजार, हिमालयन सेक्युरिटिजबाट २२ करोड १९ लाख ७१ हजार, नेपाल लाइफको सहायक कम्पनीबाट ३७ करोड, एचएलआई लार्ज क्याप फन्डबाट २५ करोड १४ लाख ८४ हजार र नेपाल माइक्रो इन्स्योरेन्सबाट १६ करोड १७ लाख ५२ हजार दुरुपयोग गरी भृकुटी स्टक ब्रोकिङ कम्पनी (ब्रोकर नम्बर ५५) बाट सेयर खरिद गरी भुक्तानी गरेको देखिएको भन्दै विभागले यसको प्राधिकरणसँग आधिकारिकता मागेको थियो । यसमा छानबिन गरी प्राधिकरणले सम्पत्ति शुद्धीकरणमा कारबाही गर्न सिफारिस गरेको हो ।
‘छानबिनका क्रममा उहाँ (दीपक भट्ट) ले अनियमितता गरेको देखियो । त्यसपछि उहाँलाई आवश्यक कारबाही गर्न सिफारिस गर्दै सम्पत्ति शुद्धीकरण विभागमा प्रतिवेदन बुझाएका छौँ,’ प्राधिकरण स्रोतले भन्यो, ‘छानबिनका क्रममा हिमालयन रि–इन्स्योरेन्स कम्पनीले आफ्नो लगानीको विभिन्न सेयर बिक्री गरेको देखिन्छ । तर, सेयर बिक्रीबापत कम्पनीले पाउनुपर्ने भुक्तानी ब्रोकरबाट प्राप्त भएको देखिँदैन । उक्त भुक्तानी प्राप्तिका लागि कम्पनीबाट ताकेता भएको पनि देखिएन । कम्पनीले पाउनुपर्ने त्यो रकम उहाँ (भट्ट)ले प्रयोग गरेको देखिन्छ । हिमालयन रि–पब्लिक कम्पनी भएकाले उसको पैसा यसरी दुरुपयोग गर्न पाइँदैन ।’
भट्ट हिमालयन रिका आधारभूत सेयरधनी हुन् । यो कम्पनीमा उनको इन्फिनिटी होल्डिङ्सको ४.५० प्रतिशत सेयर हिस्सा अर्थात् ४६ लाख ८० हजार कित्ता सेयर छ । उनी सरकारी स्वामित्व रहेको नेपाल रिको सेयर खरिद गरेर नेपाल रिलाई पनि आफ्नो पोल्टामा पार्न चाहन्थे । बिमा प्राधिकरणकी प्रवक्ता पूजन अधिकारीले भने सम्पत्ति शुद्धीकरण विभागलाई गरिएको सिफारिसबारे जानकारी नभएको भन्दै बुझेर प्रतिक्रिया दिने बताइन् ।
उनले आर्थिक दुरुपयोग गरेको एचएलआई लार्ज क्याप फन्ड हिमालयन लाइफ इन्स्योरेन्सले सञ्चालन गरेको म्युचल फन्ड हो । हिमालयन लाइफ इन्स्योरेन्समा भट्टनिकट व्यवसायीको लगानी छ । त्यसले सञ्चालन ल्याएको म्युचल फन्डको पैसासमेत भट्टले दुरुपयोग गरेको देखिएको छ । त्यस्तै, नेपाल माइक्रोमा दीपक भट्टकै ११ लाख २५ हजार कित्ता सेयर छ ।
बिमा प्राधिकरणको समेत सिफारिसमा भट्टलाई विभागले मुद्दा चलाउने तयारी गरेको हो । उनी भाग्न सक्ने भएकाले सम्पत्ति शुद्धीकरण विभागको सिफारिसमा अध्यागमन विभागले राहदानी रोक्का गरिसकेको छ ।
भट्टलाई सिआइबीबाट पनि अनुसन्धान गर्न सिफारिस
बिमा प्राधिकरणले भट्टलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) बाट पनि थप अनुसन्धान गर्न सिफारिस गरेको छ । स्रातले भन्यो, ‘यसमा ब्रोकरलगायतका अन्य कम्पनी पनि जोडिएका छन्, जसलाई प्राधिकरणबाट छानबिन गर्न मिल्ने थिएन । यो कारोबारको प्रभाव अन्य क्षेत्रमा पनि परेको हुन सक्छ । तसर्थ, यसमा सिआइबीजस्ता अन्य निकायबाट थप अनुसन्धान गर्न पनि सिफारिस गरेका छौँ । तर, कहाँबाट अनुसन्धान गराउने भन्ने पाटो विभागकै हात रहन्छ । सायद, विभागले आन्तरिक रूपमा त्यो अनुसन्धान अघि बढाइसकेको होला ।’
हिमालयन रिका सिइओसहित उच्चपदस्थ कर्मचारीलाई नियामकीय कारबाही गरिँदै
बिमा प्राधिकरणले हिमालयन रि–इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ)सहित उच्चपदस्थ र सम्बन्धित विभागका कर्मचारीलाई नियामकीय कारबाही गर्ने तयारी पनि गरेको छ । कम्पनीको लगानीमा भएको सेयर बिक्री गरेर पनि लामो समयसम्म भुक्तानी लिन ताकेता नगरेको भन्दै प्राधिकरणले सिइओलगायत उच्चपदस्थ र सम्बन्धित विभागका कर्मचारीलाई नियामकीय कारबाही गर्न लागेको हो ।
‘हिमालयन रिका सिइओलगायत उच्चपदस्थ कर्मचारी र सम्बन्धित विभागको प्रमुखलाई नियामकीय कारबाही गर्न सञ्चालक समितिमा सिफारिस हुँदै छ । कम्पनीको लगानीमा भएको सेयर बिक्री गरेर पनि लामो समयसम्म भुक्तानी लिन ताकेता नगरेको देखियो । त्यसैले नियामकीय कारबाहीको तयारी भइरहेको छ,’ स्रोतले भन्यो, ‘के–के कारबाही गर्ने भनेर छलफल भइरहेको छ ।’
हाल हिमालयन रि–इन्स्योरेन्सको सिइओमा उपासना पौडेल छिन् । हिमालयन रि हिल्टन होटेलको पुनर्बिमा दाबीको घोटालामा पनि विवादमा परेको छ । हिल्टनको बिमा गरेको दी ओरियन्टल इन्स्योरेन्सले प्राधिकरणको निर्देशनविपरीत हुलदंगा तथा आतंकवाद जोखिमको पुनर्बिमा हिमालयन रिमा गरेको थियो । तर, जेन–जी आन्दोलनमा ध्वस्त भएको हिल्टनको दाबी परेपछि त्यसको पुनर्बिमा दाबी भने सरकारी स्वामित्वको नेपाल रिमा गरेको थियो । यस सम्बन्धमा प्राधिकरणले हिमालयन रिलगायतका कम्पनीलाई कारबाही गरिसकेको छ ।