कसरी तानिए भट्ट सम्पत्ति शुद्धीकरणमा ?

बुधबार, १८ चैत, २०८२
डिजिटल संस्करण

राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले ‘बिचौलिया’ दीपक भट्ट र उनको परिवारको बैंक खातामा अस्वाभाविक कारोबार पत्ता लगाएपछि दुई वर्षअघि नै पत्राचार गरेको थियो । भट्टको एकल स्वामित्वमा रहेको कम्पनी इन्फिनिटी होल्डिङ प्रालिको चुक्ता पुँजी एक वर्षमा तीन करोडबाट ४८ करोड पुर्‍याइएको थियो । ०७७ असारमा सो कम्पनीको चुक्ता पुँजी तीन करोड रहेकोमा ०७८ असार मसान्तमा ४८ करोड पुगेको थियो । तर, भट्टले त्यसको आर्थिक स्रोत देखाउन सकेका थिएनन् ।

त्यस्तै, भट्टको व्यक्तिगत खातामा जगदम्बा स्टिल्सको खाताबाट ४५ करोड जम्मा भएको थियो । कम्पनीको खाताबाट सो रकम भट्टको सिद्धार्थ बैंकमा रहेको व्यक्तिगत खातामा गएको थियो । जुन कारोबारको प्रयोजन र वास्तविक धनीको पहिचान नखुलेको राष्ट्र बैंकको पत्रमा उल्लेख छ । 

हिमालयन रि–इन्स्योरेन्स लिमिटेड र इन्फिनिटी होल्डिङ प्रालिबिचको करोडौँको कारोबार पनि नखुलेको विभाग स्रोत बताउँछ । जगदम्बा र हिमालयन रि–इन्स्योरेन्ससँग उनको कारोबार व्यवसायी कामबापतको भनेरसमेत उजुरी परेको थियो । हिमालयन रि–इन्स्योरेन्स भट्टकै अग्रसरतामा खोलिएको संस्था हो । जसमा ठुलो नीतिगत भ्रष्टाचार भएको आरोप लाग्दै आएको छ । जगदम्बा स्टिल्सको खाताबाट उनले आर्थिक वर्ष ०७७/७८ मा ४८ करोड लिए पनि सो कम्पनीको लेखा परीक्षणमा भने त्यति ठुलो रकम गायब बनाइएको थियो ।

राष्ट्र बैंकको प्रतिवेदनअनुसार भट्टको एकल स्वामित्वमा रहेको इन्फिनिटी होल्डिङ्स प्रालि र उनको व्यक्तिगत ओभरड्राफ्ट चल्ती खाताबाट शंकास्पद र अस्वाभाविक कारोबार भएको देखिन्छ । ५० लाख ऋणको सीमा रहेको उनको व्यक्तिगत खाताबाट १४ असार ०७८ देखि २३ असारको बिचमा ३० करोड १५ लाख ८७ हजार ७४७ रुपैयाँ जम्मा भएको थियो भने ४५ करोड चार लाख ४५ हजार ११० रुपैयाँ भुक्तानी भएको थियो । 

त्यस्तै, १७ असार ०७८ देखि ५ साउन ०७८ को बिचमा इन्फिनिटी होल्डिङको खातामा १८ करोड ४० लाख ९५ हजार ५६६ रुपैयाँ जम्मा र ६३ करोड ४० लाख ९३ लाख ८२९ रुपैयाँ भुक्तानी भएको थियो । जुन खाताको ऋण सीमा ४४ करोड रुपैयाँ छ  । त्यस्तै, उनको नेपाल इन्भेस्टमेन्ट बैंकको खातामा सोही वर्ष असार १३ देखि १६ गतेबिचमा जगदम्बा स्टिल्सबाट ४५ करोड जम्मा भएको थियो । देखिने कुनै व्यवसाय नभएका भट्टले यसरी केही दिनमै बैंक खाताबाटै करोडौँको कारोबार गरे पनि राजनीतिक दबाबमा डिसमिस गरिएको हो । भट्टको फाइल दबाउन राष्ट्र बैंकमा समेत दबाब दिइएको थियो ।

याे पनि पढ्नुहोस् >> ‘बिचौलिया’ भट्टविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउने अन्तिम तयारी, पाँच अर्बभन्दा धेरै बिगो दाबी गरिँदै

सुझावित समाचार