संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा तथा काजमा खटाएको कार्यालयमा जान नमान्ने कर्मचारीमाथि कारबाहीको तयारी गरेको छ । खटिएको स्थानमा नजानेलाई मार्ग प्रशस्त गर्न मन्त्री प्रतिभा रावलले निर्देशन दिएकी छिन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार ६३ जना उपसचिवको सरुवा गरेको थियो भने मंगलबार ६ जना सहसचिवको सरुवा गरेको छ ।
यस अघि रिक्त रहेको नगरपालिका तथा उपमहानगरपालिकामा खटाइएका कर्मचारीहरू काठमाडौंबाहिर जान आनाकानी गरेपछि सामान्य प्रशासनमन्त्री रावलले मार्ग प्रशस्त गर्न आग्रह गरेकी छिन्।
मन्त्री रावलले भनिन्, ‘जनतालाई सहज सेवा दिन सरकार जुनसुकै चुनौतीहरू पनि सामना गर्न पनि तयार छ, सरकारले खटाएको ठाउँमा जान्न भन्ने छुट कसैलाई छैन, नजाने कर्मचारीले मार्ग प्रशस्त गर्नुपर्छ।’
मन्त्रालयले यसअघि प्रमुख प्रशासकीय अधिकृतविहीन रहेका नगरपालिकामा सोमबार र उपमहानगरपालिकामा मंगलबार कर्मचारी पठाएको छ।
अब एक दुई दिनमै कर्मचारीविहीन भएका गाउँपालिकाहरूमा पनि कर्मचारी खटाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।
४ वटा उपमहानगरपालिकामा सरकारले पठायो सहसचिव
प्रमुख प्रशासकीय अधिकृतविहीन भएका ४ वटा उपमहानगरपालिकामा सरकारले प्रमुख प्रशासकीय अधिकृत पठाएको छ।
चैत १६ गतेको मन्त्रिपरिषद्को बैठकले ४ वटा उपमहानगरपालिकासहित प्रधानमन्त्री कार्यालय र सहरी विकास मन्त्रालयका लागि ६ जना सहसचिवको सरुवा तथा काजमा खटाउने निर्णय गरेको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव प्रदीप परियारलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सरुवा गरेको छ। उनलाई प्रधानमन्त्री बालेन्द्र शाहको निजी सचिवका रूपमा काजमा खटाइएको जनाइएको छ।
यस्तै, सामान्यमै अतिरिक्त समूहमा रहेका टेकनारायण पौडेललाई तुलसीपुर उपमहानगरपालिका दाङको प्रमुख प्रशासकीय अधिकृतमा काजमा पठाएको छ भने दाङकै घोराही उपमहानगरपालिकामा चन्द्रप्रसाद भुसाललाई पठाएको छ। यस्तै, बुटवल उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा दीपक ज्ञवालीलाई पठाएको छ भने धनुषाको जनकपुर उपमहानगरपालिकामा ज्ञानहरि घिमिरेलाई पठाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । सहसचिव नवराज शर्माको सहरी विकास मन्त्रालयमा सरुवा भएको छ।