गलत सरकारी योजनामा फिल्म निर्माताको प्रतिरक्षा

मंगलबार, १७ चैत, २०८२
डिजिटल संस्करण
  • धुरन्धर–२ ले नोटबन्दीको औचित्य पुष्टि गर्न गरेको परिकल्पना मोदी सरकार र भाजपाले समेत सोचेका थिएनन् होला

‘धुरन्धर : द रिभेन्ज’ नामक हिन्दी फिल्म ‘रिभिजनिज्म’ (आफ्नो स्वार्थअनुरूप इतिहास परिवर्तन गर्ने विचार) को पछिल्लो उदाहरण हो । यसले भारतको आर्थिक इतिहासको सबैभन्दा दर्दनाक अवधिमध्ये एक ‘डिमोनिटाइजेसन’ अर्थात् भारतमा भनिने गरेको नोटबन्दीलाई सही ठहर्याउन रिभिजनिज्मको लापरबाहीपूर्वक प्रयोग गरेको छ । 

फिल्मअनुसार, पाकिस्तानी गुप्तचर र अन्डरवर्ल्ड अपरेटिभ (जसमा दाउद इब्राहिमको काल्पनिक संस्करण पनि समावेश छ) ले सन् २०१६ मा उत्तर प्रदेशको चुनावमा आफ्नो पक्षधरलाई जिताउन ६ खर्ब भारतीय नक्कली मुद्रा भारत पठाएको छ । र, त्यसबारे थाहा पाएर नोभेम्बर ८, २०१६ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एक टेलिभिजन सम्बोधनमार्फत देशभर हजार र पाँच सयको प्रयोग हटाउँछन् । फिल्ममा मोदीको वास्तविक सम्बोधन नै राखिएको छ । फिल्मको दाबीअनुसार यो ‘मास्टरस्ट्रोक’ पूर्ण कदम वास्तवमा सरकारले पाकिस्तानी षड्यन्त्र विफल बनाउन चालेको अत्यन्त चलाख कदम थियो । 

फिल्मले नोटबन्दीपछि के भयो भन्ने वास्ता गर्दैन । लाखौँ भारतीयजस्तै मैले मोदीको भाषण आफूले काम गर्ने अनलाइन मिडियाको कार्यालयमा सुनेको थिएँ । भाषण सकिँदासम्म हाम्रो कार्यालय खाली बनेको थियो । व्यवस्थापनदेखि कार्यालय सहायकसम्म सबैजना नजिकैको एटिएममा पुग्न हतारिए । मुम्बईको सबैभन्दा महँगा क्षेत्रमध्ये एक र कहिल्यै शान्त नदेखिने छिमेक बान्द्रा हुँदै घर फर्किंदा एटिएमको लाइनमा रहेका प्रत्येक अनुहारमा चिन्ता र शंका स्पष्ट थियो । बान्द्राको अवस्था त्यस्तो थियो भने कल्पना गर्न सकिन्छ, देशको अन्यत्र के भइरहेको थियो होला ।

त्यसपछिका दिनमा मानवीय पीडाका कैयौँ कथा र तस्बिर बाहिरिए, जुन बिर्सन असम्भव छ । बैंकमा असहाय भएर रोइरहेका वृद्ध मानिस, दैनिक ज्यालादारी गर्ने मजदुरको पीडा, जो आफ्ना रोजगारदाताबाट पुराना नोटमा गरिएका अग्रिम भुक्तानीका कारण ठगिए । बालीका लागि बिउ किन्न नसक्ने अवस्थामा पुगेका किसान । एकल आमा, जसले आफ्ना नोट समयमै साट्न नसकेका कारण पछि जलाउनुपर्यो । २० वर्षसम्म भिख मागेर ६५ हजार भारु जम्मा गरेका दृष्टिविहीन भिखारी, जसको सबै बचत बेकार भयो ।

भारतीय अर्थतन्त्र अनुगमन केन्द्रको प्रक्षेपणअनुसार नोटबन्दीका कारण देशको अर्थतन्त्रले पहिलो ५० दिनमा मात्र १२.८ खर्ब भारुको क्षति व्यहोर्नुपर्यो । अझ यस तथ्यांकमा वास्तविक मानवीय पीडाको मात्रालाई समेटिएको छैन । यही असफलताका कारण भाजपाले नोटबन्दीलाई लिएर मौनता एक मात्र सम्मानजनक विकल्प ठानेको देखिन्छ । भारतको केन्द्रीय बैंक आरबिआईले आफ्नो वार्षिक प्रतिवेदनमा भनेअनुसार नोटबन्दीपछि ९९.३ प्रतिशत मुद्रा बैंकिङ प्रणालीमा फर्कियो । 

भारतीय कल्पनामा एउटा छवि यति गहिरो रूपमा जरा गाडेको छ कि यो छवि नै भ्रष्टाचारको पर्याय बनेको छ । यो छविमा कालो धनले भरिएको जुटको बोरा, ओछ्यानमुनि वा गद्दाभित्र राखिएको हुन्छ । बलिउड फिल्मदेखि छापा कभरेज, राजनीतिक भाषणदेखि भ्रष्टाचारविरोधी अभियानमा यही छवि देखा पर्छ । यो छवि यति शक्तिशाली छ कि यसैले नोटबन्दीको पक्षमा आमसहमतिको आधार तयार पार्न सघायो ।

तर, समस्या के छ भने यो छवि अपूर्ण छ । भारतमा कालो धन मुख्यतया नगदमा राखिँदैन । यो जमिन, घर, सुनचाँदी, अफसोर सेल कम्पनी र राजनीतिक वित्तपोषण उपकरण आदिमा लुकेको छ, जुन नोटबन्दीपछि थप फस्टायो । 

अरुण कुमारद्वारा लिखित सन् २०१८ को पुस्तक ‘डिमोनिटाइजेसन एन्ड ब्ल्याक इकोनोमी’मा यस नीतिको गहन र विस्तृत विश्लेषण गरिएको छ । पुस्तकअनुसार भारतीय अर्थतन्त्रको विशाल हिस्सा अर्थात् कुल जिडिपीमा ४५ प्रतिशत योगदान गर्ने अनौपचारिक क्षेत्र लगभग पूर्ण रूपमा नगदमा सञ्चालन हुन्छ, त्यो क्षेत्र नोटबन्दीमा पूर्ण पतनको संघारमा पुग्यो । 

फिल्म ‘धुरन्धर–२’ को कथा पाकिस्तानी नक्कली मुद्राले भारतको वित्तीय प्रणालीमा पूर्ण रूपमा घुसपैठ गरेको विशिष्ट दाबीमा आधारित छ । जबकि उल्लेखनीय कुरा सन् २०१६ मा भारतमा प्रचलनमा रहेको मुद्रामा नक्कली मुद्राको हिस्सा लगभग ०.०२५ प्रतिशत मात्र थियो । फिल्ममा चित्रण गरिएको नक्कली मुद्राको काल्पनिक आपत्काल खासमा यस्तो रकमको वरिपरि घुम्छ, जुन गणितीय हिसाबले ‘राउडिंग एरर’ (नगण्य त्रुटि) मात्र मान्न सकिन्छ ।

फिल्मको पहिलो भागले चलाखीपूर्वक पाकिस्तानको लियारीको वातावरणमा यसका पात्र र कथालाई प्रस्तुत गरेर दर्शकलाई फिल्मको संसारमा डुबाउन सफल भएको थियो । फिल्मबाट पाकिस्तानप्रति उदार रहेका दर्शक पनि मोहित भए । तर, अहिले आएको दोस्रो भागले दर्शकलाई धोका दिएको छ । उदारवादी र दक्षिणपन्थी दर्शकले अहिले आएर मात्र आफूहरू यति गहिरोसँग डुबेको फिल्म खासमा सुरुदेखि नै सरकारी नीतिको प्रचार गर्ने माध्यम मात्र रहेको बुझे । त्यसैले, अहिले फिल्मको चर्चा गर्ने सबैले फिल्मको अभिनय र संगीत उत्कृष्ट र द्वन्द्वका दृश्य लोभलाग्दा रहेको मात्र बताइरहेका छन् । आखिर आफ्ना दर्शकलाई धोका दिएर आफ्नो वास्तविक रंग प्रकट गर्ने फिल्मबारे यति मात्र भन्न सकिन्छ । 

नौ वर्षसम्म नोटबन्दीको मुद्दामा मोदी सरकारको मौनता खासमा यसको सबैभन्दा ठुलो बुद्धिमत्तामध्ये एक थियो । ‘धुरन्धर–२’ ले एकै प्रहारमा त्यो मौनता तोडेको छ । र, धेरैको दिमागमा पुरानो पीडा ताजा बनाइदिएको छ । 

(कौर पत्रकार हुन्)
द प्रिन्टबाट

सुझावित समाचार