हामीकहाँ राजनीतिमुक्त शैक्षिक संस्थाको सम्भावना कति देख्नुहुन्छ ?
शैक्षिक संस्थालाई राजनीतिबाट मुक्त राख्न सम्भव नहुने भन्ने हुँदैन । तर, हाम्रो विद्यालय तहको शैक्षिक प्रशासनको जिम्मेवारी स्थानीय तहलाई दिइएको छ । त्यहाँ राजनीतिक दलका प्रतिनिधिकै नेतृत्व रहन्छ । उनीहरूबाट नियुक्त गरिने व्यक्ति राजनीतिबाट मुक्त हुने सम्भावना कम हुन्छ । माथिबाटै निर्णय गरेर जाने हो भने ठिकै होला, तर कार्यक्रम सञ्चालन गर्न भने कठिन हुन सक्छ । यसबारे पहिले हामीले पनि प्रयास नगरेका होइनौँ । तर, दलहरूसित नजोडिई बस्नै नसक्ने परिपाटीले गर्दा पूर्ण सफलता पाउन सकिएन । पालिकालाई जिम्मा दिइएकाले सबैको बानी बिग्रिसकेको छ । त्यसैले, यो काम असम्भव नभए पनि चुनौतीपूर्ण भने हुन सक्छ ।
शिक्षक, प्राध्यापकलाई राजनीतिक दलसितको आबद्धताबाट अलग गर्न कति सहज छ ?
हिजो विभिन्न दलसित सम्बद्ध संघ, संगठन र ट्रेड युनियनको आडमा राजनीतिक दल र तिनका नेतृत्वसित नजिक भएर आफ्नो स्वार्थ पूरा गर्ने बानी परेका प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई एकैचोटि दलसितको आबद्धताबाट अलग गर्न खोजिएमा केही कठिन हुन सक्छ । चरणबद्ध रूपमा जाँदा कठिन हुँदैन । आफ्नो निर्णयमा सरकार कटिबद्ध भएर अगाडि गएमा केही महिनाभित्र सबै मिल्दै जान्छ । तर, शैक्षिक संस्थाका जनशक्तिका कुरा सुन्नु पनि पर्छ । त्यसका लागि एउटा आधिकारिक ट्रेड युनियनको अधिकार भने दिनैपर्छ ।
यसले शैक्षिक गुणस्तर सुधारमा कस्तो प्रभाव पार्ला ?
यसबाट शैक्षिक गुणस्तरमा राम्रै प्रभाव पर्छ । यसले सकारात्मक सुधार ल्याउँछ । यसबाट हिजो संघ, संगठनको आडमा बदमासी गर्ने बदमासहरू तह लाग्छन् । आखिर सोझासीधाले हिजो पनि इमानदारीसाथ काम गरिरहेकै थिए, भोलि पनि गर्ने नै छन् । तह लगाउनुपर्ने त बदमासहरूलाई न हो ।