- क्यानले १८ सदस्यीय टोलीलाई दोस्रो चरणमा छनोट गर्दा सिनियर खेलाडी सीता रानामगरसहित ११ खेलाडी बाहिरिए
नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी महिला च्यालेन्ज ट्रफीका लागि १८ खेलाडीलाई दोस्रो चरणको क्याम्पका लागि बोलाएको छ । क्यानले इन्दु बर्माको कप्तानीमा १८ खेलाडीलाई दोस्रो चरणको क्याम्पमा बोलाएको हो । सिनियर खेलाडी सीता रानामगरसँगै खुसी डंगोल, सुधा धामी, किरण कुँवर, लक्ष्मी साउद, आलिशा यादव, तृष्णा विक, कुसुम गोदार, यशोदा विष्ट, अन्जी पाठक र रमा बुढाथोकीले दोस्रो चरणसम्म पुग्न सकेनन् ।
टोलीमा इन्दुसँगै पूजा महतो, रुबिना क्षेत्री, बिन्दु रावल, सम्झना खड्का, रुबि पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, अनु कडायत, सिमाना केसी र मनीषा उपाध्यायले स्थान पक्का गरेका छन् । यस्तै रचना चौधरी, सोनी पाख्रिन, सना प्रवीन र सावित्री धामी पनि दोस्रो चरण क्याम्पमा परेका छन् । दोस्रो चरणको क्याम्पमा अनुभवी तथा युवा खेलाडीहरूको मिश्रण देखिएको छ । उपकप्तानको जिम्मेवारी पूजा महतोले सम्हाल्ने छिन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को नयाँ संरचनाअनुसार यो प्रतियोगिता सुरु हुन लागेको हो ।
आइसिसीले महिला क्रिकेटको विकासका लागि तीन तहको संरचना तयार गरेको छ । त्यसअन्तर्गत सबैभन्दा तल्लो तहको प्रतियोगिताको रूपमा आइसिसी महिला च्यालेन्ज ट्रफी हो । जसमा नयाँ तथा कमजोर टोलीहरूलाई अन्तर्राष्ट्रियस्तरमा अनुभव बटुल्ने अवसर दिने लक्ष्य आइसिसीको छ । च्यालेन्ज ट्रफी अप्रिलको दोस्रो साता रुवान्डामा हुनेछ । आइसिसीले आधिकारिक मिति र टोलीको नाम भने सार्वजनिक गरेको छैन । प्रतियोगितामा एसिया, अफ्रिका, युरोप, अमेरिका र इस्ट एसिया–प्यासिफिक क्षेत्रबाट एक–एक गरी पाँच टोली सहभागी गराउने आइसिसीले जनाएको छ ।
छनोट खेलाडी
इन्दु बर्मा (कप्तान), पूजा महतो (उपकप्तान), रुबिना क्षेत्री, विन्दु रावल, सम्झना खड्का, रुबि पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, अनु कडायत, सिमाना केसी, मनीषा उपाध्याय, रचना चौधरी, सोनी पाख्रिन, साना प्रवीण, सावित्री धामी ।