सिराहा नगरपालिकाले नौ महिनासम्म पनि औषधि खरिद नगर्दा १२ स्वास्थ्य चौकी र नौवटा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा चरम अभाव निम्तिएको छ । स्वास्थ्य संस्थामा जीवनजल, सिटामोल, आइरन चक्कीसमेत अभाव भएपछि बिरामीले फार्मेसीबाट किन्नुपर्ने बाध्यता छ । जबकि, स्वास्थ्य चौकीदेखि आधारभूत अस्पतालमा ९८ प्रकारका औषधि निःशुल्क दिने घोषणा सरकारले हरेक वर्ष बजेटमा गर्छ ।
संघ सरकारले औषधि खरिदका लागि सिराहा नगरपालिकामा चालू आवमा १७ लाख अनुदान (सर्त) पनि पठाएको छ । तर, नगरपालिकाले भने अझै किनेको छैन । स्वास्थ्य संस्थाका लागि स्थानीय तहमार्फत औषधि खरिद हुने भए पनि योगदान भने तीन तहको सरकारको हुन्छ । तर, सिराहा नगरपालिकाले औषधि खरिदका लागि चालू आवमा बजेट नै छुट्याएन । नगरपालिकाको कुल बजेट भने एक अर्ब तीन करोड २५ लाख छ । सिराहा नगरपालिकाका स्वास्थ्य सहसंयोजक विन्देश्वर यादवले स्वास्थ्य संस्थामा औषधि अभाव भएको भनेर प्रमुख प्रशासकीय अधिकृतसँगै मेयरलाई जानकारी गराएको र चाँडै प्रक्रिया अगाडि बढाउने आश्वासन पाएको बताए ।
आफैँ चिकित्सकसमेत रहेको सिराहा नगरपालिकाका मेयर डा. नवीनकुमार यादवले आन्तरिक रूपमा समस्या भएको र चाँडै औषधिको व्यवस्थापन हुने बताए । ससर्त अनुदानको रकमको औषधि खरिद प्रक्रिया टेन्डरमार्फत गर्ने उनले बताए । तर, प्रमुख प्रशासकीय अधिकृत विनयकुमार सोनु कार्यालयमा नआएकाले टेन्डर प्रक्रिया अगाडि बढाउन नसकिएको उनले बताए । प्रमुख प्रशासकीय अधिकृत सोनु ५ चैतदेखि नगरपालिका आएका छैनन् । ४ चैतमा कार्यपालिका बैठकमा वडाध्यक्षहरू र प्रमुख प्रशासकीय अधिकृत सोनुबिचमा विवाद बढेपछि उनी बैठक नै छाडेर बाहिरिएका थिए ।
वडाध्यक्षहरूले विगतमा वडामार्फत भएका कामको भुक्तानी मागेका थिए ।वडा नम्बर ६ को आधारभूत स्वास्थ्य सेवा केन्द्रमा कार्यरत अनमी संगीता कुमारीले जीवनजल, सिटामोल, सेट्रिजिन, एमोक्सोसिलिन, सिप्रो, मेट्रोनजस्ता औषधि करिब एक वर्षदेखि उपलब्ध नभएको बताइन् । मौसम परिवर्तन हुँदा ज्वरो, रुघाखोकी, डायरियाका बिरामी बढ्ने भए पनि औषधि नहुँदा समस्या रहेको उनले बताइन् ।
वडा नम्बर १२ मा रहेको स्वास्थ्य चौकी सारस्वरका प्रमुख प्रदीपनारायण ठाकुरले औषधि पूरै अभाव भएको बताए । जाँच गराउन आउनेलाई औषधि बाहिरै किनेर खान आग्रह गर्नुपरेको भन्दै ठाकुरले सिराहा नगरपालिकाले औषधि आपूर्ति नै बन्द गरेको बताए ।
स्वास्थ्यकर्मीले बिरामी जाँच्छन्, औषधि किन्न फार्मेसी पठाउँछन्
तीन वर्षीय छोरा आयानलाई ज्वरो र रुघाखोकीले च्यापेपछि सिराहा नगरपालिका–९, ठेंगहीकी सविना खातुन एक किलोमिटरनजिकैको गुलरिया चौकस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र पुगिन् । आधारभूत स्वास्थ्य सेवा केन्द्रका स्वास्थ्यकर्मीले आयानको स्वास्थ्य जाँच त गरिन्, तर औषधि किन्न बाहिर (औषधि पसल) पठाइन् । ज्वरो निको हुनका लागि दिइने सिटामोलसमेत औषधि पसलबाट किन्नुपरेको खातुनले बताइन् । ‘खाली बच्चाको ज्वरो जाँच गरिदियो,’ उनले भनिन्, ‘औषधि छैन भनेर बाहिर पठाइदियो ।’
सोही स्वास्थ्य केन्द्रमा कार्यरत अनमी शोभाकुमारी यादवका अनुसार सिराहा नगरपालिकाले चालू आव ०८२/८३ मा औषधि नपठाउँदा बिरामीलाई बाहिरबाट औषधि किन्न आग्रह गर्दै आएको बताइन् । औषधि भएका वेला दैनिक १०–१५ जना उपचार गराउन आउने गरे पनि अहिले आउनै छाडेको उनको अनुभव छ । ‘सिटामोल, आइरन चक्की, क्याल्सियम, जीवनजल, ग्यास्टिकका औषधिदेखि एन्टिबायोटिक छैन,’ यादवले भनिन्, ‘औषधि नै नभएपछि उपचार गराउन आउनेहरू निकै कम छ ।’
बिरामी नै आउन छाडेपछि स्वास्थ्यकर्मी पनि फुर्सदिला बनेका छन् । स्वास्थ्य सेवा केन्द्रसँगै वडा कार्यालय छ । वडाध्यक्ष रामदियाल यादवले नगरपालिकाले औषधि नै खरिद नगरेकाले वडामा आपूर्ति बन्द भएको बताए । नियमित रूपमा प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा नबस्दा ससर्त अनुदानअन्तर्गत खरिद गर्नुपर्ने औषधि सिराहा नगरपालिकाले खरिद नगरेको वडाध्यक्ष यादवले बताए ।
सिराहा नगरपालिका–१०, नरैहिया घर भएकी सन्जु मुखिया दुई किलोमिटर यात्रा गरी छिमेकी वडामा रहेको स्वास्थ्य चौकी भलुवाही आइपुगिन् । लडेर चोट लागेपछि पाँच वर्षकी छोरी आरुसीलाई साथमा लिएर भलुवाही पुगिन् । ‘मलाई चोट लागेको छ, छोरीलाई ज्वरो खोकी लागेर उपचार गराउन स्वास्थ्य चौकी आएकी थिएँ,’ उनले भनिन्, ‘चौकीमा दुःखाइ कम गर्ने र सिटामोललगायत औषधि रहेनछ, किन्न पुर्जा थमाइदिए,’ उनले भनिन्, ‘औषधि किनेर खाइरहेकी छु ।’
निःशुल्क वितरण गर्नुपर्ने सिटामोल, जीवनजललगायतका औषधिसमेत नहुँदा बिरामीले आक्रोश पोख्ने गरेकोे स्वास्थ्य चौकी इन्चार्ज जयनारायण यादवले बताए । स्वास्थ्य चौकी भलुवाहीमा बर्थिङ सेवा सञ्चालन भए पनि औषधि अभावले प्रभावित हुने गरेको यादवले बताए । यो चौकीको बर्थिङ सेन्टरमा चालू आवमा ४७ जनाले नर्मल डेलिभरी गराएका छन् ।
तर, बर्थिङ सेन्टरमा चाहिने औषधिको अभाव भइरहन्छ । बर्थिङ सेन्टरमा डेलिभरी गराउन आउनेलाई आवश्यकताका आधारमा चाहिने औषधि सिन्टो एम्पुल, जोन १ ग्राम भाइल, वेन्डम एम्पुल, प्यान आइभी, बुस्कोपान, प्रोल्युट एन एम्पुल र म्याग्नेसियम सल्फेट एम्पुल आवश्यक पर्छ । स्वास्थ्य चौकी भलुवाही वडा नम्बर ११ मा पर्छ । नगरभित्रका सबै स्वास्थ्य चौकीमध्ये यहाँ नै बर्थिङ सेन्टर राम्रोसँग सञ्चालन हुँदै आएको बताउँदै स्वास्थ्य चौकीका इन्चार्ज यादवले भने, ‘राम्रो गरे पनि नियमित चाहिने औषधिको अभाव खेप्नुपर्छ । नगरपालिकाले औषधि नै पठाइदिन नसक्दा बिरामीहरूलाई बाहिर पठाउनुपर्ने बाध्यता छ ।’
सिराहा नगरपालिका–१८ का ७२ वर्षीय ब्रह्मदेव गुर्मैता डेहुना (घुँडा) दुखेर गाउँमै रहेको स्वास्थ्य चौकी लक्ष्मीनियाँमा पुगे । डेहुना दुखेर हैरान भएका उनी जसोतसो स्वास्थ्य चौकी पुगे पनि औषधि पाएनन् । ‘उठबस गर्न गाह्रो हुन्छ,’ गुर्मैताले भने, ‘पटकपटक औषधि लिन आउँछु, छैन भनेर फर्काइदिन्छ ।’
स्वास्थ्य चौकी लक्ष्मीनियाँमा औषधिदेखि घाउ सफा गर्न चाहिने बेटाडिनसमेत छैन । स्वास्थ्य चौकी इन्चार्ज अयोधी मोचीले नगरपालिकामा पटकपटक माग फाराम भरेर औषधि माग गर्न ताकेता गरेको, तर औषधि नै नदिएको गुनासो गरे । यो वर्षमा एकपटक पनि औषधि स्वास्थ्य चौकीले पाउन नसकेको भन्दै उनले भने, ‘हामीसँग बजेट पनि हुँदैन । औषधिसँगै बिजुलीको बिल पनि तिर्न पाएका छैनौँ ।’
वडा नं. ६ को आधारभूत स्वास्थ्य सेवा केन्द्रकी अनमि संगीता कुमारी भन्छिन्–जीवनजल, सिटामोल, सेट्रिजिन, एमोक्सोसिलिन, सिप्रो, मेट्रोनजस्ता औषधि करिब एक वर्षदेखि आएको छैन । मौसम परिवर्तन हुँदा ज्वरो, रुघाखोकी, डायरियाका बिरामी बढ्ने भए पनि औषधि नहुँदा बाहिर पठाउनुपर्छ ।
मेयर डा. नवीनकुमार यादव भन्छन्– ससर्त अनुदानको रकमको औषधि खरिद प्रक्रिया टेन्डरमार्फत गर्ने हो । तर, प्रमुख प्रशासकीय अधिकृत विनयकुमार सोनू कार्यालयमा नआएकाले प्रक्रिया अगाडि बढाउन नसकिएको हो । नगरपालिकाको आन्तरिक समस्याले ढिलाइ भएको हो, चाँडै औषधिको व्यवस्थापन गर्छौँ ।