रास्वपा सभापति रवि लामिछानेको अभियोग संशोधनविरुद्ध परेका रिटको सुनुवाइ सर्वोच्च अदालतमा अस्वाभाविक रूपमा लम्बिएको छ । सर्वोच्चको संयुक्त इजलासले आइतबार तीनवटा रिटलाई पूर्ण इजलासमा पठाएको छ । सम्बन्धित जिल्ला अदालतहरूमा सरकारी वकिलले अभियोगपत्र संशोधनका लागि निवेदन दिए पनि सर्वोच्चले यसमाथि निर्णय दिन ढिला गरेको छ । गत ४ माघमा दायर रिटहरूमाथि तीन दिनसम्म हेर्दाहेर्दैमा राखी सुनुवाइ भएकोमा चौथो दिन यस्तो फैसला आएको हो ।
न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको इजलासले यो आदेश गरेको हो । यद्यपि, सर्वोच्चका प्रवक्ता अर्जुनकुमार कोइरालाले भने, ‘यसको आदेशमा हस्ताक्षर भएको छैन । लिखित आदेश आएपछि सार्वजनिक हुन्छ ।’यसअघि पनि चार दिनसम्म लगातार सुनुवाइ गरी न्यायाधीशहरू शारंगा सुवेदी र सुनीलकुमार पोखरेलको इजलासले कागजात झिकाउने आदेश गरेको थियो । आइतबार भने शर्मा र मुसलमानको इजलासबाट पूर्ण इजलासमा पेस गर्ने आदेश भएको हो । युवराज पौडेल, दिनेश त्रिपाठी र आभास रेग्मीसमेतको रिटमा पछिल्लो आदेश भएको हो ।
तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारी बरालले २ माघमा लामिछानेउपरका अभियोगपत्रहरू संशोधन गरी संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिन स्वीकृति दिएकी थिइन् । यसैविरुद्ध दायर रिटहरू हालसम्म किनारा लागेका छैनन् । सर्वोच्चको फैसलापछि मात्र निर्णय गर्ने गरी ती निवेदन सम्बन्धित जिल्ला अदालतहरूमा रोकिएका छन् ।