सुदूरपश्चिममा सत्तागठबन्धनबिच खटपट, मन्त्रिपरिषदमा गएनन् एमालेका मन्त्री

बिहिबार, १२ चैत, २०८२
डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेशमा सत्ताको नेतृत्व गरेको नेपाली कांग्रेस र सत्तासहयात्री दल नेकपा एमालेबिच खटपट देखिएको छ। दुई दलबिच खटपट भएपछि एमालेका मन्त्रीहरू बिहीबारको मन्त्रिपरिषद् बैठकमा सहभागी भएनन्।

प्रदेश सरकारमातहतका निकायमा राजनीतिक नियुक्तिको भगबन्डाका विषयमा विवाद देखिएको हो। मुख्यमन्त्री कमलबहादुर शाहले अपराह्न ४ बजे बोलाएको बैठकमा एमाले मन्त्रीहरू सहभागी भएनन्।

एमालेबाट भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पालले मुख्यमन्त्रीसँग केही असहमति भएपछि आफूहरू मन्त्रिपरिषद् बैठकमा नगएको बताए। ‘मन्त्रालयको राजनीतिक नियुक्तिदेखि अरू केही कुरामा असहमति थियो।ती विषयमा मुख्यमन्त्रीसँग छलफल पनि गर्याैँ, तर सहमति भएन,’ मन्त्री पालले भने, ‘हामीले ती विषय नमिल्दासम्म जाँदैनौँ भन्यौँ।’ 

कांग्रेस र एमालेले भागबन्डाका आधारमा प्रदेशमातहतका अस्पतालमा व्यवस्थापन समिति, पर्यटन विकास बोर्ड, युवा परिषद्लगायत निकायमा रिक्त पदमा राजनीतिक नियुक्ति गर्दै छन्। पछिल्लो समय अस्पताल व्यवस्थापन समिति गठनको विषयमा दुई दलबिच विवाद रहेको बताइएको छ।

एमालेका मन्त्रीहरू सहभागी नरहेको मन्त्रिपरिषद् बैठकले टीकापुर, दार्चुला, बैतडी र बझाङ अस्पतालमा व्यवस्थापन समिति अध्यक्ष नियुक्त गरेको छ। बझाङबाहेक अन्य अस्पतालमा नियुक्त अध्यक्षहरू कांग्रेसबाट नियुक्त गरिएका मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ।

यसअघि एमालेलाई दिने सहमति भएको टीकापुर अस्पताल व्यस्थापन समितिमा मुख्यमन्त्रीले आफ्नो पार्टी कांग्रेसबाट नियुक्त गर्न खोजेपछि विवाद बढेको एमालेको भनाइ छ।

राज्यमन्त्रीसहित नौ सदस्यीय प्रदेश मन्त्रिपरिषदमा एमालेबाट तीन मन्त्री र एक राज्यमन्त्री छन्। राजनीतिक नियुक्तिको विषयमा एमालेभित्र पनि चर्को विवाद छ। दलका नेता राजेन्द्रसिंह रावलले संसदीय दल र पार्टीसँग सल्लाह नगरी एकलौटी नियुक्तिको सिफारिस गरेको भन्दै एमाले प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसीले रावलको कार्यशैलीमाथि प्रश्न उठाउदै पार्टी केन्द्रलाई गत साता पत्र पठाएका थिए। एमाले प्रदेश अध्यक्ष जैसीले मुख्यमन्त्री शाहलाई समेत पत्र पठाएर दुई दलको सहमतिमा मात्र राजनीतिक नियुक्ति गर्न आग्रह गरेका थिए। नियुक्तिलगायत विषयमा आन्तरिक विवाद चर्किएपछि एमालेभित्र दलको नेता रावललाई हटाउने चर्चा छ।

सुदूरपश्चिममा एमाले र नेकपाबिच गठबन्धनको समेत प्रयास भइरहेको छ। दुवै दलका केही सांसद एमाले–नेकपाबिच सत्तासमीकरण निर्माणको प्रयासमा छन्। यी दुई दल मिल्दा प्रदेशमा स्पष्ट बहुमत पुग्छ। मन्त्री पालले भने केही विषयमा मुख्यमन्त्रीसँग असहमति देखिए पनि सत्तागठबन्धन परिवर्तन गर्ने तहमा नपुग्ने दाबी गर्छन्। 
 

सुझावित समाचार